अर्जेन्टाइन सुपरस्टार लिओनल मेसीका पिता हाल स्वास्थ्य समस्याका कारण उपचाररत रहेको मेसीको परिवारले बिहीबार एक विज्ञप्ति मार्फत जानकारी दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘अहिले उहाँ चिकित्सकको निगरानीमा हुनुहुन्छ। उहाँको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको छ र अवस्था सकारात्मक छ।’
यसै साता भएको विश्वकपको पहिलो खेलमा अल्जेरिया विरुद्ध ३-० को जित निकाल्ने क्रममा पहिलो गोल गरेपछि मेसी भावुक हुँदै रोएका थिए। ३८ वर्षीय कप्तान मेसीले उक्त खेलमा ह्याट्रिक पूरा गरे। यससँगै उनले विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने मिरोस्लाभ क्लोजको कीर्तिमान (१६ गोल) सँग बराबरी समेत गरेका छन्।
खेलपछि मेसीले आफ्नो भावुकताको कारण खुलाउँदै भनेका थिए, ‘म किन रोएँ? यो पूर्ण रूपमा फुटबलभन्दा बाहिरको कुरा थियो। म केही कठिन दिनहरूबाट गुज्रिरहेको थिएँ। तर म मेरा साथीहरू र सम्पूर्ण टोलीप्रति आभारी छु, जसले मलाई यो अवस्थाबाट बाहिर निस्कन हिम्मत र साथ दिए।’
मेसीका पिता जोर्गे मेस्सीको स्वास्थ्यलाई लिएर सामाजिक सञ्जाल र मिडियामा चलेका विभिन्न अड्कलबाजीहरूप्रति परिवारले दुःख व्यक्त गरेको छ।
परिवारले भनेको छ, ‘केही मानिसहरूले हाम्रो पारिवारिक र निजी मामिलामा देखाएको असंवेदनशीलता र सम्मानको कमीले हामीलाई दुःखी बनाएको छ। जोर्गेको स्वास्थ्यबारे केवल परिवारका नजिकका सदस्यहरूसँग मात्र सही जानकारी छ। त्यसैले परिवारका आधिकारिक माध्यमबाहेक अन्य कतैबाट आएका समाचारलाई विश्वास नगर्नुहोला।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यस्तो समयमा हामी जिम्मेवारी र मानवताको अपेक्षा गर्दछौँ। कसैको स्वास्थ्य र परिवारको शान्तिलाई मिडियाको मसला वा अनावश्यक चर्चाको विषय बनाइनु हुँदैन। हामीलाई प्राप्त सद्भाव र मायाका लागि धन्यवाद दिँदै यो प्रक्रियामा हाम्रो गोपनीयताको सम्मान गरिदिन आग्रह गर्दछौँ।’
विश्वकपमा अर्जेन्टिनाले अब आफ्नो दोस्रो खेल सोमबार, जुन २२ मा अस्ट्रिया विरुद्ध खेल्नेछ। त्यस्तै समूह चरणको अन्तिम खेल आइतबार, जुन २८ मा जोर्डन विरुद्ध हुनेछ।