जर्मनीका पूर्व स्टार मिडफिल्डर बास्टियन स्वाइस्टाइजले आइभोरी कोस्टको खेल शैलीलाई ‘वाइन्ड’ र ‘रणनीतिविहीन’ भनेपछि नयाँ विवाद सुरु भएको छ। आइभोरी कोस्टका प्रशिक्षक इमर्स फायेले यस टिप्पणीलाई रंगभेदी समेत हुन सक्ने भन्दै कडा आपत्ति जनाएका छन्।
जर्मनी र आइभोरी कोस्टबीचको खेलअघि एक टिभी कार्यक्रममा बोल्दै सन् २०१४ का विश्वकप विजेता स्वाइस्टाइजले भनेका थिए— ‘अफ्रिकी फुटबल अलिकति फरक र वाइन्ड हुन्छ, जहाँ खासै रणनीति हुँदैन। उनीहरू कतिबेला के गर्छन् भन्ने कुराको अनुमान लगाउन गाह्रो हुन्छ।’
आइभोरी कोस्ट इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेपछि प्रशिक्षक फायेले यस विषयमा आफ्नो धारणा राखे।
उनले भने, ‘यो निकै दुखद कुरा हो। म स्वाइस्टाइजरलाई एक खेलाडीको रूपमा निकै सम्मान गर्थेँ, तर उनको यस्तो सोच देख्दा म निकै निराश भएको छु। यदि सिधा भाषामा भन्ने हो भने, यसलाई रंगभेद भन्न सकिन्छ।’
उनले अगाडि थपे, ‘अफ्रिकी टोलीहरू केवल शारीरिक रूपमा बलिया मात्र छैनन्, हामीसँग प्राविधिक र रणनीतिक क्षमता पनि छ। म आशा गर्छु कि यो उनको एउटा गल्ती मात्र हो, मनैदेखि सोचेको कुरा होइन।’
यस विषयमा पूर्व लिभरपुल म्यानेजर जुर्गेन क्लोपसँग पनि प्रश्न सोधिएको थियो। तर उनले यस विवादमा पर्न चाहेनन्। क्लोपले भने, ‘यो एक गम्भीर विषय हो, तर यसबारे के बोल्नु उचित हुन्छ मलाई थाहा छैन। म यसमा कुनै टिप्पणी गर्दिनँ।’
मैदानबाहिरको यो विवादका बाबजुद आइभोरी कोस्टले मैदानमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। समूह 'ई' मा दोस्रो हुँदै उनीहरू अर्को चरणमा पुगिसकेका छन्। अब जुन ३० मा उनीहरूले फ्रान्स वा नर्वेसँग प्रतिस्पर्धा गर्नेछन्।