विश्वकपमा पहिलो पटक सहभागी भइरहेको कुरासाओले आफ्नो फुटबल इतिहासकै पहिलो विश्वकप अंक जोडेको छ।
यो ऐतिहासिक सफलताको मुख्य श्रेय टोलीका ३७ वर्षीय गोलरक्षक एलोय रुमलाई जान्छ, जसले इक्वेडर विरुद्धको खेलमा कीर्तिमानी १५ पटक उत्कृष्ट बचाउ (सेभ) गर्दै खेल बराबरीमा रोके।
मायमी एफसीका गोलरक्षक रुमले एउटै विश्वकप खेलमा सबैभन्दा धेरै १५ सेभ गर्ने अमेरिकाका गोलरक्षक टिम हावर्डको कीर्तिमानसँग बराबरी गरेका छन्।
हावर्डले सन् २०१४ मा बेल्जियम विरुद्ध अतिरिक्त समयसम्म पुगेको खेलमा १५ सेभ गरेका थिए (जसमा उनले २ गोल खाएका थिए)। तर, रुमले भने कुनै गोल नखाई 'क्लिन सिट' राख्दै डिक एड्भोकाटको प्रशिक्षणमा रहेको कुरासाओलाई ऐतिहासिक बराबरी दिलाए।
खेलको तेस्रो मिनेटमै रुमले इक्वेडरका एनेर भ्यालेन्सियाको प्रहारलाई नजिकैबाट बचाएर आफ्नो लय संकेत गरेका थिए।

उनले पहिलो हाफमै ६ वटा महत्वपूर्ण बचाउ गरे। दोस्रो हाफमा रुम झन् व्यस्त देखिए। उनले मोइसेस काइसेडो, पेड्रो भाइट, केभिन रोड्रिगेज, निल्सन एंगुलो र गोन्जालो प्लाटा जस्ता खेलाडीका एकपछि अर्को प्रहारलाई असफल तुल्याइदिए।
कुरासाओले पनि खेलको ६०औँ मिनेटमा गोल गर्ने राम्रो अवसर पाएको थियो, तर लियान्द्रो बाकुना र लिभियाना कोमेनेन्सियाका प्रहारहरू सफल हुन सकेनन्।
इक्वेडरले खेलभरि कुल २७ पटक गोल गर्ने प्रयास गरे पनि कुनै बल जाली चुमाउन सकेन। दुई खेल सकिँदा इक्वेडरले अहिलेसम्म एक गोल पनि गर्न सकेको छैन।
प्रशिक्षक सेबास्टियन बेकासेसेको टोली रक्षात्मक रूपमा बलियो देखिए पनि आक्रमणमा भने निकै कमजोर सावित भएको छ। अघिल्लो खेलमा आइभोरी कोस्टसँग १-० ले पराजित भएको इक्वेडरको अब नकआउट चरणमा पुग्ने सम्भावना कठिन बनेको छ।
समूह 'ई' को जर्मनी समूहबाट विजेता बन्दै अर्को चरणमा पुगिसकेको छ। इक्वेडरले अन्तिम खेलमा जर्मनीलाई हराउनै पर्ने दबाब छ। कुरासाओले पहिलो खेलमा जर्मनीसँग ७-१ को हार बेहोरे पनि अब अन्तिम खेलमा आइभोरी कोस्टलाई हराएमा अन्तिम ३२ मा पुग्ने मौका जीवितै राखेको छ।