जापानमा मासिक लाखौं रूपैयाँ कमाउँथिन्। बस्न, खान मात्र होइन, आफूले चाहेजस्तो जीवन जिउन कुनै समस्या थिएन २९ वर्षीया जस्मिन पौडेललाई।
त्यही पनि दिनहुँ एक्लो महसुस गर्थिन्, निराश हुन्थिन्।
कोही आमाबुबासँग हात समातेर हिँडिरहेको देख्दा भावुक हुन्थिन्, रून्थिन्। अनि एकछिनपछि आफूले आफैलाई सम्हाल्थिन्।
कहिलेकाहीँ एक मनले सब थोक छाडेर घर जाने सोच्थिन्।
त्यो बेला आफूलाई ऐनामा हेर्थिन् र मनमनै सोच्थिन्— के मेरो यो नयाँ पहिचान घरपरिवार र आफन्तले स्वीकार गर्लान्?
'आमाबुबाले फेरिएको शरीर देखेका थिएनन्। त्यसैले मन अलि चिसो हुन्थ्यो। दोमन भइरहन्थ्यो,' जस्मिनले भनिन्, 'तीन महिनाअघि भने नेपाल आउने निधो गरेँ।'
जस्मिनको पुरूषका रूपमा जन्म भएको थियो। समयसँगै उनलाई आफ्नो वास्तविक पहिचान महिला भएको यकिन भयो।
आफ्नो पहिचान अनुसार शारीरिक बनावट पनि होस् भनेर उनले लामो समयदेखि हर्मोन सेवन गरिरहेकी थिइन्। तीन वर्षअगाडि यौनांग पनि परिवर्तन गरिन्।
त्यसपछि उनलाई स्वास्थ्य अलि कमजोर भएको महसुस भयो। पहिले जसरी मेहनत गर्न नसकेको हो कि भन्ने लाग्यो। परिवारले पनि स्वदेश फर्किन भनिरह्यो।
दुई महिनाअघि उनी नेपाल आइन्।
जापानबाट फर्किँदा उनी हङकङ र थाइल्यान्ड ट्रान्जिट हुँदै आएकी थिइन्। त्यहाँ कुनै समस्या भोग्नुपरेन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने उनीमाथि प्रश्नको ओइरो लाग्यो।
सुरक्षाकर्मीले उनको पासपोर्ट हेर्नासाथ सोधे, 'यो तपाईंको पासपोर्ट होइन, यहाँ रोकिनुहोस्।'
जस्मिनले आफ्नो कथा सुनाइन्। सुरक्षाकर्मीले कुरा सुनेनन्। अर्कै मानिसको पासपोर्टमा आएको आरोप लगाए।
उनको पासपोर्ट र कागजातमा सागर पौडेल नाम छ।
'तपाईं महिला देखिनुहुन्छ, पासपोर्ट पुरूषको छ, कसरी पत्याउनू भनेर सुरक्षाकर्मीले छुट्टै कोठामा लगेर प्रश्न गरिरहे,' उनले भनिन्, 'मैले सर्जरी गरेदेखिका आफ्ना सम्पूर्ण कागजात देखाएँ। त्यही पनि मलाई छोडेनन्।'
केहीबेर वादविवादपछि उनलाई माथिल्लो अधिकारीकहाँ लगियो। ती अधिकारीले भने एकै वचनमा कुरा बुझेर 'जान दिनुस्' भने।
यो घटनाले उनलाई झमेला भयो। तर आफू महिला 'देखिएको' मा आफ्नो मेहनत सफल भएझैं लाग्यो।
विमानस्थलबाट बाहिरिँदै गर्दा उनको पुरानो याद ताजा भयो।
११ वर्षअघि यही विमानस्थलबाट उड्दा उनी १८ वर्षका सागर थिए।
उनी नवलपरासीको गैंडाकोट नगरपालिका–१० मा जन्मिएका हुन्। उनकी एक बहिनी छिन्।
सागर सानै छँदा आमाबुबा छुट्टिए। त्यसपछि उनी बुबा र हजुरआमाको हेरचाहमा हुर्किए। गाउँकै स्कुलमा पढे।
केटाकेटी हुँदादेखि नै उनी हजुरआमा, फुपूका लुगाहरू लगाउँथे। खुला ठाउँमा भित्री वस्त्र मात्र लगाएर नुहाउन पनि लजाउँथे। आफू किन यस्तो भएको भन्ने लागिरहन्थ्यो। तर केही भेउ पाएका थिएनन्।
१३–१४ वर्षको हुँदा उनलाई एक युवक अत्यधिक मनपर्यो। उनलाई अचम्म लाग्यो। केटा भएर केटा नै किन मनपर्यो भनेर मनमा हजारौं प्रश्न आए।
यत्तिकै समय बित्यो, उनी कलेज पढ्न थाले। कलेजमा सहपाठीहरूले 'केटी जसरी हिँड्छ' भनेर जिस्क्याए। कलाकार सन्तोष पन्तका छोरा 'सर्जरी गरेर छोरी भएको' कुरा पनि गरे।
त्यसपछि उनलाई पनि पैसा कमाउन सके विदेश गएर केटी बन्न सकिन्छ भन्ने लाग्यो।
उनी उपाय खोज्न थाले। गाउँका दिदीहरू जापानी भाषा पढिरहेको देखेका थिए। यसबारे बुझे। राम्रै हुन्छ भनेपछि पढ्न थाले।
एक वर्षजति पढेपछि उनको नाम निस्कियो। तर सानै उमेर भएकाले उनलाई बुबाले विदेश पठाउन मानेनन्। हजुरआमा र फुपूले जग्गा बेचेर भए पनि ऋण तिरिदिने भनेर जोडबल गरे।
त्यसपछि उनी सन् २०१५ मा जापान उडे।
