बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी-त्रिशूलीमा अझै पनि बाढीको जोखिम रहेको जनाएको छ।
चीनले परराष्ट्र मन्त्रालय हुँदै पठाएको पछिल्लो सूचना अनुसार बुधबार बिहान बाढी सिर्जना भएको ठाउँमा अझै पनि नदी थुनिएर ताल बनेको र त्यो ताल बढ्दै गएको देखिएको महाशाखाले जानकारी दिएको छ।
'चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचनाका साथै भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषण अनुसार भदौ १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको छ,' महाशाखाले आफ्नो फेसबुक पेजमा लेखेको छ, 'उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको उक्त सूचनामा उल्लेख छ।'
त्यसैले अर्को सूचना नआउँदासम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्दार कार्यमा खटिने उद्दारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ।
'नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ,' महाशाखाले भनेको छ।
ल्हेन्दे खोलामाथि २० लाख घनमिटर पानी जम्मा भएको चिनियाँ रिपोर्ट
चीनको जलस्रोत मन्त्रालयले ल्हेन्दे खोलाको हिमपहिरोका कारण ताल बनेको जनाएको छ।
नदीको माथिल्लो क्षेत्रमा बनेको तालमा बिहीबार बिहानसम्म २० लाख घनमिटर पानी जम्मा भएको र उक्त पानी तालबाट बाहिर जान सुरू गरेको चिनियाँ रिपोर्टमा उल्लेख छ।
साथै, आउँदो तीन दिनभित्र थप ३० लाख घनमिटर पानी जम्मा हुन सक्ने रिपोर्टमा जनाइएको छ।
चिनियाँ मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभानमा यस्तो ताल बनेको जनाएको छ।
ग्लोबल टाइम्सले उक्त तालका कारण तल्लो तटीय क्षेत्रमा थप जोखिमको अवस्था रहेको जनाएको छ।
मन्त्रालयले उक्त दोभानमा बनेको तालको निगरानी गरिरहेको र तालबाट उत्पन्न हुनसक्ने बाढीको खतराबारे 'मोडलिङ' समेत गरेको छ।
भदौ १० मा भोटेकोशी-त्रिशूली नदीको बाढीका कारण चीनतर्फ अहिलेसम्म ३ जनाको मृत्यु भएको छ। घटनामा ५५८ जना हराइरहेका छन्। तिनमा २६० जना विदेशी नागरिक समेत छन्।