विश्वकपको समूह चरणमै केही त्यस्ता खेलहरू हुन्छन् जसले सारा फुटबल प्रेमीहरूलाई उत्साहित बनाउँछ।
फुटबल प्रेमीहरू त्यस्ता खेलको व्यग्र प्रतिक्षामा हुन्छन्। सामाजिक सञ्जालदेखि साथीभाइको जमघटमा चर्चाको विषय बन्छ।
बोस्टन स्टेडियममा शुक्रबार राति हुने खेलबारे पनि दिउँसैदेखि चर्चा थियो। खेलमा भिड्दै थिए अघिल्लो पटकको उपविजेता तथा दुई पटकको विश्वविजेता फ्रान्स र नर्वे।
हुन त यी दुवै देशले नक आउट चरणमा स्थान सुरक्षित गरिसकेका थिए। यी दुईको प्रतिस्पर्धाबाट केवल समूह विजेता र उपविजेता मात्रै टुंगो लाग्ने थियो।
विश्वकपको अनुभव, खेलाडीदेखि सबै कुरामा फ्रान्स नर्वेभन्दा बलियो छ भन्नेमा पनि सबै फुटबल प्रेमीहरू अवगत नै थिए।
फिफा र्यांकिङमा फ्रान्स अहिले पहिलो स्थानमा छ। विश्वकप सुरू हुनुअघि अर्जेन्टिना पहिलो स्थानमा थियो। नर्वे २३ औं स्थानमा छ। यो पनि नर्वेभन्दा फ्रान्स धेरै बलियो छ भन्ने आधार हो।
यति हुँदा हुँदै पनि यी दुई देशबीचको खेललाई किन अधिक उत्साहका साथ फुटबल प्रेमीहरू प्रतिक्षारत थिए?
अझै नेपाली समर्थकहरुले त निद्रा माया मारेर रातिको १२:४५ बजेसम्म टेलिभिजन र मोबाइल स्क्रिन कुरे।
कारण एउटै थियो— विश्व फुटबलका दुई ठूला सुपरस्टार किलियन एमबाप्पे र अर्लिङ हालाण्डलाई पहिलोपटक विश्वकपको मञ्चमा आमनेसामने भिडेको हेर्ने।
क्लब फुटबलमा एमबाप्पे र हालाण्ड धेरै पटक आमने सामने भइसकेका छन्। एमबाप्पे पिएसजीदेखि रियल मड्रिडसम्मको यात्रामा हुँदा होस् वा हालाण्ड डर्टमन्डदेखि म्यानचेस्टर सिटीसम्मको यात्रामा होस् उनीहरूबीच च्याम्पियन्स लिगका धेरै खेलमा प्रतिस्पर्धा भएको छ।
दुवैले एक अर्काविरूद्ध गोल पनि गरेका छन्। यसपालि फ्रान्स र नर्वेका जर्सीमा विश्वकपमा आमनेसामने हुने अवसर पहिलोपटक आएको थियो।
तर खेल सुरु हुनुअघि सार्वजनिक भएको टोलीको सूचीले त्यो उत्साहमा चिसो पानी खन्याइदियो।
नर्वेका प्रशिक्षक स्टोले सोलबाकेनले हालाण्डलाई विश्राम दिएका थिए। मैदानमा एमबाप्पे थिए, तर उनका सबैभन्दा चर्चितमध्येका प्रतिद्वन्द्वी भने बेन्चमै सीमित रहे।
अमेरिकाको बोस्टनस्थित जिलेट स्टेडियम पुगेका ६४ हजारभन्दा बढी दर्शक मात्र होइन, संसारभरका फुटबल समर्थकको अपेक्षा पनि त्यही थियो।
खेलका क्रममा स्टेडियममा दर्शकहरुले हालाण्डको माग गरे। हालाण्ड चाहियो भनेर नारा घन्काए तर त्यो चाहना अन्तिमसम्म पूरा भएन।
पत्रपत्रिकामा यो खेल विश्व फुटबलका दुई सर्वाधिक चर्चित स्ट्राइकरबीचको भिडन्तका रूपमा प्रचारित थियो।
तर नर्वेले यसअघि नै नकआउट चरणमा स्थान सुरक्षित गरिसकेकाले प्रशिक्षक सोलबाकेनले जोखिम मोल्न चाहेनन्। इराक र सेनेगललाई हराएर अन्तिम ३२ मा पुगिसकेको नर्वेले हालाण्डसहित अधिकांश प्रमुख खेलाडीलाई आराम दियो।
