चार पटकको विश्व विजेता इटाली पछिल्लो तीन संस्करणमा विश्वकपमा छनोट हुन सकिरहेको छैन।
यसको विभिन्न कारणहरू छन्।
पहिला विश्वको सबैभन्दा चर्चित फुटबल लिगमा इटालीको लिग पर्थ्यो।
इटालियन लिगका एसी मिलान, इन्टर मिलान, युभेन्टसमा जस्ता क्लबमा एकदमै राम्रा खेलाडी हुन्थे। विश्वका सबैभन्दा राम्रा खेलाडीको रोजाइ इटालियन लिग हुन्थ्यो।
म्यारोडोनाले पनि इटालियन लिग नै खेलेका थिए। सुरुमा बार्सिलोना एक वर्ष खेलेर इटालीको नेपोली गएका हुन्।
पछिल्लो समयमा इटालीको लिग कमजोर भएको छ। इटालीको सबैभन्दा सफल क्लब युभेन्टस म्याच फिक्सिङमा परेर रेलिगेसन नै भयो। त्यो पनि अर्को कारण हो।
भर्खरै न्युयोर्कर पत्रिकामा एउटा आर्टिकल आएको थियो। पत्रिकाले इमिग्रेसनको कुरा उठाएको थियो। सन् २००६ को विश्वकपमा फ्रान्सका जिदानले टाउकोले इटालीका मटराजीलाई ढलाए अनि रेड कार्ड पाए। त्यसपछि पेनाल्टीमा इटालीले विश्वकप जित्यो।
त्यसपछि फ्रान्स बलियो बन्दै गयो तर इटाली कमजोर हुँदै गयो। फ्रान्सले त २०१८ मा उपाधि जित्यो २०२२ मा फाइनलमा हार्यो।
अहिले पनि सबैभन्दा बलियो टोली फ्रान्स छ। तर इटाली २०१० र २०१४ मा पहिलो चरणबाटै आउट भयो। २०२१ मा भएको युरो कप जिते पनि इटाली पहिलाभन्दा अहिले धेरै नै कमजोर छ।
सन् २०१८, २०२२ र २०२६ गरी लगातार तीन पटक छनोट नै हुन सकेन इटाली। यसमा लिग कमजोर हुनु कारण त हो। तर मुख्य कारण इमिग्रेसन हो।
फ्रान्सले पहिलो वर्ल्ड कप जित्दा नै सबैले चिनेको खेलाडी जिनेदिन जिदान थिए। जिदान अल्जेरियन मुलका खेलाडी हुन्। त्यो टोलीमा मार्सेल देसाईदेखि लिएर लिलियन थुराम, थियरी हेनरी, अनि प्याट्रिक भियरा सहित धेरै अश्वेत मुलका खेलाडी थिए।
अघि राति सेनेगलसँग भएको पहिलो फ्रान्सको खेलमा मिडफिल्डर एड्रियन र्याबियो र लेफ्ट ब्याक थियो हर्नान्डेज बाहेक बाँकी नौ जना खेलाडी अस्वेत थिए। इटालीका भने सबैजना गोरा खेलाडी छन्।
अहिलेको टोलीमा पनि एकाधबाहेक सबै गोरा खेलाडीहरु छन्। मोइजे किनको पनि बुबाआमा आइभरी कोस्टका हुन्। तर उनीहरू किन जन्मिनुभन्दा अगाडी नै नागरिक भइसकेका थिए। नागरिकको छोरा भएकाले नागरिकता पाउनलाई उनलाई केही पनि गाह्रो भएन।
नागरिकताका लागि इटालीले एकदमै कडा मापदण्ड राखेकाले आप्रवासीका छोराछोरी राष्ट्रिय टोलीबाट खेल्न पाउँदैनन्।
त्यसैले एकातर्फ आप्रवासीलाई खुला हृदयले स्वीकार गर्ने फ्रान्स पछिल्ला वर्षमा फुटबलको महाशक्ति भएको छ। कडाइ गर्ने इटाली कमजोर हुँदै गएको छ। ४८ टोली समावेश भएको जारी विश्वकपमा समेत छनौट हुन सकेन।
भिडिओ —