फिफा विश्वकप २०२६ मा आइतबार अर्जेन्टिनाले समूह चरणको अन्तिम खेल खेल्दैछ।
डालास स्टेडियममा भोलि बिहान ७:४५ बजे अर्जेन्टिनाले जोर्डनविरूद्ध खेल्ने छ।
अर्जेन्टिना समूह चरणका दुवै खेल जितेर नक आउट प्रवेश गरिसकेको छ। जोर्डन प्रतियोगिताबाट बाहिरिसकेको छ।
नक आउटमा अर्जेन्टिनाले खेल्ने टोलीको पनि टुंगो लागिसकेको छ। समूह एचको उपविजेता बन्दै नक आउट प्रवेश गरेको केप भर्डे अर्जेन्टिनाको प्रतिद्वन्द्वी छ।
जोर्डन विरूद्धको खेलमा मेसी खेल्छन् कि खेल्दैनन् भन्ने फुटबल प्रेमीहरूको चासोको विषय बनेको छ।
यसबारे अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले जबाफ दिएका छन्।
उनले समूह चरणको अन्तिम खेलमा मेसी सुरूवाती रोजाइमा नहुने बताएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्कालोनीले मेसी सुरुवातमा बेन्चमा रहने बताएका हुन्।
तर उनले खेल्दै नखेल्ने भने होइन।
'लियो बेन्चमा रहनेछन्। सुरूवाती टोलीबारे अहिले नै भन्न त चाहन्नँ तर उनी मैदानमा भने आउनेछन्,' स्कालोनीले भनेका छन्।
बुधबार ३९ वर्ष पुगेका मेसीले जोर्डन विरूद्ध खेलेनन् भने नकआउट चरणको खेलअघि लगातार ११ दिन प्रतिस्पर्धात्मक फुटबल नखेली बस्नुपर्ने अवस्था हुने थियो।
अर्जेन्टिनाले जुलाई ३ मा अन्तिम ३२ को खेल खेल्ने तालिका छ।
अर्जेन्टिनाले लगातार दुई खेल जित्दा सबै गोल मेसीले नै गरेका छन्।
यससँगै उनी विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन्। उनको नाममा अब १८ गोल पुगेको छ।
समूहको शीर्ष स्थान सुरक्षित भइसकेकाले स्कालोनीले अहिलेसम्म अवसर नपाएका खेलाडीलाई मैदानमा उतार्ने तयारी गरेका छन्।
भालेन्तिन बार्को, जियोभानी लो सेल्सो, फ्लाको लोपेज, एक्सेकियल पालासियोस, मार्कोस सेनेसी, जुलियानो सिमियोने, लियोनार्दो बालेर्दी तथा वैकल्पिक गोलरक्षक हुआन मुस्सो र जेरोनिमो रुल्लीले अवसर पाउने सम्भावना रहेको उनले बताए।
'अहिलेसम्मको सफलताको श्रेय नियमित रूपमा कडा प्रशिक्षण गर्ने सबै खेलाडीलाई जान्छ,' स्कालोनीले भने, 'अवसर आएको बेला अन्य उत्कृष्ट खेलाडीले पनि खेल्ने अधिकार राख्छन्। टोलीले जसले खेले पनि एउटै शैलीमा खेलोस् भन्ने हाम्रो उद्देश्य हो।'
अर्जेन्टिनाका लेफ्ट–ब्याक निकोलस ट्याग्लियाफिकोले पनि मेसीको प्रदर्शनको प्रशंसा गर्दै भने, 'लियोलाई हेर्दा लाग्छ, उनी २०२२ को भन्दा पनि अझ उत्कृष्ट लयमा छन्। उनी खेलको आनन्द लिइरहेका छन् र हामी पनि त्यसको मजा लिइरहेका छौं।'
यद्यपि अर्जेन्टिना नकआउट चरणमा पुगिसकेको भए पनि टोली समूह चरण अपराजित रूपमा समाप्त गर्न चाहन्छ।
टाग्लियाफिकोले भने, 'हामीले सतर्कता गुमाउन हुँदैन। छनोट भइसकेको छ भन्दैमा ढुक्क भएर खेल्न मिल्दैन।'