फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा फ्रान्सले अफ्रिकी राष्ट्र सेनेगलमाथि ३-१ को सानदार जित दर्ता गर्दै सुखद सुरुवात गरेको छ।
अमेरिकाको न्यु जर्सीमा भएको समूह ‘आई’ यस रोमाञ्चक खेलमा कप्तान केलियन एमबाप्पेले कीर्तिमानी दुई गोल गरे। दुई गोलसँगै उनले फ्रान्सको फुटबल इतिहासमा नयाँ कीर्तिमान समेत कायम गरे।
यो खेल एमबाप्पेका लागि निकै विशेष रह्यो। खेलको ६६ औं मिनेटमा पहिलो गोल गर्दै उनले ओलिभर जिरुडको ५७ गोलको रेकर्ड बराबरी गरेका थिए।
खेलको इन्जुरी समय (९०+६ मिनेट) मा बक्स बाहिरबाट उत्कृष्ट लामो प्रहार गर्दै दोस्रो गोल गरेपछि उनी फ्रान्सका लागि अहिलेसम्मकै सर्वाधिक गोल गर्ने खेलाडी (५८ गोल) बने।
खेलको पहिलो हाफमा सेनेगलले फ्रान्सलाई कडा टक्कर दिएको थियो। सेनेगलका निकोलस ज्याक्सनले गोल गर्ने राम्रो अवसर पाए पनि सफल हुन सकेनन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्स निकै आक्रामक देखियो।
६६ औं मिनेटमा माइकल ओलिसेको पासमा एम्बाप्पले कम गोल प्रहार गर्दै फ्रान्सलाई १-० को अग्रता दिलाए। ८२ मिनेटमा बार्कोलाले फ्रान्सको अग्रता दोब्बर पारेका थिए।
इन्जुरी समयको चौथो मिनेटमा सेनेगलका इब्राहिम एमबायेले गोल फर्काएको एक मिनेटपछि एमबाप्पेले ऐतिहासिक गोल गर्दा फ्रान्स ३-१ ले विजयी भयो।
