अहिले संसारभरि मोटोपनको समस्या बढिरहेकै छ।
दक्षिण एसियाका देशहरूमा भने पश्चिमा देशको भन्दा फरक खालको मोटोपनको समस्या छ। मोटोपनको परिभाषा पनि बदलिएको छ। कोही व्यक्ति जिम गर्छ तर उसको तौल ८० केजीभन्दा धेरै छ भने त्यसलाई मोटोपन भएको भन्न छोडिएको छ।
विश्व स्वास्थ्य संगठनले मोटोपनलाई एउटा रोग नै भनेको छ। सुगर, प्रेसर जस्तै मोटोपना पनि दीर्घ रोगमै गणना हुन्छ।
मोटोपनको निर्धारण कसरी गर्ने त भन्ने हो।
पहिला तौलको कुरा आउँथ्यो, तर अब तौल मात्रै महत्त्वपूर्ण रहेन। धेरै वर्षसम्म मोटोपनाको परीक्षण बिएमआईबाटै गरिन्थ्यो। पहिला तौल र उचाइको आधारमा मोटोपनको निर्धारण गरिन्थ्यो भने अहिले कम्मर र उचाइ पनि हेरिन्छ।
हाम्रो भुँडी धेरै ठूलो हुन थालेको छ। जसले गर्दा नेपालीलाई मधुमेह र मुटु रोग धेरै ल्याएको छ। मान्छेको तौलभन्दा पनि उसको पेटको आकारबाट मोटोपन थाहा हुन्छ। पेटभित्र बोसो कति छ, त्यो बोसो खराब बोसो हो। मान्छे दुब्लो छ तर पेट ठूलो छ, त्यहाँ बोसो जम्मा भएको छ र बोसो कलेजोमा पनि छ भने त्यो मोटोपन खराब हो।
मोटाएको हो कि होइन भनेर धेरै परीक्षण गर्नै पर्दैन। एक पटक ऐनामा हेर्नुस्। तपाईंको पेट ठूलो छ भने मोटो भयो।
भात कम खाएर मात्र तौल कम हुने भन्ने होइन। मुख्य कुरा शरीरलाई कति सक्रिय राख्नुभएको छ भन्ने हो। तपाईंले दौडने, हिँड्ने केही न केही त गर्नैपर्यो। युवाहरूले अलि कडा खालकै शारीरिक व्यायाम गर्न जरूरी पर्छ।
कसैले भन्छ कि बिहान पानी पर्यो अनि दिउँसो घाम लाग्यो। यसो भन्दैमा घरमै बसेर पनि व्यायाम गर्न नमिल्ने भन्ने होइन। केही जानिएको छैन भने यत्तिकै उफ्रिँदा पनि हुन्छ। म्युजिक लगाएर आफ्नै तरिकाले नाच्न पनि सकिन्छ।
आजकल मान्छेलाई चाहिने–नचाहिने तनाव हुन्छ, त्यसका लागि ब्रिदिङ एक्सरसाइज गर्न सकिन्छ। घुँडा दुखेर हिँड्न नसके पनि बेडमा बसेर योग गर्न सकिन्छ।
भातलाई मात्र दोष दिएर हुँदैन। पहिला त आफू अल्छी हुनुभएन। तेल, मसला, नुन सबैको कुरा आउँछ तर दोष भातले पाउँछ। अर्थात् मान्छे मोटाउने भनेको शारीरिक श्रमभन्दा धेरै भात खाएर हो भन्ने होइन।
व्यायाम जस्तो गरे पनि हुन्छ। व्यायाम भनेको दौडिने र पौडिने मात्र होइन। व्यायाम गर्न कुनै नियम चाहिँदैन। जसरी पनि सुरू गर्नुपर्यो। जुत्ताको तुना लगाउनासाथ व्यायाम सुरू भयो भनेर भनिन्छ।
एकै महिनामा २–३ किलो घट्छु भनेर सोच्ने होइन। तपाईंले आफ्नो साना–साना बानी सुधारेर थोरै तौल घटाउँदै जाने हो। कतिले भात छोडेर मकै खाइरहेको हुन्छ। तर यस्तो खाँदैमा धेरै असर पर्दैन। खाने कुरा केही छोड्नुपर्छ भन्ने छैन।
ब्रेकफास्टमा अलि धेरै प्रोटिन खानु राम्रो हुन्छ। चना, अन्डा, ओखर, बदाम खानुपर्छ, जसले सुगर उत्पादनमा कमी ल्याउँछ। फलफूल दिउँसो खाँदा हुन्छ।
हामीलाई प्रोटिनको पनि कमी भइरहेको छ। हामी दाल, भात, आलु खान्छौं। त्यसले गर्दा अहिले के देखिएको छ भने हातखुट्टा सुक्दै गएको छ भने पेट लागिरहेको छ। हामीले मांसपेशी बलियो बनाउने व्यायाम पनि गर्दैनौँ।
यस्तो हुनुको कारण प्रोटिन र व्यायामको कमी भएर हो।
पेट घटाउने हो, वजन होइन। हामीले वेट सोच्ने होइन, पेट सोच्ने हो। दिनमा १० हजार पाइला हिँडेको राम्रो हो। तर हिँड्दा अलि छिटो छिटो हिँड्नुपर्छ। जस्तो, ३० मिनेट हिँड्ने हो भने हरेक दिन त्यही समयमा हिँडाइको गति बढाउनुपर्छ।
अथवा एकछिन कुद्यो, एकछिन रोकियो भने पनि पनि राम्रो हो।
(मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डा. डिना श्रेष्ठ नर्भिक अस्पताल, थापाथली र सिद्धी पोलिक्लिनिकमा कार्यरत छिन्।)