होटल र्याडिसनमा ग्यास 'लुकाएर' राखेको भन्दै सरकारी निकायले प्रचार गरेपछि होटल व्यवसायीले आपत्ति जनाएका छन्।
घटनाको भोलिपल्ट वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम, होटल एसोसिएसन नेपाल (हान) का प्रतिनिधि र केही व्यवसायीबीच छलफल भएको छ।
उद्योग तथा वाणिज्य मन्त्रालय स्रोतका अनुसार छलफलमा कर्मचारीहरूले ग्यास जफत वा कारबाही गर्ने कानुनी आधार नरहेको बताएका थिए।
व्यवसायीहरूले होटलले ग्यास खरिद र मौज्दात राख्ने प्रक्रिया पनि स्पष्ट पारेपछि कारबाही अघि नबढाइएको स्रोतको भनाइ छ।
स्रोतका अनुसार मन्त्रालयको सचिवालयबाट होटलमा रहेको ग्यास उठाएर लैजाने तयारीसमेत भएको थियो।
ग्यास उठाउन टोली होटल पुगेको थियो।
तर होटल व्यवसायीहरूले आफ्नो प्रक्रिया र ग्यासको नियमित खपतबारे जानकारी गराएपछि उक्त प्रयास रोकिएको हो।
व्यवसायीहरूका अनुसार होटलहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुना र आपूर्तिकर्तासँग सेवा तथा सामान आपूर्तिका लागि एक वर्षअगावै सम्झौता गरेका हुन्छन्।
बिजुली, पानी, ग्यास लगायत अत्यावश्यक सेवाको निरन्तर आपूर्ति सुनिश्चित गर्नु होटलको जिम्मेवारी हुन्छ।
त्यसैले होटलले आफ्नो आवश्यकता र सम्झौता अनुसार ग्यास मौज्दात राख्नु सामान्य प्रक्रिया भएको व्यवसायीहरूको भनाइ छ।
हानका प्रतिनिधि विनायक शाहले होटलमा १८५–१८६ वटा सिलिन्डर हुनु ठूलो विषय नभएको बताए। ठूला होटलमा सिलिन्डरबाहेक ४५० किलो क्षमताका ठूला ग्यास ट्यांकसमेत प्रयोग हुने उनले बताए।
'ग्यासको समस्या छ। समाधान गर्ने, कम खपत गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामीसँग बसेर सल्लाह गर्दा राम्रो हुन्छ,' शाहले भने, 'हिजो एक होटलमाथि गरिएको अनुगमन राम्रो भएन। यसले हाम्रो सेवा उद्योगप्रति नकारात्मक धारणा बनाउँछ।'
विभिन्न तारे होटलका सञ्चालक शशिकान्त अग्रवालले होटलमा छापा मारेर ग्यास लुकाएको भन्दै प्रचार गर्नु गलत भएको बताए।
'होटलमा छापा मार्ने र ग्यास लुकाएको भनी गलत प्रचारप्रसार गर्दा होटलको मानमर्दन हुन्छ। यसले अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश जान्छ,' अग्रवालले भने।
उनका अनुसार होटलका लागि ग्यास अत्यावश्यक वस्तु हो। ग्यासको अभाव भए होटलको सेवा नै प्रभावित हुने अवस्था आउँछ।
'यस्ता गतिविधिले व्यवसायीमा त्रास पैदा गर्छ। यसले व्यवसाय गर्ने वातावरण र आत्मविश्वास जगाउँदैन,' उनले भने।
अग्रवालले राज्यले व्यवसायीलाई सहयोग गर्नुपर्नेमा सास्ती दिन नहुने बताए।
'राज्यले सहयोग गर्नुको सट्टा यस्तो सास्ती दिनु हुँदैन। राज्यले होटलको आवश्यकता अनुसार ग्यास आपूर्तिको ग्यारेन्टी गर्नुपर्ने हो। छापा मारेर अपराधी जस्तो व्यवहार गरियो,' उनले भने।
उनले होटलले आफ्नो आवश्यकता र सम्झौता अनुसार ग्यास राख्नुलाई 'लुकाएको' भन्न नमिल्ने बताए।
'होटलले आफ्नो आवश्यकता र सम्झौता अनुसार ग्यास राख्नुलाई लुकाएको भन्नु गलत हो। पानीको ट्यांकीमा पानी राख्नुलाई पानी लुकाएको भन्नुजस्तै अर्थहीन तर्क हो,' अग्रवालले भने।
र्याडिसनजस्ता अन्तर्राष्ट्रिय चेन होटलमा छापा मार्ने र ग्यास लुकाएको भन्दै प्रचार गर्ने शैलीले नेपालको पर्यटन र वैदेशिक लगानीमा समेत नकारात्मक असर पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ।
व्यवसायीहरूले बजारमा ग्यासको समस्या भए त्यसको समाधानका लागि सरकारसँग सहकार्य गर्न आफूहरू तयार रहेको बताएका छन्।
होटललाई दोषी देखाउनेभन्दा ग्यास आपूर्ति नियमित गर्ने र खपत घटाउने उपायमा सरकार र व्यवसायीबीच छलफल आवश्यक रहेको उनीहरूको भनाइ छ।