विकल्पका खेलाडी डेनिस उन्दाभ जर्मनीका लागि 'हिरो' सावित भएका छन्। उनले खेलको ९४ औं मिनेटमा गरेको नाटकीय गोलको मद्दतले जर्मनीले आइभोरी कोस्टमाथि रोमाञ्चक कमब्याक जित दर्ता गर्दै विश्वकपको नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ।
चार पटकको विश्वविजेता जर्मनीले खेलको ३० औं मिनेटमा आइभोरी कोस्टका कप्तान फ्रान्क केसीले गोल गरेपछि दबाबमा परेको थियो। तर, प्रशिक्षक जुलियन नागेल्सम्यानले खेलको ६० औं मिनेटमा गरेको परिवर्तनले खेलको नतिजा नै बदलिदियो।
स्टुटगार्टका फरवार्ड उन्दाभले ६८ औं मिनेटमा नादिम अमिरीको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि, खेलको अन्तिम समय (९४ औं मिनेट) मा फेलिक्स नमेचाको पासलाई नियन्त्रणमा लिँदै उत्कृष्ट गोल गरेर जर्मनीलाई २-१ को जित दिलाए। उन्दाभले यसअघि कुरासाओविरुद्धको ७-१ को जितमा पनि एक गोल र दुई असिस्ट गरेका थिए।
खेलको सुरुवाती समयमा जर्मनीका अलेक्जेन्डर पाभ्लोभिचको हेड गोललाई रेफ्रीले फाउल भन्दै मान्यता दिएनन्। आइभोरी कोस्टले केसीको गोलमार्फत अग्रता लिए पनि थप गोल गर्ने केही राम्रा अवसरहरू गुमाएको थियो, जुन उनीहरूका लागि महँगो सावित भयो।
यो जितसँगै जर्मनीले सन् २०१८ र २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिनु परेको तीतो अनुभवलाई बिर्सिँदै अन्तिम ३२ मा स्थान बनाएको छ। आइभोरी कोस्टले भने अब आफ्नो अन्तिम खेलमा कुरासाओलाई हराएमा मात्र अर्को चरणमा पुग्ने सम्भावना रहनेछ।