केही समयअघिसम्म प्रशिक्षक जुलियन नागेल्सम्यानसँगको विवादका कारण चर्चामा रहेका डेनिज उन्डाभ अहिले विश्वकपमा जर्मनीका लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी सावित भइरहेका छन्।
आइभोरी कोस्ट विरुद्धको रोमाञ्चक पुनरागमन जित (२-१) मा दुई गोल गर्दै २९ वर्षीय स्ट्राइकर उन्डाभले जर्मनीलाई सन् २०१४ पछिकै पहिलो पटक विश्वकपको नकआउट चरणमा पुर्याएका छन्।
बेन्चबाट मैदान प्रवेश गरेर मात्र दुई खेलमा ३ गोल र २ असिस्ट (कुल ५ गोल योगदान) गर्दै उन्डाभले सन् १९६६ यता विश्वकपमा 'सुपर-सब' का रूपमा क्यामरुनका रोजर मिल्ला (१९९०) को कीर्तिमानसँग बराबरी गरेका छन्। यति मात्र होइन, सन् २००२ मा मिरोस्लाभ क्लोजपछि आफ्ना सुरुवाती दुई विश्वकप खेलमा गोल गर्ने उनी पहिलो जर्मन खेलाडी बनेका छन्।
गत मार्चमा घाना विरुद्ध गोल गरेपछि उन्डाभले आफू 'स्टार्टिङ' खेलाडी (सुरुवातदेखि नै खेल्ने) बन्न योग्य भएको बताएका थिए। यसमा प्रशिक्षक नागेल्सम्यानले ‘उनले आफैँमाथि अनावश्यक दबाब सिर्जना गरेको’ भन्दै सार्वजनिक आलोचना गरेका थिए।
तर, अहिले उन्डाभको उत्कृष्ट लय देखेपछि नागेल्सम्यानले उनलाई अन्तिम ११ मै राख्नेबारे सोच्न थालेका छन्। नागेल्सम्यान भन्छन्, ‘उनको यो लयलाई किन बिगार्ने? उनी दुई पटक मैदान छिरे र दुवै पटक गोल गरे।’
उन्डाभको सफलताको कथा निकै संघर्षपूर्ण छ। १४ वर्षको उमेरमा वेर्डर ब्रेमेनले उनलाई ‘धेरै होचो भएको’ भन्दै टोलीबाट निकालेको थियो।
१७ वर्षको उमेरमा उनी जर्मनीको चौथो डिभिजनमा खेल्थे, जहाँ उनको पारिश्रमिक हप्ताको मात्र १२० पाउण्ड'(करिब २० हजार रुपैयाँ) थियो। जीवन धान्नका लागि उनले एउटा फ्याक्ट्रीमा लेजर मेसिन अपरेटरको रूपमा दैनिक ८ घण्टा काम गर्नुपर्थ्यो।
उन्डाभ सम्झिन्छन्, ‘म बिहान ४ बजे उठेर फ्याक्ट्री जान्थेँ, दिनभर काम गर्थेँ र त्यसपछि प्रशिक्षकमा जान्थेँ। राति ८ बजे मात्र घर पुग्थेँ। फुटबलको पैसाले मात्र बाँच्न सम्भव थिएन, त्यसैले मैले पैसाका लागि त्यो काम गर्नै पर्थ्यो।’
त्यसपछि बेल्जियम र इङ्गल्याण्डको लिग हुँदै उनी जर्मन क्लब स्टुटगार्ट आइपुगे। गत सिजन बुन्डेसलिगामा ह्यारी केनपछि सर्वाधिक १९ गोल गर्दै उनले विश्वकपको टोलीमा स्थान बनाएका हुन्।
प्रशिक्षक नागेल्सम्यान अहिले उन्डाभको प्रदर्शनबाट निकै खुसी छन्। उनी भन्छन्, ‘डेनिजलाई तयारीको आवश्यकता पर्दैन, उनी मैदान छिर्ने बित्तिकै नतिजा दिन सक्छन्।’
बिहीबार इक्वेडर विरुद्ध हुने जर्मनीको अन्तिम समूह खेलमा उन्डाभले सुरुवाती ११ मा मौका पाउने बलियो सम्भावना छ। यदि उनको यो लय जारी रहे, जर्मनीले पाँचौँ पटक विश्वकप जित्ने सपना पूरा गर्न सक्छ।