म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी जिदान इकबालले मंगलबार इराकका लागि नर्वेविरूद्ध मैदानमा उत्रिए पुरुष विश्वकपको इतिहास रच्नेछन्। तर उनले प्रतिनिधित्व गरिरहेको देश इराकका लागि मात्र नभई यो क्षण पाकिस्तानका प्रशंसकका लागि पनि निकै स्मरणीय हुनेछ।
२४ करोडभन्दा बढी जनसंख्या भएको पाकिस्तानले अहिलेसम्म विश्वकपमा कहिल्यै सहभागिता जनाउन सकेको छैन। पाकिस्तानले आफ्नो फुटबल इतिहासमा एउटा मात्र छनोट खेल जितेको छ।
फिफा वरियतामा १९८औं स्थानमा रहेको यो दक्षिण एसियाली राष्ट्र फुटबलमा सबैभन्दा खराब प्रदर्शन गर्ने राष्ट्रमध्ये पर्छ। पाकिस्तानीले अहिलेसम्म ठूलो मञ्चमा आफ्नो प्रतिनिधित्व गर्ने कुनै पनि खेलाडीलाई हौसला दिन पाएका छैनन्।
तर अब समय फेरिएको छ।
पूर्व म्यानचेस्टर युनाइटेड मिडफिल्डर जिदान इकबालले इराकको प्रतिनिधित्व गर्दै पुरुष विश्वकपमा खेल्ने पाकिस्तानी मूलका पहिलो खेलाडी बन्ने तयारीमा छन्।
उनले यसबारे थाहा पाउँदा आफू 'आश्चर्यचकित' भएको बताए। तर, आफ्नो विरासतमाथि उनलाई गर्व छ।
बिबिसी स्पोर्टसँग कुरा गर्दै उनले भने, 'इमानदारीका साथ भन्नुपर्दा मलाई यो आफैंलाई थाहा थिएन। मैले यो जानकारी पोस्ट गर्ने अकाउन्टलाई फलो गरें र तुरुन्तै बुबालाई पठाएँ। मलाई लाग्छ हामी दुवै आश्चर्यचकित भयौं। जब म इराकबाट विश्वकपका लागि छनोट हुने प्रयास गर्दै थिएँ, मैले यस्तो केही सोचेको थिइनँ।'
उनले थपे, 'मेरा बुबा पाकिस्तानी हुन्। मेरो जीवनमा मैले सबैभन्दा धेरै सम्मान गर्ने व्यक्ति बुबा जसले मलाई मेरो करियरमा धेरै मद्दत गर्नुभयो। म इराकका लागि खेल्छु। इङ्गल्याण्डमा हुर्किएँ, तर मेरा बुबा पाकिस्तानमा जन्मनुभएको थियो। मेरा हजुरबुबा त्यहाँ पहिलो पुस्ता हुनुहुन्थ्यो, त्यसैले मलाई मेरो परिवारक त्यो पक्षप्रति धेरै सम्मान छ।'
म्यानचेस्टरमा जन्मे हुर्केका इकबालका बुबा पाकिस्तानी र आमा इराकी हुन्। २३ वर्षीय प्रतिभाशाली मिडफिल्डरले दुवै राष्ट्रको प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस गर्छन् र मैदानमा उत्रिँदा आफ्नो
जुत्तामा दुवै देशको झण्डा लगाएर यो कुरा देखाउँछन्।
उनको पारिवारिक पृष्ठभूमिलाई देखाउने जुत्ता किन लगाउँछन् भनी सोधिएको प्रश्नमा उनले आफ्नो परिवारको दुवै पक्षप्रति 'सम्मान' व्यक्त गरे।
'म मेरो बायाँ खुट्टामा इराकी झण्डा र दाहिने खुट्टामा पाकिस्तानी झण्डा लगाउँछु,' उनले भने, 'मलाई लाग्छ, यो दुवै पक्षलाई सम्मान गरेको कारणले हो। जब मानिसहरूले मलाई कुन देशसँग बढी जोडिएको महसुस गर्छु भनेर सोध्छन्, म जवाफ दिन सक्दिनँ। मेरो लागि, ती दुवै बराबर हुन्। यो सम्मानको कुरा हो र यसलाई म धेरै गर्वका साथ बोक्छु। आशा छ मैले कुनै पनि पृष्ठभूमिका बच्चाहरूलाई प्रेरणा दिनेछु'

इकबालको यो पृष्ठभूमि सम्बन्धी पहिलो उपलब्धि भने होइन। म्यानचेस्टर युनाइटेडको एकेडेमीबाट आएका खेलाडीका रूपमा चिनिएका उनले लगभग २० वर्षपछि च्याम्पियन्स लिग खेल्ने पहिलो बेलायती दक्षिण एसियाली खेलाडी बनेका थिए।
इराकका अन्तर्राष्ट्रिय खेलाडीले आफ्नो कथाले नयाँ पुस्तालाई प्रेरणा दिन सक्ने आशा राखेका छन्।
'म अझै युव छु, तर म विश्वकप खेल्ने पहिलो पाकिस्तानी खेलाडी बन्नेछु, त्यसैले आशा छ कि फुटबलर बन्न चाहने केही बच्चहरूले यसलाई हेर्नेछन् र उनीहरूले पनि यो गर्न सक्छन् भन्ने विश्वास गर्नेछन्, किनकि फुटबल एउटा कठिन यात्रा हो,' उनले भने।
