फ्रान्सको इनाल्को विश्वविद्यालयमा नेपाली भाषाको कक्षा चल्छ।
त्यहाँ फ्रान्सेली विद्यार्थीलाई आठ वर्षदेखि नेपाली भाषा पढाउँदै आएकी छन् सुमित्रा बुर्लाकोटी।
'मैले विशेषगरी स्नातक तहका विद्यार्थीलाई नेपाली भाषा पढाउँछु,' उनले भनिन्।
फ्रान्सेली नागरिकलाई नेपाली भाषासँगै इतिहास, भूगोल, राजनीति तथा संस्कृतिको पाठ पढाउनु उनको जिम्मेवारी हो।
सुमित्रा फ्रेन्च भाषामार्फत नै नेपाली पढाउँछिन्। विश्वविद्यालयका नियमित विद्यार्थी र बाहिरबाट नेपाली भाषा सिक्न आउने विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाइने उनले जानकारी दिइन्।
उनका अनुसार युरोपभर अहिले इनाल्को (आइएनएएलसिओ) विश्वविद्यालयमा मात्रै नेपाली पढाइ हुन्छ। बेलायतको एक विश्वविद्यालयमा पनि नेपाली पढाइन्थ्यो, तर अहिले बन्द भइसकेको छ।

'सन् १७०० दशकदेखि सञ्चालनमा रहेको इनाल्कोमा सन् १९६० देखि नै नेपाली पढाउन थालिएको हो,' उनले भनिन्।
इनाल्कोमा शैक्षिक कोर्सहरूसँगै विश्वका १०६ भाषा पढाइ हुन्छ। यहाँ पढ्न आउने विद्यार्थीले अनिवार्य रूपमा एउटा अन्तर्राष्ट्रिय भाषा पढ्नुपर्ने हुन्छ।
त्यसमध्ये धेरैजसोले नेपाली भाषा छनोट गर्ने सुमित्रा बताउँछिन्।
नेपाली पढ्न आउने फ्रान्सेली विद्यार्थीको उद्देश्य भने एउटै हुँदैन। कोही ट्रेकिङका लागि नेपाल जान भन्दै भाषा सिक्छन् त कोही व्यापार–व्यवसाय गर्न।
नेपालीसँग बिहे गरेका फ्रान्सेली नागरिकहरू पनि नेपाली पढ्न आउँछन्।
फ्रान्समा नेपालबाट धर्मपुत्र वा धर्मपुत्रीका रूपमा लगिएका नेपाली पनि धेरै छन्। त्यस्ता नेपाली मूलका व्यक्ति पनि नेपाली थलो खोज्न र आफन्तसँग संवाद गर्न नेपाली पढ्न आउने गरेका छन्।
यसबाहेक अनुसन्धानकर्ताहरू पनि नेपाली पढ्न आउँछन्।
'जडीबुटीमा अनुसन्धान गर्न नेपाल महत्वपूर्ण गन्तव्य मानिन्छ। त्यही भएर फ्रान्सेली अनुसन्धानकर्ताहरू नेपाली सिक्न आउँछन्,' उनले भनिन्।
सुमित्राको पुर्ख्यौली घर धादिङ हो। बुबा सरकारी जागिरे थिए, आमा गृहिणी। उनका दुई दाजुभाइ र दुई दिदीबहिनी छन्।
गाउँकै सामुदायिक स्कुलबाट सुमित्राले एसएलसी (एसइई) दिइन्। त्यसपछि लगत्तै एक गैरसरकारी संस्थामा काम थालिन्।
'त्यति बेला म महिनामा ६ हजार रूपैयाँजति कमाउँथे। पैसा घरखर्चमा सहयोग गर्थेँ,' उनले सम्झिइन्।
त्यहाँ काम गर्दा सुमित्राको चिनजान विदेशीहरूसँग भयो। अंग्रेजी भाषामा उनको दख्खल राम्रो भएको भन्दै बेलायती सहकर्मीहरू प्रशंसा गर्थे। सुमित्रालाई बेलायतमा पढ्न सुझाव पनि दिन्थे।

