मोरक्कोका राष्ट्रिय फुटबल टोलीका कप्तान असरफ हाकिमीमाथि बलात्कारको अभियोगमा अदालती सुनुवाइ हुने फ्रान्सेली सरकारी वकिलहरूले पुष्टि गरेका छन्।
सन् २०२३ मा पेरिसस्थित हाकिमीकै घरमा २७ वर्षीय डिफेन्डरले एक २४ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेको थियो। पेरिसको नान्तेरेस्थित सरकारी वकिलको कार्यालयले मार्च २०२३ देखि यस विषयमा प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो।
फेब्रुअरी २०२६ मा एक अनुसन्धानकर्ता न्यायाधीशले यो मुद्दालाई अदालतमा लैजान आदेश दिएका थिए। फ्रान्सेली सञ्चारमाध्यमका अनुसार, हाकिमीले यो मुद्दा खारेज गर्न दिएको पुनरावेदन अदालतले अस्वीकार गरिदिएको छ।
हाकिमीले यी सबै आरोपहरूलाई लगातार अस्वीकार गर्दै आएका छन्। शुक्रबार स्कटल्याण्डविरुद्धको विश्वकप खेलमा मैदान उत्रिनुअघि उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘न्याय प्रणालीले मलाई सीधा हेरेर भन्यो— यदि तिमी प्रख्यात नभएको भए, यो मुद्दा कहिल्यै चल्ने थिएन'।’
उनले थप लेखेका छन्, ‘म वर्षौंसम्म आफ्नो गरिमा जोगाउन र न्याय प्रणालीमा विश्वास गरेर चुप बसें। तर आज मेरो परिवार र मेरो सत्यलाई दाउमा राखेर अर्कै कथा बनाइएको छ। मलाई कहिलेकाहीँ लाग्छ म एउटा सजिलो निशाना बनेको छु। म पहिलो दिनदेखि नै यो मुद्दाको प्रतिक्षामा थिएँ र अब म अदालतमा आफ्नो कुरा राख्न उत्सुक छु।’
अर्कोतर्फ, पीडित पक्षकी वकिल राचेल-फ्लोर पार्दोले अदालतको यो निर्णयले पीडित महिलालाई राहत र आशा दिएको बताएकी छन्। उनले भनिन्, ‘तीन वर्षभन्दा लामो कानुनी प्रक्रिया र हाकिमीको पक्षबाट बदनाम गराउने प्रयासपछि, मेरो पक्षले न्याय पाउने आशा पलाएको छ। यो मुद्दाले फुटबल जगतमा हुने यौन हिंसा विरुद्धको लडाइँलाई थप बल पुर्याउनेछ।’
हाल मोरक्कोका सबै समूह चरणका खेलहरू अमेरिकामा भइरहेका छन्। तर, यदि मोरक्को नकआउट चरणमा पुग्यो र खेलहरू क्यानडामा परेमा हाकिमीलाई ती देश प्रवेश गर्न समस्या हुन सक्छ। क्यानडाको कानुन अनुसार फौजदारी अपराधको अभियोग लागेका व्यक्तिलाई देश प्रवेशमा रोक लगाउन सकिन्छ।
यस्तै समस्याका कारण गत हप्ता घानाका मिडफिल्डर थोमस पार्टीले क्यानडामा भएको खेल गुमाएका थिए। पार्टीमाथि पनि बलात्कारका सातवटा मुद्दा लागेका छन् र उनीमाथि अर्को वर्ष सुनुवाइ हुँदैछ।
हाकिमी मोरक्कोका प्रभावशाली खेलाडी हुन्। उनले सन् २०१६ मा १७ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। सन् २०२२ को विश्वकपमा मोरक्कोलाई सेमिफाइनलसम्म पुर्याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। पेरिस सेन्ट-जर्मेन (पिएसजी) बाट खेल्दै उनले पछिल्ला दुई सिजनमा लगातार च्याम्पियन्स लिग सहित थुप्रै उपाधिहरू जितेका छन्।
हालसम्म उनीविरूद्धको मुद्दाको सुनुवाइ सुरु हुने निश्चित मिति भने तय गरिएको छैन।