फ्रान्स र सेनेगलले फिफा विश्वकप २०२६ मा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४ वर्षअघि को त्यो भिडन्त सम्झनै पर्नेहुन्छ। जतिबेला उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई उद्घाटन खेलमा सेनेगलले १–० को नतिजामा स्तब्ध पारेको थियो । यी दुई मंगलबार मध्यराति नेपाली समयअनुसार १२:४५ बजे समूह ‘आइ’को पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन् ।
स्पेनसँगै यसपाली उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको फ्रान्स आफ्नो मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पलाई राम्रो फेरवेल दिन चाहन्छ ।
डेस्च्याम्प अर्थात खेलाडी र मुख्य प्रशिक्षक दुबै भूमिकामा विश्वकप चुम्ने एक मात्र जीवित व्यक्ति। डेस्च्याम्पले विश्वकपपछि आफ्नो ‘हटसिट’ अर्का पूर्व कप्तान जिनेदिन जिदानलाई छड्दैछन् । त्यसैले अमेरिका विश्वकपमा उनीसँग सर्वकालिन महान प्रशिक्षक बन्ने अवसर हुनेछ ।
अमेरिकामा एक त डेस्च्याम्पलाई दोस्रो विश्वकप चुम्ने अवसर छ। अर्को उनले सबैभन्दा धेरै विश्वकप खेल जित्ने प्रशिक्षक बन्ने मौका पनि छ । यदि फ्रान्सले समूह चरणका तीनवटै खेलमा विजयी हासिल गर्ने हो भने डेस्च्याम्पले जर्मन प्रशिक्षक हेल्मुट शोनको १६ खेलको कीर्तिमानलाई भंग गर्नेछन् ।
छनोट प्रतियोगितामा फ्रान्सले मात्र दुई अंक गुमाएको थियो। फ्रान्सको यो लगातार आठौं विश्वकप सहभागिता हो। पछिल्ला सातमध्ये चार संस्करणमा टोलीले फाइनल खेलेको छ। २१औं शताब्दीकै सबैभन्दा धेरै विश्वकप फाइनल खेल्ने टोली हो फ्रान्स।
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा आइभोरी कोस्टसँग २–१ को पराजय बेहोरेपछि स्टार खेलाडीले भरिएको फ्रान्समाथि प्रश्न उठ्न सुरु भएको थियो । तर, अमेरिका प्रस्थान गर्नुअघि फ्रान्सले नर्दन आयरल्यान्डमाथि ३–१ को जित हासिल गर्दै आफूहरु यसपाली पनि विश्वकप जित्न तयार रहेको स्टेटमेन्ट दियो ।
सेनेगलले पनि छनोट प्रतियोगितामा एक खेल पनि हारेन । अमेरिका विश्वकप सेनेगलको लगातार तेस्रो अनुभव हो । सन् २०२२ मा टोलीले अन्तिम १६ सम्मको यात्रा गरेको थियो । रसिया २०१८ मा भने टोली समूह चरणबाटै बाहिरिएको थियो ।
दि लायन्स अफ टेरंगाका रुपमा परिचित सेनगेल अफ्रिकन कप अफ नेसन्स २०२१ को च्याम्पियन हो । अहिले त टोली अफ्रिकाकै सबैभन्दा बलियो टोलीमध्ये एक हो । टोलीले विश्वकपअघि पेरु र गाम्बियालाई हराउँदा अमेरिकासँग ३–२ ले पराजय बहोर्यो ।
अन्तिम वार्म अप खेलमा सेनेगलले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्यो । साउदी विरुद्ध सेनेगलले १७ खेलपछि पहिलोपटक बललाई जाली चुमाउन नसकेको हो । यद्यपि पछिल्ला सातमध्ये पाँच खेलमा सेनेगलले क्लिन सिट राखेको छ ।
मुख्य प्रशिक्षक पेप थियाह २४ वर्षअघि सेनेगलले फ्रान्सलाई हराउँदाका सदस्य थिए । तर, त्यतिबेला उनले प्लेइङ मिनेट्स भने पाएका थिएनन् ।
फ्रान्सका रक्षक विलियम सालिबा ढाडको चोटबाट मुक्त हुँदै पूर्ण प्रशिक्षणमा फर्किसकेका छन् । युल्स कुन्डे पनि ‘माइनर’ मांशपेशी समस्याका बावजुद फिट देखिएका छन् । गोलकिपर माइक मैगननले पनि प्रशिक्षकण सत्रको एक दिन गुमाएका थिए । अहिले उनी पनि पूर्ण रुपमा फिट रहेको बताइएको छ ।
स्टार खेलाडी तथा कप्तान किलियन एमबाप्पेले राष्ट्रिय टोलीबाट ५६ गोल गरेका छन् । दुई गोलपछि उनले अहिलेका उच्च गोलकर्ता ओलिभिय जिरुडलाई उछिन्नेछन् ।
सेनेगलको हकमा स्टार फरवार्ड साडियो माने पूर्ण रुपमा फिट छन् । मानेले इन्जुरीका कारण कतार विश्वकप गुमाएका थिए । असाने डियाओ, चेरिफ एनडियाये र इद्रिसा गुएयेलाई सामान्य फिटनेस समस्याहरु छन् । तर, उनीहरु खेलका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।
समूह ‘आइ’को अर्को खेलमा बुधबार बिहान नर्वे र इराक भिड्नेछन् ।