सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ बन्द भएको चर्चा चलिरहेका बेला यातायात व्यवस्था विभागले छपाइको काम बन्द नभएको स्पष्ट पारेको छ।
विभागका सूचना प्रविधि निर्देशक केशव खतिवडाका अनुसार साउन १ गतेदेखि लाइसेन्स छपाइ तथा वितरणको जिम्मेवारी संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। यही नयाँ व्यवस्था कार्यान्वयनका क्रममा केही दिन छपाइ रोकिएको हो।
खतिवडाका अनुसार २०८० माघ ७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेश मातहतका कार्यालयहरूले नै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्न सक्ने निर्णय गरेको थियो।
'सवारी चालक अनुमतिपत्रको छपाइ व्यवस्थित गर्न यस्तो निर्णय गरिएको थियो,' उनले भने, 'सेवाग्राहीले सहज रूपमा स्मार्ट लाइसेन्स प्राप्त गर्ने अवस्थाको सुनिश्चितता गर्न सकेसम्म सबै प्रदेशले त्यतिबेला नै प्रिन्टर र कार्ड खरिद गरी स्मार्ट लाइसेन्सको छाप्ने भनिएको थियो। तर तत्काल कार्यान्वयन हुन सकेन।'
तर, त्यसबेला विभागमा झन्डै २८–२९ लाख लाइसेन्स छाप्न बाँकी रहेकाले पहिले पुराना सबै लाइसेन्स छाप्ने कामलाई प्राथमिकता दिइयो।
विभागले असार मसान्तसम्म बाँकी रहेका सबै लाइसेन्स छापेर सम्बन्धित प्रदेश तथा जिल्ला यातायात कार्यालयमा पठाइसकेको जनाएको छ। तीमध्ये धेरै लाइसेन्स वितरणसमेत भइसकेका छन्।
उनका अनुसार छपाइको काम धेरै बाँकी रहेकाले त्यो सकेपछि दिने भन्ने योजना थियो। असार अन्तिमसम्म छपाइको काम सम्पूर्ण सकियो। त्यसपछि दुई वर्षअघि भएको निर्णय अनुसार नै बढ्ने योजना बन्यो।
'हामीले छपाइका लागि जम्मा भएको सम्पूर्ण लाइसेन्स छापिसकेपछि थप लिएनौं,' उनले भने, 'अब प्रदेशले नै छपाइ केन्द्रसँग सहमति गरेर छाप्छ।'
अब प्रत्येक प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग सम्झौता गरेर आफ्नै प्रदेशका लाइसेन्स छपाउने व्यवस्था गरिएको छ। हालसम्म मधेस प्रदेशले सम्झौता गरिसकेको छ भने अन्य प्रदेश पनि प्रक्रिया अगाडि बढाइरहेका छन्।
'अहिलेसम्म मधेस प्रदेशले मुद्रण केन्द्रसँग सम्झौता गरिसकेको छ। बाँकीले पनि विस्तारै गर्दै जानेछन्,' निर्देशक खतिवडाले भने, 'जुन-जुन प्रदेशले सम्झौता गर्छन्। उनीहरूको लाइसेन्स छापिँदै जान्छ। विस्तारै काम तीव्र रूपमा हुन्छ।'
निर्देशक खतिवडाका अनुसार प्रदेशहरूले सम्झौता गरेसँगै सम्बन्धित प्रदेशका लाइसेन्स छाप्न सुरू हुनेछ। सुरक्षण मुद्रण केन्द्रसँग दैनिक ४० हजार लाइसेन्स छाप्ने क्षमता भएकाले आगामी दिनमा छपाइमा समस्या नआउने विश्वास विभागको छ।
उनले लाइसेन्स छपाइ बन्द नभई नयाँ प्रणालीमा रूपान्तरण भइरहेका कारण केही समय लागेको मात्र स्पष्ट पारे।
लाइसेन्स छपाइको काम रोकिएको भन्ने गुनासोबारे स्पष्ट पार्दै उनले पुन: भने, 'नयाँ व्यवस्था लागू भएसँगै प्रदेशहरूले सुरक्षण मुद्रण केन्द्र (सुरक्षा छापाखाना) सँग सम्झौता गर्ने प्रक्रियामा रहेकाले केही दिन समय लागेको हो, बन्द भएको होइन।'