'मलाई लाग्छ, यदि तपाईंले कुनै पनि व्यवसायिक खेलाडीलाई सोध्नुभयो भने यो सजिलो छैन र सबैका लागि उतारचढाव हुन्छ। धेरै प्रतिबद्धता र कडा परिश्रम आवश्यक छ। त्यसैले आशा छ जब बच्चाहरूले व्यवसायिक फुटबलर बन्न खोज्ने मानिसहरूलाई वा मलाई हेर्छन्, उनीहरूले दक्षिण एसियाली मूलका वा कुनै पनि मूलका मानिसहरूले कुनै पनि पृष्ठभूमि, कुनै पनि क्षेत्र, जहाँबाट भए पनि, कुनै पनि धर्मबाट भए पनि यो गर्न सक्छन् भन्ने देख्नेछन्। आशा छ, उनीहरूले यो देख्नेछन् र यसले उनीहरूलाई प्रेरणा दिनेछ।'
पाकिस्तानमा फुटबलको विकास र विश्वभरका पाकिस्तानी मूलका खेलाडीहरूको प्रदर्शनलाई उजागर गर्ने 'पाकिस्तानी ट्यालेन्ट्स' नामक सामाजिक सञ्जाल अकाउन्ट चलाउने अहमद शाहजादले विश्वकपमा पाकिस्तानका धेरै फुटबल प्रशंसकले इकबाल र इराकलाई कसरी समर्थन गर्नेछन् भन्ने बारेमा जानकारी दिए।
शाहजादले बिबिसी स्पोर्टसँग भने, 'हरेक पाकिस्तानी फुटबल प्रशंसक जिदान इकबालबारे जान्दछन्। ऐतिहासिक रूपमा फुटबलको उच्च स्तरमा, विशेष गरी विश्वकप जस्तो विश्वव्यापी मञ्चमा पाकिस्तानी प्रतिनिधित्व धेरै कम छ। र यो धेरै युवा पाकिस्तानीहरूका लागि, स्थानीय र प्रवासीहरू – बेलायती पाकिस्तानीहरू – दुवैका लागि ठूलो प्रेरणा हो। जिदान इकबालले उच्चतम स्तरमा प्रतिस्पर्धा गर्दा आफ्नो पहिचानलाई खुला रूपमा अँगालेको देख्दा फुटबल पाकिस्तानी पृष्ठभूमिका हामी फुटबल खेल्ने र फुटबलमा सफल हुन चाहनेहरूका लागि धेरै बढी विश्वासयोग्य लाग्छ।'
'मैले धेरै मानिसहरूलाई भनिरहेको सुनेको छु कि पाकिस्तानले अब विश्वकपमा समर्थन गर्ने राष्ट्र पाएको छ, र उनीहरूले जिदान इकबाललाई मात्र मर्थन गर्ने छैनन्, उनीहरूले इराकलाई प्रतियोगितामा जहाँसम्म जान सक्छ, त्यहाँसम्म समर्थन गर्नेछन्।'
इराकको ४० वर्षको विश्वकप प्रतीक्षा
इराकले प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्न २१ खेलको थकाउने छनोट यात्रा पार गर्यो। जुन कुनै पनि राष्ट्रका लागि सबैभन्दा धेरै खेल हो। यसमा धेरै फरक राउन्ड र प्ले-अफहरू समावेश थिए।
यो उपलब्धि ४० वर्षपछि एसियाली देशका लागि बहुप्रतीक्षित थियो। यसअघि उनीहरूको एक मात्र उपस्थिति ४० वर्षअघि मेक्सिको १९८६ मा थियो, जहाँ उनीहरू आफ्नो समूहमा पुछारमा रहेका थिए र एउटा मात्र गोल गरेका थिए।
यदि उनीहरू समूह चरणबाट बाहिरिए पनि इकबाल विश्वास गर्छन् कि उनको देशले 'विश्वलाई चकित पार्नेछ,' किनकि उनीहरू दुई पटकका विजेता फ्रान् र अर्लिङ हालान्डको नेतृत्वमा रहेको नर्वे र अफ्रिका कप अफ नेसन्सका फाइनलमा पुगेको सेनेगलसँग भिड्नेछन्।
इकबालले भने, 'मलाई लाग्छ, हामीसँग एक स्वतन्त्र मौका छ। हामी त्यहाँ जाँदैछौं ४० वर्षपछि यो हाम्रो पहिलो विश्वकप हो। अनौठो कुरा, त्यो १९८६ को विश्वकप मेक्सिकोमा थियो, र अब यो विश्वकप पनि मेक्सिकोमा छ। मलाई लाग्छ, त्यो पनि सुन्दर छ।'
'तर हाम्रो लागि, मलाई लाग्छ, हामी त्यहाँ कुनै दबाब बिना जाँदैछौं। हामी कमजोर छौं। मलाई लाग्छ, यदि हामी हार्छौं भने मानिसहरूले हामी हार्नेछौं भन्ने आशा गर्छन्। यदि हामी जित्छौं भने, हामी विश्वलाई चकित पार्नेछौं। पक्कै पनिहामी सबै कडा परिश्रम गर्नेछौं। मलाई लाग्छ, हामी सबै उत्साहित छौं र जब तपाईं उत्साहित हुनुहुन्छ र कडा परिश्रम गर्नुहुन्छ, फुटबलमा जे पनि हुन सक्छ। त्यसैले, के हुन्छ, हेरौं।'