काठमाडौं जिल्ला अदालतको आदेशबाट थुनामुक्त बनेका विराटनगरका अभिषेक गिरी फेरि पक्राउ परेका छन्।
बिहीबार काठमाडौंबाट बुद्ध एयरको उडानमार्फत विराटनगर आएका गिरीलाई विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो।
साँझ ७ बजेर ५ मिनेटमा विमानबाट ओर्लिएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई पक्राउ गरेको डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए।
प्रहरीका अनुसार गिरीमाथि आपराधिक लाभसँग सम्बन्धित कसुरमा अनुसन्धान भइरहेको छ।
यसै विषयमा थप अनुसन्धान गर्न अदालतबाट यसअघि नै पक्राउ अनुमति प्राप्त भएकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।
यसअघि उनी ठगीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट साउन १५ मा पाँच लाख रुपैयाँ धरौटीमा रिहा हुने आदेश पाएका थिए।
अर्को मुद्दामा प्रहरीले पक्राउ गर्ने तयारी गरेको थाहा पाएका र उजुरीकर्तासँग मिलापत्रको तयारी भइरहेकाले उनी डिल्लीबजार कारागार चलान भएका थिए।
बिहीबार उजुरीकर्तासँग मिलापत्र भएपछि उनी थुनामुक्त भए। काठमाडौंबाट विराटनगर फर्कँदै गर्दा विमानस्थलबाटै पक्राउ परे।
विराटनगर–८ मधुमाराका ४८ वर्षीय गिरी आपरधिक गतिविधिका कारण चर्चामा रहिरहने पात्र थिए। उनी शरीर बन्धक तथा अपहरण मुद्दामा जेला साजय काटेर निस्केका हुन्।
गिरीविरूद्ध निर्माण व्यवसायी सुवास श्रेष्ठले ठेक्का व्यवस्थापन गराइदिने भन्दै प्रभाव प्रयोग गर्ने आश्वासन दिएर ठूलो रकम लिएको आरोपसहित उजुरी दिएका थिए।
उनीमाथि मोरङ कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोप समेत थियो।
कारागारको सवालमा धरौटीमा छुटेका उनी सुवास श्रेष्ठको उजुरीबारे अनुसन्धान जारी थियो।
उनी असार २३ मा विराटनगरबाट पक्राउ परेका थिए।
गिरीले २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्ष सहित पीडितलाई क्षतिपूर्ति दिलाउने माग राखी अभियोजन गर्नुपर्ने राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको थियो।
त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन १४ गते काठमाडौं जिल्ला अदालतमा उनीविरूद्ध ठगी मुद्दा दायर गरेको थियो।
सोही मुद्दामा न्यायाधीश नवराज दुलालको इजलासले पाँच लाख रुपैयाँ धरौटी लिएर गिरीलाई रिहा गर्न आदेश दिएको थियो।
काठमाडौंमा रहेको अवस्थामै मोरङ प्रहरीमा उनीविरूद्ध अर्को अनुसन्धान अघि बढिरहेको थियो।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी मिश्रका अनुसार गिरीमाथि आपराधिक लाभको अर्को मुद्दा अनुसन्धान चलिरहेकाले त्यससम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको थियो।