गोर्खाको खोप्लाङमा जन्मे–हुर्केका राजेश पाण्डेको सानैदेखिको सपना थियो— डाक्टर बन्ने।
काठमाडौं आएर आइएससी पढेपछि उनले भरतपुरको कलेज अफ मेडिकल साइन्सेसबाट एमबिबिएस गरे।
एमबिबिएस गरिरहेका धेरै साथीहरू पढाइपछि अमेरिका, अस्ट्रेलिया लगायत मुलुक जाने योजना बुनिरहेका थिए। पढ्दापढ्दै उनीहरू अमेरिकी मेडिकल लाइसेन्सिङ परीक्षा (युएसएमएलई) को तयारी गर्थे।
राजेशको सोच फरक थियो। उनी नेपालमै बस्न चाहन्थे।
एमबिबिएस सकेपछि उनको रूचि बालरोगमा बढ्यो।
त्यसैले उनले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालरोग चिकित्सा 'पेडियाट्रिक्स' पढ्न स्नातकोत्तर तहको प्रवेश परीक्षा दिए।
'यहीँ चिकित्सक अभाव छ, किन विदेश जानु भनेर म नेपालमै बसेँ,' उनले सुनाए, 'लिखितमा एक नम्बरमा नाम निस्किए पनि अन्तर्वार्तामा मलाई फेल गराइयो।'
त्यो घटनाले उनलाई निकै निराश बनायो। धरानबाट भरतपुर फर्किँदा बसमा धेरै सोचे।
'उच्च अंक ल्याउँदा पनि पेडियाट्रिक्स पढ्न नपाउने भएँ। अनि मैले त्यही रात अमेरिका जाने योजना बनाएँ,' उनले भने।
युएसएमएलई तयारी थाले। पास गरेर सन् २००६ मा अमेरिका पुगे।
अमेरिकामा उनले पेडियाट्रिक्समा रेजिडेन्सी सुरू गरे। सन् २००७ जुलाईदेखि औपचारिक प्रशिक्षण सुरू भयो।
राजेश न्युयोर्कको रिजउडमा बस्थे। त्यहाँ नेपालीको बाक्लो बसोबास थियो।
उनी बस्ने भवनका ८० वटा फ्ल्याटमध्ये ६०–६५ वटामा नेपाली परिवार नै भएको उनी सम्झिन्छन्।
'त्यसैले हामी त्यसलाई गोर्खा बिल्डिङ भन्थ्यौँ। त्यो बेला साथ दिने र सहयोग गर्ने साथीहरू र समुदायप्रति म धेरै आभारी छु,' उनले भने।
राजेशलाई त्यहाँको स्वास्थ्य प्रणालीमा धेरै कुरा नयाँ लाग्यो।
जस्तै, नेपालमा चिकित्सकले एकै दिनमा ठूलो संख्यामा बिरामी हेर्नुपर्थ्यो। अमेरिकामा बिरामी हेर्नु मात्रै चिकित्सकीय कामको सम्पूर्ण हिस्सा थिएन।
उनका अनुसार अमेरिकामा अभिलेखीकरण, बिरामीसँगको संवाद, इलेक्ट्रोनिक मेडिकल रेकर्डदेखि उपचारका हरेक चरणको निश्चित प्रणाली थियो।
'नेपालमा हामी कागजमा लेख्थ्यौं। कहिलेकाहीँ आफैले लेखेको आफै बुझिँदैनथ्यो,' राजेशले हाँस्दै भने, 'यहाँ त हरेक कुराको सिस्टम छ।'
पेडियाट्रिक्स सकेपछि उनले नवजात शिशु उपचार अर्थात् नियोनेटोलोजीमा फेलोसिप गरे।
अहिले उनी अमेरिकाको युनिभर्सिटी अफ टेक्सस, ड्यालसमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्। उनी पढाउँछन्, अनुसन्धान गर्छन् र अस्पतालमा बिरामीको उपचार गर्छन्।
उनको मुख्य विशेषज्ञता समय नपुगी जन्मिएका बच्चाको उपचार हो।
