बुटवल र तिलोत्तमा दुई पालिकाको सिमाना योगिकुटी चोक। दिउँसोको उखरमाउलो गर्मी र सवारी साधनको ट्वाँट्वाँ र टुँटुँका बीच सडक छेउ अटोरिक्सा पार्क गरेर एक महिला यात्रुको पर्खाइमा हुन्छिन्।
५० वर्ष उमेर नाघिसकेकी उनी हुन् सुशीला थापा।
धेरैले यो उमेरलाई जीवनको उत्तरार्द्ध मान्छन् जहाँ थोरै आराम र विश्रामको चाहना हुन्छ।
सुशीलाको जीवनमा भने यो उमेर संघर्षको नयाँ र चुनौतीपूर्ण अध्याय बनेर आयो। डेढ वर्षअघिसम्म घरधन्दामा व्यस्त सुशीला अहिले बुटवलका गल्ली–गल्लीमा अटोरिक्सा दौडाउँदै छोरा र आफ्नो जीवनको गुजारा चलाइरहेकी छिन्।
'जीवन सधैं असहजमै बित्यो। २२ वर्षको उमेरमा मागी बिहे भएको थियो। सम्बन्ध सुखमय भएन। एउटा छोरा जन्मिएपछि सम्बन्ध विच्छेद भयो,' उनले भनिन्।
छोराको पालनपोषणको जिम्मेवारी एक्लो काँधमा पर्यो। उनी छोरालाई माइतीमा राखेर रोजगारीका लागि २०६० सालमा कुवेत पुगिन्।
कुवेतमा भनेजस्तो भएन। विदेशी भूमिमा दिनको १२–१५ घन्टाको कठिन परिश्रम, कमाइ भने थोरै। उनी तीन वर्षपछि नेपाल फर्किइन्।
जीवनले फेरि एक पटक आशाको किरण देखायो। नेपाल फर्किएको चार वर्षपछि २०६७ सालमा उनको भेट बुटवल पुरानो बसपार्कका मोहन थापा क्षेत्रीसँग भयो।
श्रीमतीको मृत्युपछि मोहन एक्लो जीवन बिताइरहेका थिए। मोहन र सुशीलाको पीडा उस्तै थियो। दुई–चार दिनको भेटघाटमा एकअर्काबीच माया बसेपछि उनीहरूले बिहे गरे।
मोहनसँग बिहे गर्दा सुशीला ३४ वर्षकी थिइन्। एक वर्षपछि छोरा जन्माइन्। बस्न बुटवलको पुरानो बसपार्कमा सानो घर थियो। मोहन आफ्नै अटोरिक्सा चलाउँथे। सुशीला छोरा हुर्काउँदै घरधन्दामा व्यस्त थिइन्।
सानो परिवार जीवनले लय समात्दै थियो। काखमा हुर्किरहेको छोरा हेर्दै र भविष्यको सुन्दर सपना देख्दै उनीहरू वर्तमानमा रमाइरहेका थिए।
सबै कुरा ठिकठाक चलिरहेका बेला चार वर्ष पहिलेको एक बिहान सकुशल उठेका मोहनलाई अचानक पक्षघात भयो। बुटवल र काठमाडौंका अस्पतालहरूमा दुई वर्ष चहार्दा पनि निको भएन। थलिएर बिस्तारा परेका मोहनको दुई वर्षपहिले मृत्यु भयो।
फेरि घरको सबै जिम्मेवारी सुशीलाको काँधमा आयो।

मोहन बिरामी छँदै उनको अटोरिक्सा सुशीलाले भाडामा लगाएकी थिइन्। एउटा अटोरिक्साको भाडाले घर खर्च धान्न मुस्किल थियो। त्यसैमाथि मोहन बिरामी पर्दाको ऋण पनि थियो।
'५० वर्षको उमेरमा नयाँ काम खोज्नु गर्नु सहज थिएन। तर मैले हिम्मत हारिनँ। भाडामा लगाएको अटोरिक्सा आफै चलाउने सोचेँ,' उनले भनिन्।
कहिलेकाहीँ बाहिर–भित्र गराउनेबाहेक उनीसँग अटो चलाउने सीप थिएन।
मोहन छँदै उनले अटो चलाउन सिक्न खोजेकी थिइन्। एकदिन झाडीमा लगेर लडाएपछि मोहनले दिएका थिएनन्। बाध्यता नभएपछि सुशीलाले पनि थप सिकिनन्।
