कैलालीमा एक महिलाले आफ्ना प्रेमीसँग मिलेर श्रीमानलाई जंगलमा पुर्याई हत्या गर्न लगाएकी छन्।
श्रीमानको हत्या गरी शव कर्णाली नदीमा फालेको तथ्य खुलेपछि श्रीमतीसहित पाँच जना आरोपीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।
कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार जिल्लाको लम्कीचुहा नगरपालिका–४ की ३२ वर्षीया यमुना सुनारले साउन २२ गते बिहानदेखि आफ्ना ३३ वर्षीय श्रीमान दीपक सुनार हराएको भन्दै खोजीमा सहयोग गर्न आग्रह गर्दै प्रहरीमा निवेदन दिएकी थिइन्।
दीपक जिल्लाकै जानकी गाउँपालिका–९ अमरावतीस्थित ससुरालीबाट हराएको हुँदा खोजतलासमा सहयोग गर्न भन्दै निवेदन दिएकी थिइन्।
निवेदनका आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय लम्कीचुहा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी टोली अनुसन्धानमा खटिएको थियो।
अनुसन्धान क्रममा स्थानीयले त्यो दिन राति जंगल क्षेत्रमा केही हल्लाखल्ला सुनेको तथा शिकार गर्ने मानिसहरू घुमफिर गरेको हुन सक्ने आशंका व्यक्त गरेका थिए।
इप्रका टीकापुरका प्रमुख डिएसपी प्रकाश डाँगी नेतृत्वको टोली साउन २२ गते बिहान जानकी गाउँपालिका–९ अमरावती जंगल क्षेत्रमा खोजतलासका लागि पुगेको थियो।
जंगलमा प्रहरीले रगतका खतहरू फेला पार्यो। झारपातमा र जमिनमा फेला परेको रगतको नमूना संकलन गरी परीक्षणका लागि पठायो। जंगलमा फेला परेको त्यो रगत मानिसको भएको तथ्य खुल्यो।
परीक्षण रिपोर्ट आउनुअघि प्रहरी रगत फेला परेको अमरावती जंगल क्षेत्रमा फेरि–फेरि पुगेको थियो। डिएसपी डाँगीका अनुसार त्यस क्रममा जंगल क्षेत्रमा बेपत्ता दीपकको चप्पल फेला पर्यो।
यमुनामाथि प्रहरीले विशेष निगरानी गरिरहेको थियो। यमुनाको व्यवहार र कुराहरू केही शंकास्पद रहेको भेउ प्रहरीले पाइसकेको थियो।
दीपक बेपत्ता हुनुभन्दा केही दिन अगाडिदेखि यमुनाको लम्कीचुहा–१० का ४१ वर्षीय दुर्योधन सुवर्णकारसँग पटक पटक सम्पर्क स्थापित भएको खुल्छ। दुर्योधन यमुनाका प्रेमी हुन्।
दुर्योधन र उनका साथीहरू कञ्चनपुरको बेलौरी नगरपालिका–९ का ५६ वर्षीय वीरेन्द्र राना थारू, बेलौरी–८ का ३२ वर्षीय मिभ राना थारू र कैलालीको टीकापुर नगरपालिका–३ का ३२ वर्षीय रामराजेश महतोबीच पनि त्यो दिन पटक–पटक फोन संवाद भएको थियो।
अनुसन्धान गर्न प्रहरीले सुरूमा यमुनालाई पक्राउ गर्यो।
जिल्ला प्रवक्ता डिएसपी तिमिल्सिनाका अनुसार सोधपुछका क्रममा यमुनाको झुट खुल्यो। उनले प्रहरीसमक्ष प्रेमी दुर्योधनसँग मिलेर दीपकको हत्या गर्न भिम, वीरेन्द्र र रामराजेशलाई सुपारी दिएको साबिती बयान गरिन्।
दुर्योधनले तीन जनालाई दीपकको हत्या गर्न डेढ लाख रूपैयाँको सुपारी दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
'यमुनाले नै प्रेमी दुर्योधनसँगको योजना अनुसार श्रीमान दीपकको हत्या गर्न भूमिका खेलेको देखियो,' तिमिल्सिनाले भने, 'हत्याको योजना अनुसारै यमुनाले दीपकलाई अमरावती जंगलमा पुर्याएकी थिइन्।'
यमुनाले दीपकलाई भदौ २१ गते बेलुकी अमरावती जंगलमा लगेपछि पहिल्यै जंगलमा लुकेर बसेका चार जनाले घरेलु हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीहरू बताउँछन्।
दीपकको शव मोटरसाइकलमा राखेर नजिकैको कर्णाली नदीमा फालेको बयान हिरासतमा रहेकाहरूले गरेको डिएसपी तिमिल्सिनाले बताए।
'दीपकको टाउकोमा खुकुरी प्रहार भई लडेपछि मात्रै यमुना जंगलबाट घरतर्फ फर्किएको भन्ने अनुसन्धानबाट खुल्छ,' डिएसपी तिमिल्सिनाले भने, 'त्यसपछि शव मोटरसाइकलमा राखेर अन्य चार जनाले कर्णाली नदीमा फालेको भन्ने बयान गरेका छन्।'
हालसम्म दीपकको शव फेला परिसकेको छैन।
डिएसपी तिमिल्सिनाका अनुसार दीपक विगतमा लागुऔषध प्रयोगकर्ताको रूपमा पक्राउपछि कारागारमा बसेको भन्ने खुलेको छ। दीपक कारागारमा परेको समयमा यमुना र आफन्तसमेत पर्ने दुर्योधनबीच प्रेम सम्बन्ध स्थापित भएको बयान उनीहरूले गरेका छन्।
इप्रका टीकापुरका प्रमुख डिएसपी प्रकाश डाँगीका अनुसार दीपक र दुर्योधनबीच केही टाढाको ससुरा–ज्वाइँ नाता पर्छ।
घटनाबारे थप अनुसन्धान भइरहेको तथा दीपकको शव खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।