उनले पनि मुख्य विषय अंग्रेजी लिएर कक्षा १२ सम्म गाउँमै पढिन्। त्यसपछि स्नातक पढ्न काठमाडौं आइन्।
सुमित्रा बिहान कलेज जान्थिन्, दिउँसो एक निजी स्कुलमा पढाउँथिन्। त्यही क्रममा उनले बेलायतका कलेजमा पनि आवेदन दिएकी थिइन्।
फलस्वरूप सन् २००८ मा उनी बेलायत पुगिन्।
बेलायतको एक कलेजले उनलाई स्नातक तहमा आंशिक छात्रवृत्ति दिएको थियो।
त्यहाँ केही समय पढेपछि उनी विश्वविद्यालयमा पढ्न थालिन्।
विद्यार्थीले सातामा २० घन्टा काम गर्न पाउँथे। उनले त्यो अवधिमा रेस्टुरेन्ट, स्टोर र बालबालिका हेर्ने काम गरेर खर्च जुटाइन्।
यसैगरी उनले स्नातकोत्तरसम्म पढिन्।
सन् २०१४ मा सुमित्रा नेपाल फर्किइन्।
त्यति बेला उनका दाइहरू कलेज र ट्युसन सेन्टर चलाइरहेका थिए।
'दाइहरूले विदेश पढेर आएकी छौ, यहीँ पढाऊ भन्नु हुन्थ्यो। मलाई भने विदेश नै जान मन लाग्यो,' सुमित्राले भनिन्।
सन् २०१५ मा उनी भिजिट भिसामा फ्रान्स पुगिन्। बेलायतबाट स्नातकोत्तर गरेकाले उनको डिग्री काम लाग्यो। उनी सिधै फ्रेन्च भाषा सिक्न लागिन्।
एक वर्ष भाषा सिक्दै र काम गर्दै उनले त्यहाँ बस्ने कानुनी प्रक्रिया अघि बढाइन्।
त्यही क्रममा एक जना प्राध्यापकले इनाल्को विश्वविद्यालयमा आफू सेवानिवृत्त भएपछि नेपाली भाषा पढाउने जिम्मेवारी लिन सुमित्रालाई प्रेरित गरे।
'सुरूमा म पढाउन सक्दिनँ भनेर अस्वीकार गरेँ। तर गुरूले धैर्य, आत्मानुशासन, निरन्तर अध्ययन र प्रयासले सम्भव हुने भन्दै हौसला दिनुभयो,' उनले भनिन्, 'पछि आँट गरेर आवेदन दिएँ। छनोट भएँ।'
अभ्यास नभएकाले सुरूआती चरणमा भने उनलाई पढाउन गाह्रो भयो।

फ्रान्सेली भाषामा नेपाली पढाउन पसिना छुट्थ्यो। त्यसमाथि उनको मुख्य विषय अंग्रेजी!
कम्तीमा डेढ र बढीमा तीन घन्टाको कक्षा लिनुपर्थ्यो।
'मलाई डेढ घन्टा पढाउन दिनभर लागेजस्तो हुन्थ्यो,' उनले भनिन्।
तर उनले मेहनत छाडिनन्। हरेक कक्षाअघि रातभर तयारी गरिन्। प्राध्यापकसँग सामग्री र सुझाव लिँदै, विद्यार्थीका फरक फरक जिज्ञासाको उत्तर दिन आफूलाई तयार पारिन्।
सुमित्रा अहिले वार्तालाप, अडिओ, भिडिओ, गीत–संगीत लगायत माध्यमबाट नेपाली पढाउँछिन्।
विश्वविद्यालयको नेपाली विभागमा दुई जना छन्। विभागीय प्रमुख फ्रान्सेली हुन्, उनैको नेतृत्वमा सुमित्रा काम गर्छिन्।
अचेल काम केही सहज छ।
उनको विश्वविद्यालयमा हरेक वर्ष सेप्टेम्बरबाट नयाँ शैक्षिक सत्र सुरू हुन्छ। उनी आवश्यकता हेरेर अध्यापन सामग्री परिमार्जन गर्छिन्।
'मैले हरेक कक्षाको रिपोर्ट बुझाउनुपर्छ। के पढाएँ, कुन माध्यमबाट पढाएँ, विद्यार्थीले कति बुझे, किन बुझ्न सकेनन् र कुनै विषय सिक्न उनीहरूलाई कति समय लाग्यो भन्ने सबै कुरा विस्तृत रूपमा उल्लेख गर्नुपर्छ,' सुमित्राले भनिन्।