भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार बुधबार बिहान ८:४० बजे नदीमा अचानक आएको लेदोसहितको ठूलो बाढीले तटीय क्षेत्रमा विनाश निम्त्याएको हो।
बाढीबाट भएको अकल्पनीय क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।
बुधबार साँझ ७:०० बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढी प्रभावित क्षेत्रबाट ९५ जनाको शव फेला पारिएको छ। फेला परेका शवहरूको हालसम्म सनाखत हुन सकेको छैन।
बाढीका कारण सुरक्षाकर्मी, पर्यटक र स्थानीय कर्मचारीसहित ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन्। उद्धार क्षेत्रमा खटिएका नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरी बलका १३ जना गरी कुल ८५ जना सुरक्षाकर्मीहरू नै सम्पर्कविहीन भएका छन्।
यस्तै, पर्यटकीय क्षेत्र भएकाले बाढीको जोखिममा ठूलो संख्यामा पर्यटकहरू परेका छन्। हालसम्म ३९१ जना विदेशी र ९३ जना स्वदेशी गरी ४८४ जना पर्यटक सम्पर्कविहीन रहेको पुष्टि भएको छ।
यसबाहेक प्रभावित क्षेत्रका विभिन्न विद्युत आयोजनामा कार्यरत ६० जना कर्मचारीका साथै रसुवागढी भन्सार र अध्यागमन कार्यालयका केही कर्मचारीहरूसमेत सम्पर्कविहीन छन्।
भौतिक संरचनातर्फ बाढीले व्यापक विनाश पुर्याउँदै १९ वटा मोटरेबल पुल ढालेको छ भने ४० किलोमिटर पक्की सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ।
घटनालगत्तै बिहान ८:४५ बजे प्रधानमन्त्री बालेन शाहको निर्देशनसँगै उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मन्त्रिपरिषदको आकस्मिक बैठकले खोज र उद्धारलाई प्राथमिकता दिने निर्णय गरेको छ।
जोखिम बढेपछि नेपाल टेलिकम र एनसेलमार्फत तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइल अलर्ट पठाइएको थियो।
दुर्गम स्थानमा अड्किएका मानिसहरूको उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरहरू निरन्तर परिचालन गरिएका छन्।
बाढीमा परी घाइते भएकामध्ये २१ जनाको रसुवा अस्पतालमा उपचार भइरहेको छ भने ३६ जना गम्भीर घाइतेलाई काठमाडौं ल्याएर राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ।
घाइतेहरूको उपचारका लागि काठमाडौंबाट विशेषज्ञ चिकित्सक टोली नुवाकोट पठाइएको छ। वीर अस्पताल र ट्रामा सेन्टरमा निःशुल्क उपचारका लागि छुट्टै 'डेडिकेटेड' शय्या व्यवस्था गरिएको छ।