इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड म्याथियस कुन्हाले दुई गोल गरेपछि ब्राजिलले फिफा विश्वकप २०२६ मा हाइटीलाई ३-० को सहज अन्तरले पराजित गरेको छ। यो हारसँगै हाइटी सन् २०२६ को विश्वकपबाट बाहिरिने पहिलो टोली बनेको छ।
पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेपछि चर्को आलोचना खेपेको कार्लो एन्सेलोटीको टोलीले फिलाडेल्फियामा उत्कृष्ट प्रदर्शन गर्दै समूह 'सी' को शीर्ष स्थानमा पुग्यो।
इगोर थियागोको स्थानमा सुरुवाती-११ मा परेका कुन्हाले २३ औं मिनेटमा पहिलो गोल गरे। हाइटीका डिफेन्डर ह्यानेस डेलक्रोइक्सले बल क्लियर गर्न खोज्दा कुन्हालाई लागेर बल सिधै पोस्टभित्र छिरेको थियो।
त्यसपछि ३६ औं मिनेटमा भिनिसियस जुनियरको उत्कृष्ट पासमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए।
पहिलो हाफको इन्जुरी समयमा लुकास पाक्वेटाको लामो पासलाई नियन्त्रणमा लिँदै रियल मड्रिडका स्टार भिनिसियस जुनियरले टोलीका लागि तेस्रो गोल गरे। यो उनको यस प्रतियोगिताको दोस्रो गोल हो।
ब्राजिलका लागि एउटा दुखद पक्ष बार्सिलोनाका विंगर राफिन्हाको चोट रह्यो। उनी पहिलो हाफमै चोटका कारण मैदान बाहिरिनु परेको थियो। उनको स्थानमा बोर्नमाउथका रायन मैदान पसेका थिए।
दोस्रो हाफमा हाइटीका रिकार्डो आडेको हेड प्रहारलाई ब्राजिलका गोलरक्षक एलिसनले उत्कृष्ट बचाउ गरे। खेलको अन्त्यतिर युवा खेलाडी एन्ड्रिकले गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन।
लगातार दुई हारसँगै हाइटी विश्वकपबाट बाहिरिए पनि उसका खेलाडी र समर्थकहरूले यो विश्वकपबाट जीवनभरका लागि अविष्मरणीय सम्झनाहरू बोकेर जानेछन्। ब्राजिलले अब आफ्नो अन्तिम समूह खेलमा स्कटल्यान्डको सामना गर्नेछ भने हाइटीले प्रतिष्ठाका लागि मोरक्कोसँग खेल्नेछ।