रोबोटिक सर्जरी अहिलेको अत्याधुनिक शल्यक्रिया प्रविधिमध्ये एक हो।
यो नयाँ प्रविधि भने होइन। यसको सुरूआत भएको करिब २५ वर्ष भइसकेको छ।
अमेरिकाबाट सुरू भएको यो प्रविधि सुरूमा मुटुको शल्यक्रियामा प्रयोग भएको भए पनि पछि युरोलोजी, मिर्गौला (किड्नी) क्यान्सर र प्रोस्टेट क्यान्सरको उपचारमा अत्यन्त प्रभावकारी देखिएकाले विश्वभर यसको लोकप्रियता बढ्दै गएको हो।
त्यस्तै, पाठेघर झिक्ने शल्यक्रियादेखि जनरल सर्जरीसम्म यसको प्रयोग व्यापक बन्दै गएको छ।
रोबोटिक सर्जरी भन्नासाथ रोबोटले नै अपरेसन गर्छ भन्ने बुझाइ धेरैमा छ। तर वास्तवमा रोबोटले शल्यक्रियामा सहयोग गर्ने मात्र हो। अपरेसन भने सर्जनले नै गर्ने हो। यसको प्रणाली (सिस्टम) मात्र रोबोटिक हुन्छ।
क्यान्सरको शल्यक्रियामा यो प्रविधि अझ बढी उपयोगी हुन्छ। किनकि यसले शल्यक्रिया गर्नुपर्ने स्थानलाई अझ स्पष्ट रूपमा पहिचान गर्न र उपचारलाई बढी सटिक बनाउन सहयोग गर्छ।
यो प्रविधिबाट अपरेसन गर्दा जटिलता आउने तथा रक्तस्राव (ब्लिडिङ) हुने जोखिम निकै कम हुन्छ। पछि लामो समयसम्म दुखाइ भइरहने वा फेरि दोहोर्याएर अपरेसन गर्नुपर्ने सम्भावना पनि घट्छ। मुख्य रूपमा बिरामीलाई नै धेरै सहज हुन्छ। साथै, स्वास्थ्य बीमा गर्ने संस्थाका लागि पनि यो लाभदायक हुन्छ भने सरकारी स्वास्थ्य सेवामार्फत उपलब्ध गराउँदा पनि उत्तिकै प्रभावकारी हुन्छ।
यस प्रविधिबाट शल्यक्रिया गर्दा दुखाइ कम हुन्छ, संक्रमणको जोखिम घट्छ र अस्पताल बसाइँ पनि छोटो हुन्छ। यसको प्रभाव धेरै पक्षमा पर्छ। अस्पताल बसाइँ कम हुँदा उपचार खर्च पनि घट्छ। संक्रमणको जोखिम कम भएकाले बिरामी आफ्नो नियमित काममा छिट्टै फर्किन सक्छ। साथै, सरकारी अस्पतालमा उपलब्ध बेड पनि एउटै बिरामीले लामो समय ओगटेर बस्नुपर्ने अवस्था कम हुन्छ।
यो प्रविधिले सानाभन्दा साना नशाको पनि स्पष्ट तस्बिर (इमेज) देखाउन सक्ने भएकाले शल्यक्रियाकै क्रममा आवश्यक निर्णय लिन सर्जनलाई सहज हुन्छ। तर यसका लागि सर्जन पनि अनुभवी र यस प्रविधिबारे राम्रो ज्ञान भएको हुनुपर्छ। सिजेरियन डेलिभरी बाहेकका अधिकांश शल्यक्रिया रोबोटिक प्रविधिबाट सम्भव छन्।
शल्यक्रिया गर्नुपर्ने स्थानमा उपकरण (पोर्ट) छिराउन साना प्वाल बनाउनुपर्छ। त्यस क्रममा कार्बन डाइअक्साइड ग्यास प्रयोग गरिने भएकाले मुटु वा छाती सम्बन्धी केही समस्या भएका बिरामीमा यो प्रविधि सबै अवस्थामा उपयुक्त नहुन सक्छ। तर शल्यक्रिया अघि एनेस्थेसियोलोजिस्टले आवश्यक परीक्षण र मूल्यांकन गरेपछि मात्र प्रक्रिया अगाडि बढाइन्छ।
नेपालमा यस प्रविधिको सुरूआत भर्खरै भएको हो। काठमाडौंमा बि एन्ड बी अस्पतालले यसको सुरूआत गरेको छ भने काठमाडौं बाहिर चितवन मेडिकल कलेजमा पनि यो सेवा सुरू भएको छ। हामीले त्यहाँ करिब ५० वटा शल्यक्रिया गरिसकेका छौं।
रोबोटिक प्रविधि सम्बन्धी पढाइ पनि त्यहाँ सुरू भइसकेको छ। युरोलोजी, प्रोस्टेट, स्त्रीरोग, मिर्गौला तथा मिर्गौलाको पत्थरी निकाल्ने लगायतका शल्यक्रियाहरू यस प्रविधिबाट गरिएको छ। अब रोबोटिक सर्जरीका लागि बिरामी विदेश जानुपर्ने बाध्यता धेरै हदसम्म हटेको छ। हामीले सामान्यदेखि जटिल प्रकृतिका शल्यक्रियासम्म सफलतापूर्वक गरेका छौं।
हामीले यसलाई शैक्षिक कार्यक्रमका रूपमा पनि अघि बढाएका छौं। मेडिकल विद्यार्थी तथा सर्जनहरूलाई समेत यस प्रविधिको प्रशिक्षण दिएका छौं। मैले स्वयं यो प्रविधि सिक्न अमेरिका र बेलायतमा काम गरेको हुँ। यस्तो सीप र ज्ञान नेपालमै उपलब्ध हुनुपर्छ भन्ने उद्देश्यका साथ हामीले यो काम अघि बढाइरहेका छौं।
(रोबोटिक सर्जरी के हो यसको जरूरी किन पर्छ? कस्ता रोगमा यसको उपचार सम्भव छ लगायतका विषयमा रोबोटिक तथा युरो–सर्जन डा. प्रतीकमानसिंह गुरूङसँग हामीले भिडिओ कुराकानी गरेका छौं।)