पहिलो चरणमा सबैले बराबरीको नतिजा आत्मसात गरेका कारण समूह ‘बी’ अहिले सन्तुलित छ। क्यानडा, कतार, स्विट्जरल्यान्ड र बोस्निया एन्ड हर्जोगोभिना सबैको समान एक अंक छ।
सबैलाई थाहा छ दोस्रो चरणका खेलमा जित हासिल गरे आफू नकआउट चरणको लागि छनोटको संघारमा पुग्न सकिन्छ भन्ने।
क्यानडा भर्सेस कतार
नेपाली समयअनुसार शुक्रबार बिहान ३ः४५ भ्यानकोभरस्थित बिसी प्लेसमा कतारसँग खेलिरहँदा सह–आयोजक क्यानडा ऐतिहासिक पहिलो जितको लक्ष्यमा हुनेछ। उच्च अपेक्षाहरुका बावजुद क्यानडाले आफ्नो पहिलो खेलमा बोस्नियासँग संघर्ष गर्यो।
जेसी मार्शको नेतृत्वमा रहेको क्यानडा खेलअवधिभर नर्भस देखिन्थ्यो। फाइनल थर्डमा शार्पनेशको कमी थियो। अन्त्यमा निर्धरित समय सकिन १४ मिनेट बाँकी छँदा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका स्ट्राइकर काइल लारिनको गोलमा क्यानडाले विश्वकप इतिहासमै आफ्नो पहिलो अंक जोड्यो।
त्यसअघि जोभो लुकिकको गोलमा बोस्नियाले २१औं मिनेटमा अग्रता लिएको थियो। यो सबैभन्दा धेरै चिन्ताको विषय थियो। किनभने विपक्षीबाट सुरुमा गोल खाने क्रमले फेरि पनि निरन्तरता पायो। सातमध्ये ६ खेलमा क्यानडाले सुरुमा गोल खाएको छ।
कतारसँग खेल्नुअघि कप्तान अल्फन्सो डेभिजको फिटनेश फेरि एकपटक चर्चाको विषय बनेको छ। बार्यन म्युनिखका स्टार खेलाडीले ह्यामस्ट्रिङ समस्याका कारण बोस्नियासँगको खेल गुमाएका थिए। कतारविरुद्ध डेभिजको उपस्थिति हुने हो भने क्यानडाको ‘अट्याकिङ थ्रेट’मा बल पुग्नेछ।
सन् २०२२ मा यी दुईले पछिल्लोपटक एकअर्कासँग खेलेका थिए। अस्ट्रियामा सम्पन्न मैत्रीपूर्णं खेलमा क्यानडा २–० ले विजयी भएको थियो। क्यानडाले पछिल्लो भेटबाट आफ्नो आत्मविश्वास बढाउन सक्छ।
वर्तमान टोलीबाट डेभिज, म्याक्सिम क्रेपाउ, रिची लारिया, डेरिक कर्नेलियस र जेडेन नेल्सन बिसी प्लेसका बारेमा जानकार छन्। सबैले युथ÷सिनियर लेभलमा भानकोभर ह्वाइटक्याप्सको प्रतिनिधित्व गरेका थिए।
कतार भने स्विट्जरल्यान्डविरुद्ध नाटकीय बराबरी खेल्दै भ्यानकोभर प्रस्थान गर्दैछ। युलियन लापोटेगीको नेतृत्वमा रहेको कतार खेलअवधिभर लो ब्लकमा खेलेको थियो।
अन्त्यमा होमाम एल अमिनको क्रसलाई सदुपयोग गर्दै सेन्टरब्याक तथा कप्तान बोआलेम खुखीले हेडरमार्फत ९०+(४’) मिनेटमा बललाई जाली चुमाए। गोल अनि फाइनल ह्विस्सलपछि युलियन लापोटिगेको नेतृत्वमा रहेको कतारको ‘सेलिब्रेस’ हेर्नलायक थियो।
एसियन च्याम्पियन कतारले पछिल्ला सात खेलमा जित हासिल गर्न सकेको छैन। यी खेलहरुमा कतारले एक गोलभन्दा बढी गर्न सकेको छैन। तर, स्विट्जरल्यान्डविरुद्ध जुन किसिमको दृढ संकल्प कतारले देखायो। त्यो कम आकलन गर्न मिल्दैन।
स्विट्जरल्यान्ड भर्सेस बोस्निया
क्यानडाविरुद्धको प्रदर्शनले बोस्नियालाई आगामी यात्राका लागि उर्जा दिएको छ। टोलीले अनुशासित खेल प्रदर्शन गरेको थियो। यद्यपि बोस्नियाले सोचेजस्तो अन्त्य पाएन। पहिलो खेलमै बाक्लो समर्थकको साथ रहेको सह–आयोजकविरुद्ध बराबरी खेल्नु पनि बोस्नियाका लागि ठूलो उपलब्धि हो।
बोस्निया पछिल्ला ९ खेलमा अपराजित छ। यद्यपि निर्धारित समयको मात्र कुरा गर्ने हो भने ९ मध्ये ६ खेल बराबरीमा सकिएको छ। स्विट्जरल्यान्डका लागि यो चिन्ताको विषय हो।
कतारअघि अस्ट्रेलियाविरुद्धको मैत्रीपूर्ण खेलमा पनि स्विट्जरल्यान्डले १–१ को बराबरी खेलेको थियो। नेपाली समयअनुसार बिहीबार मध्यराति १२ः४५ हुने खेलमा स्विट्जरल्यान्ड पक्कै पनि यो लयलाई तोड्न चाहन्छ।
उता कतार र क्यानडा ऐतिहासिक पहिलो जितको खोजीमा हुँदासमूह ‘बी’का दोस्रो चरणका खेलहरु नाटकीय रहने पक्का पक्की छ।