सन् २०२६ को फिफा विश्वकप इतिहासकै सबैभन्दा लामो प्रतियोगिता थियो, जहाँ १०४ खेलहरू खेलिए। तर स्पेनका फरवार्ड फेरान टोरेसका लागि यो प्रतीक्षा त्योभन्दा पनि लामो रह्यो।
उनले फाइनल खेलको १०६औँ मिनेटसम्म कुर्नुपर्यो, तर अन्ततः उनकै निर्णायक गोलले स्पेनलाई इतिहासमा दोस्रो पटक विश्व विजेता बनायो।
टोरेसले केप भर्डेविरुद्धको पहिलो खेलबाटै सुरुआत गरेका थिए, तर त्यो खेल निराशाजनक ०–० को बराबरीमा सकियो। त्यसपछिको साउदी अरेबियाविरुद्धको खेलमा उनले सुरुआती ११ मा आफ्नो स्थान गुमाए। स्पेनले सो खेल ४–० ले जित्यो, तर मैदान बाहिर रहेका टोरेसको अनुहारमा छटपटी प्रष्ट देखिन्थ्यो।
बेन्चबाट मैदान छिरेपछि उनले गरेको एउटा गोल अफसाइडका कारण रद्द हुँदा, उनले क्यामरामा हेर्दै ‘यो गोल भइदिए हुन्थ्यो’ भन्दै गरेको याचनाले उनको मानसिक दबाब झल्काउँथ्यो।
कुनै पनि स्ट्राइकरका लागि गोल रद्द हुनु सामान्य भए पनि टिमले ४–० ले जितिरहँदा टोरेसको त्यो छटपटीले उनी लय समात्न कति संघर्ष गरिरहेका छन् भन्ने देखाउँथ्यो। उनले आफ्नो सुरुआती स्थान सधैँका लागि गुमाएका थिए र मैदान छिर्दा पनि अन्य साथीहरूको जस्तो लय उनमा देखिएको
तर टोरेसले हिम्मत हारेनन्। फाइनलको त्यो ऐतिहासिक गोलबाहेक उनले पोर्चुगलविरुद्धको निकै कठिन खेलमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए। खेल अतिरिक्त समयतर्फ जाँदै गर्दा टोरेसकै पासमा मिकेल मेरिनोले गोल गरेर स्पेनलाई क्वार्टरफाइनलको टिकट दिलाएका थिए।
उपाधि जितेपछि खुसी हुँदै टोरेसले भने, ‘अहिले मलाई गोलको मतलब छैन, म मात्र यो विश्वकपको ट्रफीलाई जोडले अँगालो हाल्न चाहन्छु। यो मैदानमा रहेका हामी मात्र होइन, ४ करोड ७० लाख स्पेनिस जनताको सपना हो।’
आफ्नो कठिन समय सम्झिँदै उनले थपे, ‘अन्ततः यो एउटा ठूलो राहत हो। यो विश्वकपभरि मैले धेरै आलोचना खेपेँ, तर मलाई विश्वास छ कि भाग्य पहिले नै लेखिएको हुन्छ। भगवानले मलाई सधैँ शक्ति दिनुभयो र उहाँले योग्य व्यक्तिलाई नै सफलता दिनुहुन्छ। यो एउटा म्याराथन जस्तै हो, जहाँ जस्तोसुकै परिस्थिति आए पनि निरन्तर मेहनत गरिरहनुपर्छ।’
विश्वकप फाइनलमा निर्णायक गोल गर्ने टोरेस अब आन्द्रेस इनीएष्टापछिको दोस्रो स्पेनिस खेलाडी बनेका छन्। टोरेस सायद प्राविधिक रूपमा सबैभन्दा उत्कृष्ट खेलाडी नहोलान्, तर उनी हार नमान्ने र सही समयमा सही ठाउँमा पुग्न सक्ने खुबी भएका खेलाडी हुन्।
मेसी जस्ता खेलाडी विपक्षी टोलीमा हुँदा सधैँ डर हुने भए पनि स्पेनले आफ्नो शैली र फुटबल दर्शन नछाडेका कारण सफल भएको टोरेसको भनाइ छ। हार नमान्ने उनको यही स्वभावले उनलाई आज विश्व फुटबलको शिखरमा पुर्याएको छ।