रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला भारतले नेपालका लागि मानवीय सहायता पठाएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले नेपालमा बाढीको उद्धार तथा राहतका लागि १० टन मानवीय सहायता सामग्री (एचएडिआर) र अत्यावश्यक औषधि पठाएको बताएका छन्।
जयशंकरले सामाजिक सञ्जालमार्फत बाढीबाट प्रभावितप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार र प्रभावित सबैप्रति समवेदना प्रकट गरेका छन्।
'यस चुनौतीको सामना गर्न भारत नेपाल र नेपाली जनताको साथमा उभिएको छ,' उनले भनेका छन्।
यसैबीच, भारतीय अभिनेता सोनु सूदले पनि नेपालमा आएको बाढीप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने बताएका छन्।
सूदले सामाजिक सञ्जालमा लेखेका छन्, 'नेपाल, तिमी एक्लो छैनौ। हामी खाना, आश्रय र पुनर्निर्माणमा सहयोग गर्ने शक्ति लिएर आउँदैछौं।'
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ।
बाढीबाट मानवीय क्षति हुनुका साथै भौतिक संरचना, विद्युत आयोजना, सडक तथा पुलहरूमा समेत क्षति पुगेको छ। उद्धार तथा राहतका लागि सुरक्षाकर्मी र विभिन्न निकाय परिचालन भइरहेका छन्।
हालसम्म ९५ जनाको शव फेला परिसकेको सरकारले जनाएको छ।