फिफा विश्वकप २०२६ मा सहभागी ४८ राष्ट्रहरूमध्ये १६ वटा यस्ता देशहरू छन्, जो कम्तीमा एक प्रतियोगिताको अन्तरालपछि विश्वकपमा फर्किएका छन्।
यी देशहरूले वर्षौंदेखि विश्वकपमा गोल गर्न सकेका थिएनन्। अब उनीहरूयस पटक आफ्नो गोलको खडेरी समाप्त गरेका छन्।
१. स्विडेन – २,९०३ दिनपछि गोल
सन् २०१८ को विश्वकपमा स्विडेन क्वार्टरफाइनलसम्म पुगेको थियो, जहाँ एमिल फोर्सवर्गले अन्तिम गोल गरेका थिए। त्यसको झण्डै ८ वर्षपछि मेक्सिकोको मोन्टेरेमा ट्युनिसियाविरुद्धको ५-१ को जितमा यासिन आयारीले गोल गर्दै स्विडेनको गोलको खडेरी तोडे।
२. इजिप्ट – २,९१२ दिनपछि
सन् २०१८ मा मोहम्मद सलाहले साउदी अरबविरुद्ध गोल गरेपछि इजिप्ट विश्वकपमा गोलविहीन थियो। यस पटक बेल्जियमविरुद्धको खेलमा इमाम आसुरले उत्कृष्ट गोल गर्दै टोलीलाई १-१ को बराबरीमा ल्याए र ३६ वर्षपछि इजिप्टलाई विश्वकपमा पहिलो अंक दिलाए।
३. बोस्निया र हर्जगोभिना – ४,३७० दिनपछि
सन् २०१४ को विश्वकपमा इरानविरुद्ध अन्तिम गोल गरेको बोस्नियाले यस पटक क्यानडाविरुद्धको खेलमा जोभो लुकिचको हेडरमार्फत गोल गर्दै करिब १२ वर्षपछिको खडेरी समाप्त गर्यो।
४. आइभोरी कोस्ट – ४,३७३ दिनपछि
सन् २०१४ मा ग्रिससँग पराजित हुँदा विल्फ्रेड बोनीले गोल गरेका थिए। त्यसपछि तीनवटा विश्वकप गुमाएको आइभोरी कोस्टका लागि यस पटक अमाद डियालोले इक्वेडरविरुद्ध निर्णायक गोल गर्दै गोलको खडेरी तोडे।
५. पाराग्वे – ५,८३६ दिनपछि
सन् २०१० मा स्लोभाकियाविरुद्ध गोल गरेपछि पाराग्वेले विश्वकपमा गोल गर्न सकेको थिएन। १६ वर्षको लामो पर्खाइपछि अमेरिकाविरुद्धको ४-१ को हारमा माउरिसियोले सान्त्वना गोल गर्दै टोलीको खाता खोले।
६. न्युजिल्याण्ड – ५,८३९ दिनपछि
सन् २०१० मा इटालीविरुद्ध ऐतिहासिक गोल गरेको न्युजिल्याण्ड १६ वर्षपछि विश्वकपमा फर्कियो। इरानसँगको २-२ को रोमाञ्चक बराबरीमा एलिजा जस्टले गोल गर्दै लामो समयपछिको खडेरी तोडे।
७. चेक गणतन्त्र – ७,३०४ दिनपछि
सन् २००६ मा टोमास रोसिक्कीले गोल गरेयता चेक विश्वकपमा गोलविहीन थियो। झण्डै २० वर्षपछि लाडिस्लाभ क्रेजीले दक्षिण कोरियाविरुद्ध गोल गर्दै यो लामो पर्खाइ अन्त्य गरे।
८. स्कटल्याण्ड – १०,२२४ दिनपछि
स्कटल्याण्डका लागि यो सबैभन्दा लामो पर्खाइ थियो। सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलिरहेको स्कटल्याण्डले २८ वर्षपछि गोल गर्यो। हाइटीविरुद्धको १-० को जितमा जोन म्यागिनले गोल गर्दा स्कटिस समर्थकहरू खुसीले झुमेका थिए।