जापानमा दुई वर्ष केटाकै पहिरन लगाए।
एक दिन उनलाई साथीले क्लब लगिन्। त्यहाँ एक जना ट्रान्सवुमन (पारलैंगिक महिला) सँग भेट भयो। त्यसपछि उनलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे थाहा भयो।
उनी जापानमा पैसा कमाउन थालिसकेका थिए। त्यसैले आफूले भनेजसरी बाँच्ने इच्छा बढ्दै गयो। उनले कपाल पाले। केटीका पहिरन लगाउन थाले। चिकित्सकको सल्लाह लिएर हर्मोन खाए।
जापानमा सागरले आफ्नो पहिचानको लडाइँ जिते र जस्मिन बने।

'मानसिक रूपमा केटी भए पनि शरीरले केटा थिएँ। त्यसैले शौचालय प्रयोग गर्न भने समस्या हुन्थ्यो,' उनले भनिन्, 'त्यसपछि दिनरात मेहनत गरेर भए पनि शारीरिक रूपमा पनि केटी नै हुने सोच आयो।'
हर्मोन लिएसँगै शरीरको बनावट फेरिन थाल्यो। उनी खुसी भइन्। तर परिवारसँग कसरी कुरा गर्ने भन्ने समस्या हुँदै गयो।
'गाली खाइन्छ भनेर मैले ४–५ वर्ष परिवारसँग प्रत्यक्ष सम्पर्क नै गरिनँ। त्यति बेला मलाई पैसा कमाउने र शारीरिक रूपमा केटी हुने भूत चढेको थियो,' उनले भनिन्, 'मेरो मेहनत सफल भयो। सन् २०२३ मा यौनांग परिवर्तन गरेँ।'
उनले थपिन्, 'त्यसपछि मानसिक रूपमा मात्र नभई शारीरिक रूपमा पनि केटी बनेँ।'
यौनांग परिवर्तनको शल्यक्रियाका निम्ति करिब ५० लाख रूपैयाँ खर्च भएको उनले बताइन्।
त्यसपछि उनलाई सार्वजनिक रूपमा आफ्नो पहिचान स्वीकार गर्न सहज भयो। जापानमा उनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका साथीहरू भेटिन्। सामाजिक सञ्जालमा टिकटकमा आफ्ना भिडिओहरू हाल्न थालिन्।
भिडिओ हाल्न थालेपछि परिवारका सदस्यहरूसँग पनि सम्पर्क भयो। बहिनी, हजुरआमा हुँदै सानीआमा (कान्छी आमा) सँग कुराकानी गरिन्। सबैसँग राम्ररी कुराकानी हुन थालेको भने एक–डेढ वर्ष भयो।
'परिवारमा बिस्तारै आफ्ना कुरा राखेँ। ममी (सानीआमा) साथी जस्तो बन्नुभयो। एकदमै धेरै माया गर्नुहुन्छ,' जस्मिनले भनिन्, 'परिवारले मेरो नयाँ पहिचान पनि सहजै स्वीकार गरेपछि भने त्यतिका समय किन बोलिनँ होला भन्ने लाग्यो।'
यसरी सबै ठिकठाक चलिरहेको थियो। तर तीन महिनाअघि शारीरिक रूपमा कमजोर भइन् र बिरामी परिन्। परिवारले परदेशमा एक्लै बस्नुभन्दा फर्किन भनेपछि उनी आइन्।
'सुरूमा बुबाले अनुहार हेर्न सक्नुभएन। छोरा लाहुरे होस् भन्ने सोच्नुहुन्थ्यो। छोरी बनेर फर्किँदा नराम्रो लाग्यो कि! तर केही भन्नुभएन। मलाई धेरै माया गर्नुहुन्छ,' उनले भनिन्, 'छिमेकी, समाजले के भन्लान् भन्ने डर थियो उहाँलाई।'
केही समयपछि सबै सामान्य हुँदै गयो।
एक दिन बुबाले पनि भने— तँ जस्तो छस्, मेरो छोरी होस्, मेरो लागि राम्रो मान्छे होस्।
त्यो दिन जस्मिनलाई मुटु थिचेर बसेको ढुंगा निकालेजस्तो भयो। ११ वर्षको सबै थकान मेटिएको महसुस गरिन्।
कागजी रूपमा भने उनी सागर पौडेल नै छिन्। उनी बुबाले दुःख गरेर पढाएको शैक्षिक प्रमाणपत्र र नागरिकताको नाम बदलेर सबै मेहनत फोहोरमा फालेजस्तै बनाउन चाहन्नन्।
'कागजमा म सागर नै रहौंला, त्यो एउटा प्रशासनिक पहिचान हो। तर मेरो आत्मा, मेरो अस्तित्व र मेरो जीवन जस्मिन हो,' उनले भनिन्, 'म सरकारी काममा सागर बनेर जान हिचकिचाउँदिनँ, तर आफूलाई जस्मिन नै भनेर चिनाउँछु।'
जापानी भाषा र संस्कृति जमेर फर्किएकी जस्मिन अहिले गैंडाकोटमै जापानी भाषा पढाउन वा सानो व्यवसाय गर्न चाहन्छिन्। केही ठाउँमा आवेदन र अन्तर्वार्ता पनि दिइसकिन्। तर अवसर पाएकी छैनन्।
'मसँग जापानी भाषा पास गरेको सर्टिफिकेट छ। जापानमा पनि भाषा पढाएको अनुभव छ,' जस्मिनले भनिन्, 'त्यसैले त्यही क्षेत्रमा काम पाए हुन्थ्यो भन्ने लाग्छ।'