त्रिशूली नदीमा बुधबार बिहान आएको प्रलयकारी बाढीका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका १८५ जना मानिस अझै सम्पर्कविहीन छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोषसिंह राठौरका अनुसार सुरूमा सम्पर्कविहीन भनिएका २१६ जनामध्ये बिहीबार दिउँसो साढे २ बजेसम्म ३१ जना सम्पर्कमा आएका छन्। बाँकी १८५ जना भने अझै सम्पर्कमा आउन सकेका छैनन्।
प्रदेश प्रहरी कार्यालयको विवरण अनुसार सबभन्दा बढी जुम्लाका ७० जना सम्पर्कविहीन छन्। त्यसैगरी सल्यानका ४८ जना, सुर्खेतका १६ जना, मुगुका १३ जना, रुकुम पश्चिमका १२ जना, हुम्लाका ९ जना, दैलेखका ७ जना, कालिकोटका ६ जना तथा जाजरकोट र डोल्पाका २/२ जना बेपत्ता तथा सम्पर्कविहीन छन्।
एसएसपी राठौरका अनुसार सम्पर्कविहीन हुनेहरूमा पुरुषको संख्या सबभन्दा बढी छ। हालसम्म सम्पर्कमा नआएकाहरूमा १५३ जना पुरूष, २५ जना महिला, ४ जना बालक र ३ जना बालिका छन्।
कर्णालीका १० वटै जिल्लाका नागरिकहरू रोजगारी तथा कामको खोजीमा रसुवा, नुवाकोट र त्रिशूली क्षेत्रमा पुगेका थिए। विनाशकारी बाढीपछि उनीहरू बेपत्ता तथा सम्पर्कविहीन भएकाले खोजी गरिदिन भन्दै आफन्तहरूले प्रहरीमा आग्रह गरिरहेको एसएसपी राठौरले बताए।
सम्पर्कविहीन तथा बेपत्ता भएका नागरिकहरूको खोजी तथा तीव्र उद्धारका लागि केन्द्रीय प्रहरी कार्यालय एवं सम्बन्धित निकायहरूमा पत्राचार गरिसकिएको समेत राठौरले जानकारी दिएका छन्।