अमेरिकाको वासिङटन राज्यस्थित सिएटलको खचाखच भरिएको रंगशालामा घरेलु दर्शकको उत्साहजनक साथ पाउँदै अमेरिकाले अस्ट्रेलियालाई २-० ले पराजित गरेको छ। यो जितसँगै अमेरिका विश्वकपको आफ्नो समूहमा शीर्ष स्थान हासिल गर्ने बलियो स्थितिमा पुगेको छ।
सन् १९३० पछि अमेरिकाले पहिलो पटक विश्वकपमा लगातार दुई खेल जितेर इतिहास रचेको छ। यदि आजै हुने अर्को खेलमा टर्कीले पाराग्वेलाई हराउन सकेन भने अमेरिका आधिकारिक रूपमा समूह विजेता बन्नेछ।
टोलीका प्रमुख खेलाडी क्रिस्टियन पुलिसिच चोटका कारण मैदान बाहिर भए तापनि प्रशिक्षक माउरिसियो पोचेटिनोको टोलीले सुरुदेखि नै अस्ट्रेलियामाथि ठूलो दबाब बनाएको थियो। खेलको ११ औं मिनेटमा अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनले गोलको नजिकबाट दिएको पासलाई रोक्ने क्रममा अस्ट्रेलियाका डिफेन्डर क्यामरून बर्गेसले आफ्नै पोस्टमा गोल गर्न पुगे।
पहिलो हाफ सकिनु केही मिनेट अघि एलेक्स फ्रीम्यानले अमेरिकाको अग्रता दोब्बर बनाए। सर्जिनो डेस्टको प्रहार डिफ्लेक्ट भएर आएपछि फ्रीम्यानले हेडमार्फत बललाई जाली चुमाएका थिए। सुरुमा अफसाइड भनिए पनि भिडियो असिस्टेन्ट रेफ्रीको जाँचपछि यसलाई गोलको मान्यता दिइएको थियो।
अस्ट्रेलियाले खेलको सुरुवातमै मोहमद टुरेमार्फत गोल गर्ने प्रयास गरे पनि त्यसपछि खासै अवसर सिर्जना गर्न सकेन। दोस्रो हाफमा नेस्टोरी इरानकुन्डा मैदान प्रवेश गरेपछि अस्ट्रेलियाको खेलमा केही सुधार देखिएको थियो। २० वर्षीय इरानकुन्डाले विंगबाट उत्कृष्ट मुभ बनाउँदै क्रिस्टियन भोल्पाटोलाई पास दिएका थिए, तर भोल्पाटोको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो।
खेलको अन्त्यतिर अस्ट्रेलियाका कप्तान ह्यारी साउटरले पनि गोल गर्ने एउटा राम्रो मौका गुमाए। अमेरिका यदि समूह 'डी' को विजेता बन्यो भने उसले 'राउन्ड अफ ३२' मा तेस्रो स्थान हासिल गर्ने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।