बोस्टन रंगशालामा भएको खेलमा मोरक्कोले स्कटल्यान्डविरुद्ध खेलको दोस्रो मिनेटमै अग्रता लियो र खेलभरि आफ्नो दबाब कायम राख्यो। इस्माइल साइबारीले मोरक्कोका लागि निर्णायक गोल गरे।
उनले ब्राहिम डियाजको उत्कृष्ट पासलाई नियन्त्रणमा लिँदै स्कटल्यान्डको रक्षापंक्तिलाई बिट गरे र गोलरक्षक एंगस गनलाई जिल्याउँदै बललाई नेटको माथिल्लो भागमा प्रहार गरे।
साइबारीको यो गोल कीर्तिमानी सावित भयो। यो फिफा विश्वकप २०२६ को अहिलेसम्मकै सबैभन्दा छिटो गोल हो भने मोरक्कोको विश्वकप इतिहासकै पनि सबैभन्दा छिटो गोल हो। यो जितसँगै ४ अंक जोडेर मोरक्को समूह 'सी' को शीर्ष स्थानमा उक्लिएको छ।
दोस्रो हाफमा पनि खेल निकै रोमाञ्चक रह्यो। बिलाल एल खानौसले बायाँ विंगबाट दिएको लो-क्रसमा साइबारी दोस्रो गोलको निकै नजिक पुगेका थिए, तर उनको प्रहार डिफ्लेक्ट हुँदै क्रसबारमा लागेर फर्कियो।
त्यसको केही समयपछि अचराफ हाकिमीको कर्नरमा एल खानौसले गोल गर्ने प्रयास गरे पनि स्कटल्यान्डका गोलरक्षक गनले त्यसलाई विफल पारिदिए।
खेलको अन्तिम १५ मिनेटमा स्कटल्यान्डले खेलमा फर्कने कडा प्रयास गर्यो। जोन म्यागिन, बेन डोआक र स्कट म्याकटोमिनेले बराबरी गोलका लागि लगातार आक्रमण बुने पनि मोरक्कोको रक्षापंक्तिले त्यसलाई तोड्न दिएन। अन्ततः समय सकियो र मोरक्कोले एक महत्त्वपूर्ण जित दर्ता गर्यो।