दुई वर्षअघि भएको युरो कप च्याम्पियन बनेको स्पेनले आइतबार अमेरिकाको न्यु जर्सीमा अर्जेन्टिनालाई १–० ले हराउँदै विश्वकपको उपाधि पनि चुमेको छ। स्पेनले यसअघि सन् २००८ मा युरो र २०१० मा विश्वकप जित्दै यस्तै सफलता हात पारेको थियो।
स्पेनको यो सफलताले पुरुष र महिला दुवै फुटबलमा उसको असाधारण वर्चस्व प्रमाणित गरेको छ।
स्पेन इतिहासमै यस्तो पहिलो राष्ट्र बनेको छ, जो एकै समयमा पुरुष र महिला दुवै फुटबलको विश्व च्याम्पियन हो। स्पेनको महिला टोलीले सन् २०२३ मा अस्ट्रेलियाको सिड्नीमा इंग्ल्याण्डलाई हराउँदै विश्वकप जितेको थियो।
यति मात्र होइन, स्पेनका पुरुषले सन् २०२३ मा नेसन्स लिग र २०२४ मा ओलम्पिक स्वर्ण जितेका छन् भने महिला टोलीले २०२४ र २०२५ को नेसन्स लिग जितेर आफ्नो शक्ति प्रदर्शन गरेका छन्।
पछिल्लो पाँच वर्षमा स्पेनले १७ वर्ष मुनिको उमेर समूहदेखि सिनियर टोली सम्म गरी कुल १६ वटा विश्व र युरोपेली उपाधि जितेको छ।
स्पेनको 'ट्रफी' (२०२२–२०२६)
महिला फुटबल (११ उपाधि):
• सिनियर: १ विश्वकप (२०२३), २ नेसन्स लिग (२०२४, २०२५)।
• यू–२०: १ विश्वकप (२०२२)।
• यू–१९: ५ पटक युरोपेली च्याम्पियन (२०२२, २०२३, २०२४, २०२५, २०२६)।
• यू–१७: १ विश्वकप (२०२२), १ युरोपेली च्याम्पियन (२०२४)।
पुरुष फुटबल (५ उपाधि):
• सिनियर: १ विश्वकप (२०२६), १ युरोपेली च्याम्पियन (२०२४), १ नेसन्स लिग (२०२३)।
• यू–२३: १ ओलम्पिक स्वर्ण (२०२४)।
• यू–१९: १ युरोपेली च्याम्पियन (२०२६)।
डिसेम्बर २०२२ मा लुइस दे ला फुएन्तेलाई मुख्य प्रशिक्षक नियुक्त गर्दा धेरैले उनीबाट यति छोटो समयमा यति धेरै सफलताको आशा गरेका थिएनन्। कुनै ठूलो क्लब सम्हालेको अनुभव नभएकाले उनलाई प्रशिक्षक बनाउनु 'जोखिमपूर्ण' मानिएको थियो।
तर, फुएन्तेले स्पेनको युवा टोली (एकेडेमी) बाटै यी खेलाडीहरूलाई चिनेका थिए। उनले टोलीमा सम्मान, धैर्य र शान्तिको संस्कार विकास गरे। उनी भन्छन्, ‘मेरो टोली कहिल्यै थाक्दैन, हाम्रो लागि अबको लक्ष्य सेप्टेम्बरमा हुने अर्को खेल जित्नु हो।’
पछिल्लो १० वर्षमा स्पेनमा महिला फुटबलको अवस्थामा नाटकीय परिवर्तन आएको छ। पूर्व खेलाडी मारिया गारिडोका अनुसार, १० वर्षअघि महिलाहरूले आफ्नै खर्चमा यात्रा गर्नुपथ्र्यो र अभ्यासका लागि पैसा पाइँदैनथ्यो। तर अहिले बार्सिलोनाको 'ला मासिया' जस्ता विश्वप्रसिद्ध एकेडेमीमा केटीहरूका लागि पनि विशेष सुविधाहरू छन्, जसले गर्दा स्पेन अहिले विश्वको नम्बर १ बनेको छ।
स्पेनको भविष्य पनि निकै उज्ज्वल देखिन्छ। १९ वर्षका लामिन यामल र पाउ कुबार्सी जस्ता युवा प्रतिभाहरूले विश्वकपको फाइनलमा सँगै खेलेर इतिहास रचेका छन्। एकै विश्वकप फाइनलमा दुई जना किशोर खेलाडीलाई मैदान उतार्ने स्पेन पहिलो टिम बन्यो।
फ्रान्सेली लेजेन्ड थियरी हेनरी भन्छन्, ‘स्पनको प्रणालीलाई सलाम छ। उनीहरूले हरेक स्तरमा जित्न थालेका छन् र यो दबदबा अझै धेरै वर्षसम्म कायम रहने देखिन्छ।’