लमिन यामलको पुनरागमनसँगै स्पेनले फिफा विश्वकप २०२६ मा साउदी अरबलाई ४-० को फराकिलो अन्तरले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको छ।
अमेरिकाको एटलान्टा रंगशालामा खेल सुरु हुन ४३ मिनेट बाँकी छँदै दर्शकहरूको पहिलो ठूलो हुटिङ सुनियो, जब क्यामेराले लमिन यामललाई पर्दामा देखायो।
रंगशालाको विशाल ३६० डिग्री स्क्रिनमा आफूलाई देखेपछि यामलले मुस्कुराउँदै दर्शकहरूलाई अभिवादन गरे।
खेल सुरु भएको एक घण्टा नबित्दै उनले आफ्नो खेल जीवनको पहिलो विश्वकप गोलको खुसी मनाए। आफ्नो दोस्रो विश्वकप खेलमै उनले देखाएको जादुले स्पेनिस टोली र प्रशिक्षक लुइस डे ला फुएन्टेलाई उत्साहित बनायो भने साउदी अरबको टोली उनलाई रोक्नमै व्यस्त देखियो।
आफ्नो पहिलो 'स्टार्टिङ' खेलमै यामललाई गोल गर्न मात्र ५९८ सेकेन्ड (करिब १० मिनेट) लाग्यो। यो उपलब्धिले उनलाई विश्वकप इतिहासमा गोल गर्ने आठौं कान्छो खेलाडी बनाएको छ।
खेलपछि यामलले भावुक हुँदै भने, ‘यो निकै विशेष छ। मैले सधैं विश्वकप खेल्ने सपना देखेको थिएँ, र पहिलो स्टार्टमै गोल गर्नु सपना पूरा भएजस्तै हो। अघिल्लो विश्वकप त म स्कुलबाट हेर्दै थिए।’
स्पेनका प्रशिक्षक डे ला फुएन्टेले खेलमा सहज अग्रता पाएपछि यामललाई थप चोट नलागोस् भनेर आराम दिएको बताए। उनले भने, ‘हामी हाम्रा खेलाडीहरूले उच्च मनोबलका साथ खेलिरहेको देख्दा निकै खुसी छौं।‘
मध्यपंक्तिका खेलाडी एलेक्स बाएनाले पनि यामलको प्रशंसा गर्दै भने, ‘लामिन मैदानमा हुनु नै हाम्रो लागि ठूलो कुरा हो। उनले आफ्नो उपस्थितिले मात्रै पनि विपक्षीलाई दबाबमा राख्छन्। उनी प्रशिक्षण र खेल दुवैमा निकै तीक्ष्ण र केन्द्रित देखिन्छन्।’
२१ जुन २०२६ को दिन यमलका लागि सधैं यादगार रहनेछ। यो दिन एक यस्तो खेलाडीको उदयको रूपमा चिनिनेछ, जसको प्रतिभाले आगामी धेरै विश्वकपहरूमा अमिट छाप छोड्ने निश्चित छ। यामलको आगमनसँगै स्पेनले नयाँ उर्जा पाएको छ।