नेपाल-चीन सीमा क्षेत्रमा गएको हिमपहिरो ल्हेन्दे खोलामा खसेपछि त्रिशूली नदीमा मिसिएर भीषण बाढी बनिसक्दा पनि किन त्यसको सूचना बेलैमा दिन सकिएन भन्ने गम्भीर प्रश्न उठेको छ।
बुधबार बिहान साढे ८ बजे आसपासबाट सुरू भएको बाढीबारे सही सूचना बेलैमा प्रवाह गर्न नपाउँदा यति धेरै मानवीय क्षति भएको मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका कर्मचारीहरू स्वीकार गर्छन्।
दिनभरिका स्याटेलाइट म्याप र अन्य विवरण संकलन गरेर महाशाखाले तयार पारेको प्राविधिक रिपोर्ट अनुसार बिहान ९:२० बजे मात्र पहिलो पटक भोटेकोशीमा बाढी आएको सूचना एसएमएसमार्फत सर्वसाधारणमा प्रवाह गर्न सकिएको थियो।
उक्त रिपोर्ट केलाउँदा मेसेजमार्फत दिइएको सूचना मानिसहरूको मोबाइलसम्म पुग्दा बाढीले रसुवागढी-टिमुरे क्षेत्र बगाएर स्याफ्रुबेसी आइपुगिसकेको देखिन्छ।
सिमानाभन्दा एक किलोमिटर मात्र तल रहेको रसुवागढी जलमापन केन्द्रले बिहान ८:४० बजेपछि विवरण पठाउन छाडेको थियो। त्यस्तै, उक्त केन्द्रबाट ८ किलोमिटर तल पर्ने स्याफ्रुबेसी जलमापन केन्द्रले बिहान करिब ८:५० बजेदेखि तथ्यांक पठाउन छाडेको थियो।
महाशाखाका प्रवक्ता राजन भट्टराईले बिहीबार बिहान जारी गरेको विज्ञप्तिमा अन्तिम विवरण पठाएको केही समयमै ती केन्द्र बाढीले बगाएको उल्लेख छ।
सिमानाकाकै जलमापन केन्द्र बाढीले बगाएपछि रसुवागढी, टिमुरे र स्याफ्रुबेसीजस्ता माथिल्ला बस्तीका बासिन्दाले पर्याप्त पूर्वसूचना पाउन सकेनन्।
सुरूआती जलमापन केन्द्रमै बाढी आएको थाहा नपाई स्टेसन बगेकाले समयमै सूचना प्रवाह गर्न नसकेको महाशाखाकी हाइड्रोलोजिस्ट शर्मिला विष्टले बताइन्।
'हामीले राखेको जलमापन केन्द्रले बाढी आएको सूचना दिनै नपाई बाढीले बगाएको देखिन्छ,' उनले भनिन्, 'त्यसैले हामीलाई बाढी आएको थाहै भएन। बाढी टिमुरे आइसकेपछि त्यहाँको प्रशासनका अधिकारीले भनेपछि मात्र हामीले थाहा पायौं। त्यसपछि बल्ल हामीले मोबाइलमा सूचना पठाएका हौं।'
त्यति बेला मोबाइलमा सूचना पुग्नु र स्याफ्रुबेसीमा बाढी पुग्नु एकैपटक भएको उनको भनाइ छ। त्यसैले कतिपय मानिस सुरक्षित बस्न सकेको र कतिपय नसकेको उनी बताउँछिन्।
'सीमा नाकाभन्दा माथिबाटै वा सुरूमै पानीको तहसहितको सूचना समयमै प्राप्त भएको भए भौतिक संरचना बचाउन नसके पनि मानिसहरू सुरक्षित स्थानतर्फ भाग्न सक्थे र मानवीय क्षति रोक्न सकिन्थ्यो,' उनले थपिन्।
'पूर्वसूचना स्टेसनलाई एकैचोटि वास आउट गर्यो'
बाढी पूर्वानुमान गर्न राखिएको केन्द्रले नै किन पूर्वसूचना पठाउन सकेन त?
हाम्रो यो प्रश्नमा विष्टले भनिन्, 'हाम्रो सामान्य अनुमानमा बाढी आउँदा पानी र लेदो बिस्तारै बढ्दै जान्छ। जलमापन केन्द्रले पनि जलसतह बढ्दै गएको डेटा पठाउँछ। यसपालि भने माथिल्लो क्षेत्रबाट अचानक ढुंगा, माटो र गेग्रानसहितको ठूलो बाढी आयो। बाढीको सतह रेकर्ड गर्न र पूर्वसूचनाको मेसेज पठाउनै नपाई स्टेसनलाई एकैचोटि 'वास आउट' (बगाउने काम) गर्यो।'
बुधबारको बाढीले रसुवागढी, स्याफ्रुबेसी र बेत्रावती जलमापन केन्द्रले डेटा संकलन नै गर्न नपाउँदै बगाएको महाशाखाको प्रतिवेदनमा उल्लेख छ।
विष्टका अनुसार फुर्केखोलामा रहेको स्टेसनले मात्र सुरूदेखि आफू नबग्दासम्मको विवरण पठाएको थियो।
महाशाखाको प्रतिवेदन अनुसार बेत्रावतीबाट मलेखुस्थित फुर्के जलमापन केन्द्रमा बाढी आइपुग्दा बिहान ११:२६ बजेको थियो। त्यतिखेर जलसतहको सतर्कता तह ७ मिटर थियो। ११:४० बजे जलसतहले खतरा तह ८ मिटर पार गर्यो। त्यसपछि फुर्केमा त्रिशूलीको उच्चतम तह १०.४८ मिटर पुगेर जलमापन केन्द्र नै बगाएको थियो।
'गेग्रान, ढुंगासहितका सामग्री माथि नै थिग्रिँदै पानी र लेदो मात्र बग्दै फुर्केसम्म आएकाले उसले आफू नबग्दासम्म बाढीबारे डेटा पठाउन पायो,' उनले भनिन्, 'माथि भने यस्तो हुन सकेन। हाम्रा जलमापन केन्द्रभन्दा पनि उच्च तहमा एक्कासि गेग्रानसहितको बाढी आएर बगाएकाले स्टेसनले बाढीको सूचना पठाउन नसकेको हुनुपर्छ।'
यसबारे विस्तृत रिपोर्ट आएपछि स्थिति अझ प्रस्ट हुने उनले बताइन्।
बाढी तल्लो क्षेत्रतर्फ बढ्दै गएपछि मात्र बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रहरूमा चेतावनीको सूचना पठाउन थालेको थियो। सरकारी प्राविधिक प्रतिवेदन अनुसार नेपाल टेलिकम र एनसेलमार्फत ६ लाख ७९ हजार २९५ वटा चेतावनी एसएमएस पठाइएका थिए।
जल तथा मौसम विज्ञान विभागले समयमै दिइएको उक्त चेतावनीका कारण तल्लो तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा जान मद्दत पुगेको जनाएको छ।