सामान्यतया ३७ हप्ता पुगेपछि जन्मिएको बच्चालाई पूर्ण अवधि पुगेको मानिन्छ। नियोनेटोलोजीमा काम गर्दा उनी २२–२३ हप्तामै जन्मिएका शिशुहरू हेर्छन्।
यस्ता बच्चा आमाको गर्भबाहिर बाँच्न आवश्यक अंगहरू पूर्ण रूपमा विकसित भइसकेका हुँदैनन्।
'२२ हप्ताको बच्चा बचाउनु निकै गाह्रो हुन्छ,' उनी भन्छन्।
शिशु बचाएर मात्रै चुनौती सकिँदैन। समय नपुगी जन्मिएका शिशुलाई हिँड्न, बोल्न, सिक्न समेत समस्या हुने जोखिम रहने उनी बताउँछन्।
यसबारे अभिभावकलाई परामर्श पनि उपलब्ध गराउनुपर्छ।
समय नपुगी बच्चा जन्मिनुको एउटै कारण हुँदैन। आमामा हुने संक्रमण, उच्च रक्तचाप, मधुमेह, अत्यधिक तनाव तथा बच्चालाई घेरेर रहेको गर्भझिल्ली समयअगावै फुट्नुजस्ता कारणले समय नपुगी जन्म हुन सक्छ।
'धुम्रपान, मद्यपान लगायत कारण पनि यस्तो समस्या हुन्छ,' उनले भने, 'कतिपय अवस्थामा कारण थाहा हुँदैन।'
राजेश अमेरिका–नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ) मा आबद्ध छन्। त्यस्तै, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) सँग पनि सहकार्य गरिरहेका छन्।
नेपालमा बाल स्वास्थ्य सेवाको गुणस्तर कसरी सुधार गर्न सकिन्छ भन्नेबारे नेपाली चिकित्सकहरूसँग मिलेर काम गरिरहेको उनले बताए।
उनको अहिलेको एउटा महत्त्वपूर्ण अनुसन्धान 'डिलेड कर्ड क्ल्याम्पिङ' अर्थात् बच्चा जन्मिएपछि सालनाल केही समय ढिलो काट्ने अभ्याससँग सम्बन्धित छ।
बच्चा जन्मिएलगत्तै सालनाल काट्नुको सट्टा करिब एक मिनेट पर्खिँदा आमाबाट थप रगत बच्चामा पुग्छ। विशेषगरी समय नपुगी जन्मिएका बच्चालाई यसले महत्त्वपूर्ण फाइदा पुर्याउँछ।
यसले यस्ता बच्चाको मृत्युदर घटाउन र उनीहरूको विकासमा सकारात्मक प्रभाव पार्न सक्ने विषयमा उनी नेपालका चिकित्सकहरूसँग अनुसन्धान गरिरहेका छन्।
त्यस्तै, बालबालिकामा विभिन्न रोगको स्क्रिनिङ तथा रोकथाम सम्बन्धी स्वास्थ्य सेवामा काम गरिरहेका छन्। हरेक महिना वेबिनारमार्फत बालरोग विशेषज्ञहरूको चिकित्सा ज्ञान अभिवृद्धिका लागि काम गरिरहेका छन्।
पछिल्लो समय नेपालबाट बौद्धिक पलायन कसरी रोक्ने, विदेशमा काम गरिरहेका नेपाली दक्ष जनशक्तिलाई नेपाल कसरी फर्काउने भन्ने विषयमा बहस भइरहेको छ।
यसबारे राजेश भन्छन्, 'म नेपालमा बसेर एउटा अस्पतालमा बसेर बालबालिका हेर्नुभन्दा पनि यहाँ बसेर नेपालको स्वास्थ्य प्रणालीको समस्यामा कसरी काम गर्न सकिन्छ, चिकित्सकहरूको सीप कसरी विकास गर्न सकिन्छ भन्नेमा बढी केन्द्रित छु। विदेश बसेर पनि नेपालका लागि काम गर्न सकिन्छ। अमेरिका बस्दैमा नेपालसँग टाढा हुन सकिँदैन।'