फिफा विश्वकप २०२६ मा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बनाएका छन्।
गएराति उज्वेकिस्तान विरूद्ध भएको खेलमा गोल गर्दै रोनाल्डोले आफ्नो नाममा कीर्तिमान थपेका हुन्।
उनी लगातार ६ वटा विश्वकपमा गोल गर्ने एकमात्रै खेलाडी बनेका छन्।
उज्वेकिस्तानविरूद्धको खेलमा रोनाल्डोले दुई गोल गरे। खेलको छैटौं र ३९ औं मिनेटमा रोनाल्डोले गोल गरे।
यसअघि पहिलो खेलमा रोनाल्डो गोल गर्न चुके। कंगोविरूद्ध मैदान ओर्लँदा उनले एउटा इतिहास भने रचे।
४१ वर्ष १३२ दिनको उमेरमा मैदान उत्रिएका रोनाल्डो विश्वकपमा 'स्टार्टिङ ११' (खेलको सुरुवातमै मैदान छिर्ने) मा पर्ने सबैभन्दा पाका आउटफिल्ड खेलाडी बने।
त्यो उनको २३ औं विश्वकप खेल थियो। त्यही खेलबाट उनले इटालीका लिजेन्ड पाओलो माल्दिनीको कीर्तिमानसँग बराबरी गरे।
कंगो विरूद्ध गोल गर्न नसकेपछि आलोचना खेपेका रोनाल्डोले गएरातिको खेलबाट जबाफ दिएका छन्।
रोनाल्डोले सन् २००६ देखि २०२६ सम्म लगातार ६ विश्वकप खेल्दा ६ वटै विश्वकपमा गोल गरेका हुन् ।
उनले सन् २००६ मा डेब्यु विश्वकपमा १ गोल गरेका थिए। २०१० र २०१४ मा पनि १-१ गोल गरेका थिए।
सन् २०१८ मा भने स्पेन विरुद्ध ह्याट्रिकसहित ४ गोल गरेका थिए। अघिल्लो संस्करणको विश्वकपमा उनले १ गोल गरेका थिए।