भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको संख्या लगातार बढिरहेको छ।
बुधबार राति ११ बजेसम्मको तथ्यांक अनुसार १५७ जनाको मृत्यु पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाढीले बगाएका शव रसुवादेखि तल्लो तटीय क्षेत्र र छिमेकी जिल्लाहरूमा समेत फेला परिरहेका छन्।
हालसम्म चितवनमा सबभन्दा बढी ६४ जनाको शव फेला परेको छ भने धादिङमा २७, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २२, गोरखामा १९, नुवाकोटमा १३, तनहुँमा ९ र रसुवामा ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीका कारण नेपाल प्रहरीका २८ जना कर्मचारी अझै सम्पर्कविहीन छन्।
इलाका प्रहरी कार्यालय टिमुरेका २३ मध्ये १३ जना, प्रहरी चौकी स्याफ्रुबेसीका ८ मध्ये ५ जना र प्रहरी चौकी हाकुका ६ मध्ये ५ जना मात्र सम्पर्कमा आएका छन्।
त्यस्तै, प्रहरी चौकी बेत्रावतीका १० मध्ये ९ जना र अस्थायी प्रहरी पोष्ट मैलुङका ८ मध्ये ३ जना सम्पर्कमा आएका छन् भने प्रहरी चौकी रसुवागढीका ९ जनामध्ये १ जना मात्र सम्पर्कमा आएका छन्।
घटनामा परी घाइते भएका ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
तीमध्ये काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा २० जना, त्रिशूली अस्पतालमा ९ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ४ जना, वीर अस्पतालमा ३ जना र नर्भिक अस्पतालमा ३ जनाको उपचार भइरहेको छ।
त्यस्तै, वीरेन्द्र सैनिक अस्पताल र ग्रिन सिटी अस्पतालमा १-१ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।
बुधबार बिहान भोटेकोशी नदीमा अचानक आएको लेदोसहितको ठूलो बाढीले तटीय क्षेत्रमा विनाश निम्त्याएको हो।
बाढीका कारण सुरक्षाकर्मी, पर्यटक र स्थानीय कर्मचारीसहित ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्। उद्धार क्षेत्रमा खटिएका नेपाली सेनाका ४४ जना र सशस्त्र प्रहरी बलका १३ जना पनि सम्पर्कविहीन छन्।
पर्यटकीय क्षेत्र भएकाले बाढीको जोखिममा ठूलो संख्यामा पर्यटकहरू परेका छन्। हालसम्म ३९१ जना विदेशी र ९३ जना स्वदेशी गरी ४८४ जना पर्यटक सम्पर्कविहीन रहेको पुष्टि भएको छ।
बाढीमा परेर जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार पनि सम्पर्कविहीन छन्। नेपाल विद्युत प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार बाढीमा परी १९६ जना भन्दा बढी कर्मचारी र कामदार सम्पर्कविहीन भएका हुन्। यसमा विदेशी कामदार पनि छन्।
रसुवागढी भन्सार र अध्यागमन कार्यालयका केही कर्मचारीसमेत सम्पर्कविहीन छन्। रसुवागढी भन्सार कार्यालयका १५ जना कर्मचारी अझै सम्पर्कबाहिर छन्।
भौतिक संरचनातर्फ बाढीले व्यापक विनाश पुर्याउँदै १९ वटा मोटरेबल पुल ढालेको छ भने ४० किलोमिटर पक्की सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।
घटनालगत्तै बिहान ८:४५ बजे प्रधानमन्त्री बालेन शाहको निर्देशनसँगै उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मन्त्रिपरिषदको आकस्मिक बैठकले खोज र उद्धारलाई प्राथमिकता दिने निर्णय गरेको छ।
जोखिम बढेपछि नेपाल टेलिकम र एनसेलमार्फत तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइल अलर्ट पठाइएको थियो।
दुर्गम स्थानमा अड्किएका मानिसहरूको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू निरन्तर परिचालन गरिएका छन्।
घाइतेहरूको उपचारका लागि काठमाडौंबाट विशेषज्ञ चिकित्सक टोली नुवाकोट पठाइएको छ। वीर अस्पताल र ट्रामा सेन्टरमा निःशुल्क उपचारका लागि छुट्टै 'डेडिकेटेड' शय्या व्यवस्था गरिएको छ।