श्रीमानको मृत्युपछि भने अटो चलाउन सिक्नु सुशीलाको बाध्यता बन्यो। उनले घर नजिकैका अटोचालकलाई एक हजार रूपैयाँ दिएर सिकाइदिन आग्रह गरिन्। एक–डेढ घन्टामै पिकअप लिने र चाहेको स्थान र समयमा ब्रेक लगाउन सक्ने भइन्।
केही दिनपछि देवीनगरको चौरमा लगेर एक्लै चलाउन थालिन्। पाँच दिन खुला चौरमा चलाउन थालेपछि छैटौं दिन सडकमा लिएर हिँडिन्।
त्यतिन्जेल अनुमति पत्रका लागि यातायात कार्यालयमा प्रक्रिया अगाडि बढाइसकेकी थिइन्। दुई–तीन सातामा लाइसेन्स पनि पाइन्। सीप र आत्मविश्वास बढ्दै गयो।
अहिले बुटवलका सबैजसो सडक र गल्लीमा उनी निर्धक्क अटोरिक्सा चलाउन सक्ने भएकी छन्।
'अटो चलाउन सिक्ने र चलाउने यो उमेर त होइन तर, परिस्थिति र बाध्यताले हिम्मत जुटाउनुपर्ने रहेछ,' सुशीला भन्छिन्, 'परिस्थितिले मलाई बाटोमा ल्यायो। बाटोमा अटोरिक्सा निकाल्दा सुरूमा डर लाग्थ्यो। छोराको अनुहार सम्झिएर डर भगाइदिन्थेँ।'
सुशीलाले अटो चलाउन थालेको डेढ वर्ष भयो। यो अवधिमा उनको मेहनत खेर गएको छैन।
'दिनभरि चलाउँदा १५ सयदेखि २ हजार रूपैयाँसम्म कमाउँछु,' उनी भन्छिन्।
सुशीला बिहान ६ बजे अटोरिक्सा लिएर घरबाट निस्किन्छिन्। डेढ–दुई घन्टा चलाएपछि खाना पकाउन घर जान्छिन्। खाना खाएपछि कान्छा स्कुल जान्छन्। खानापछि साँझ ८ बजेसम्म अटो चलाउँछिन्। जेठा छोरालाई भने माइतीमै राखेकी छन्।
डेढ वर्षमा उनले सयौं यात्रुलाई यात्रा गराएकी छन्। सम्झना भएसम्म कसैले नराम्रो व्यवहार गरेका छैनन्।

'धेरैजसो यात्रुले माया र सम्मान नै गर्नुहुन्छ। विशेष गरी महिला र वृद्धवृद्धाहरू मलाई देख्दा निकै खुसी हुनुहुन्छ। कतिपयले त आमा, तपाईंको साहसलाई सलाम छ भन्दै हौसला पनि दिनुहुन्छ,' उनी भन्छिन्।
यसबीच सुशीलाको जीवनमा एक नयाँ साथी आइपुगेको छ।
मोहन बितेको एक वर्ष भइसकेको थियो। घरको एक्लोपनले उनलाई भित्रैदेखि पिरोल्थ्यो।
एक दिन उनको दैलोमा एउटा सानो, सेतो कुकुर टुप्लुक्क आइपुग्यो। हेर्दै मायालाग्दो कुकुर देखेपछि सुशीलाले केही बिस्कुट दिइन्। भोकाएको कुकुरले दायाँबायाँ नहेरी खायो।
बिस्कुट खाएपछि जाला भनेको कुकुर सुशीलालाई छाडेर कतै जान खोजेन। उनले छिमेक कतैबाट आएको हो कि भनेर सोधिखोजी पनि गरिन्। कसैले आफ्नो भएको नबताएपछि उनले आफै राखिन्।
अहिले एक वर्ष भइसक्यो, त्यो कुकुर उनीसँगै छ। बिहान सुशीला उठ्नेबित्तिकै उनको खुट्टामा लुटुपुटु गर्दै पछि लाग्छ। सुशीला बस्न नभ्याउँदै अटोमा गएर बसिसकेको हुन्छ।
दिनभर नै अटोको सहयात्री बनेर बस्ने त्यो कुकुर अब उनको जीवनको अभिन्न अंग बनिसकेको छ।
'साँझ–बिहानको साथी छोरा भए पनि दिनभरिको साथी यही कुकुर बनेको छ,' उनी कुकुरको टाउको मुसार्दै भन्छिन्।