'यो निर्णय गर्न कुनै द्विविधा नै थिएन। आशा छ, यही निर्णयका कारण आगामी खेलहरूमा समर्थकलाई अझ राम्रो रातहरू उपहार दिन सक्नेछौं,' खेलपछि सोलबाकेनले भने। उनले समर्थक निराश हुने कुरा आफूले बुझेको स्वीकारे।
उनको संकेत स्पष्ट थियो— विश्वकप जित्ने लक्ष्यमा रहेको टोलीका लागि समूह चरणको अन्तिम खेलभन्दा नकआउट चरण धेरै महत्त्वपूर्ण छ। प्रशिक्षकको जिम्मेवारी समर्थकको चाहना पूरा गर्नु होइन, टोलीलाई उपाधितर्फ लैजानु हो।
हालाण्ड नखेले पनि फ्रान्सले भने ४–१ को प्रभावशाली जित निकाल्यो।
यो खेलबाट धेरैले अपेक्षा गरेको अर्को विषय पनि थियो।
सुरूवातदेखि नै नर्वेमाथि फ्रान्स हाबी हुँदा एम्बाप्पेले आफ्नो खातामा गोल संख्या बढाउनेछन्। त्यसमा पनि फुटबल प्रेमीहरू; विशेषगरी फ्रान्सका समर्थकहरू निराश भए। एमबाप्पेले एक गोल पनि गर्न सकेनन्। बरू उस्मान डेम्बेलेले ह्याट्रिक हान्दै जारी विश्वकपमा हालाण्ड र एम्बाप्पे समान ४ गोल पुर्याए।
डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक गर्दै सारा चर्चा आफ्नो नाममा पारिदिए। एमबाप्पेले गोल गर्न नसके पनि दुई असिस्ट भने गरे।
फ्रान्सका सहायक प्रशिक्षक गी स्टेफानले एमबाप्पेको बचाउ गर्दै भने, 'उनी जति तीव्र गतिमा दौडिन सक्छन्, त्यसरी नै आगामी खेलमा गोल पनि गर्नेछन् भन्नेमा म विश्वस्त छु।'
स्टेडियम पुगेका समर्थकहरू भने मिश्रित भावनामा देखिए।
डेनभरबाट आएका २० वर्षीय रानन मिलार्डले आफू मुख्यतः हालाण्डका लागि खेल हेर्न आएको बताए।
'म म्यानचेस्टर सिटीको समर्थक हुँ। हालाण्ड मेरो मनपर्ने खेलाडी हुन्,' द एथ्लेटिकसँग उनले भने, 'तर म फुटबललाई माया गरेर यहाँ आएको हुँ। बाल्यकालदेखि विश्वकप हेर्दै आएको थिएँ। त्यसैले संसारकै उत्कृष्ट खेलाडीहरूलाई प्रत्यक्ष हेर्न पाउनु पनि ठूलो कुरा हो।'
उनी हालाण्ड नखेल्ने खबर स्टेडियमभित्र प्रवेश गरेपछि मात्र थाहा पाएको बताउँछन्।
यस्तै, म्यासाचुसेट्सका वाग्नर सेनाले खेल सुरु हुनुअघि नै मोबाइलमा टोलीको सूची हेरेर हालाण्ड नखेल्ने थाहा पाएका थिए।
'अलिकति निराश त भएँ। एमबाप्पे र हालाण्डबीच कडा प्रतिस्पर्धा हेर्न चाहन्थेँ,' उनले भने, 'तर प्रशिक्षकको रणनीतिक निर्णय पनि बुझ्न सकिन्छ। कम्तीमा एमबाप्पेलाई त खेलिरहेको देख्न पाइयो।'
उनका भाइ लियो सेनाको तर्क झन् फरक थियो। 'हामी हालाण्डलाई अहिलेभन्दा नकआउट चरणमा खेलिरहेको हेर्न चाहन्छौं। अनावश्यक चोटको जोखिम किन लिने?' उनले भने।
सायद यही भावनाले संसारभरका धेरै समर्थकलाई सान्त्वना दिएको होला।
तर एक रातका लागि भने एमबाप्पे र हालाण्डको बहुप्रतीक्षित विश्वकप भिडन्त हेर्ने सपना अधुरै रह्यो। अब यो कथा अर्को दिनका लागि सरेको छ।