अमेरिकाको मायामीमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै कोलम्बिया समूह 'के' को विजेता बनेको छ। यो नतिजासँगै क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगल भने दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो।
कोलम्बियाको पछिल्लो २५ विश्वकप खेलमध्ये यो पहिलो गोलरहित बराबरी भए तापनि खेल भने निकै मनोरञ्जनात्मक थियो।
खेलको अन्तिम मिनेट (९० औँ मिनेट) मा कोलम्बियाका डेभिन्सन सान्चेजले हेडमार्फत गोल गर्दै जित पक्का गरेको जस्तो देखिएको थियो, तर 'भिडियो असिस्टेन्ट रेफ्री'ले निकै कम अन्तरले उनलाई 'अफसाइड' देखाएपछि गोलले मान्यता पाएन।
समूहको शीर्ष स्थानमा पुग्न पोर्चुगललाई जित्नै पर्ने दबाब थियो। तर, स्टेडियममा उपस्थित हजारौँ कोलम्बियाली समर्थकहरूको गर्जनले कोलम्बियाका खेलाडीहरूको मनोबल उच्च बनाएको थियो।
खेलको सुरुवातमै कोलम्बियाका जोन कोर्डोबाले दुईवटा राम्रा अवसर पाएका थिए, तर पोर्चुगलका गोलकिपर डिएगो कोस्टाले उत्कृष्ट बचाउ गरे।
पोर्चुगलका ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोका लागि भने यो खेल सुखद रहेन। अघिल्लो खेलमा दुई गोल गर्दै ‘म फर्किएँ’ भनेर घोषणा गरेका रोनाल्डो यस खेलमा भने खासै प्रभावकारी देखिएनन्। अर्कोतर्फ, पोर्चुगलका ब्रुनो फर्नान्डेजको एउटा प्रहारलाई कोलम्बियाका गोलकिपर क्यामिलो भार्गासले उत्कृष्ट ढंगले बचाए।
कोलम्बियाका भेट्रान खेलाडी जेम्स रोड्रिग्वेजले यो खेलसँगै आफ्नो देशका लागि ११ औँ पटक विश्वकप खेल्दै नयाँ कीर्तिमान बनाए। उनले मैदानमा सन् २०१४ को आफ्नो लयलाई सम्झाउने गरी उत्कृष्ट प्रदर्शन गरे र उनी मैदानबाट बाहिरिँदा दर्शकहरूले उठेर सम्मान दिएका थिए।
समूह विजेता बनेको कोलम्बियाले अब ४ जुलाईमा कान्सास सिटीमा घानाको सामना गर्नेछ। समूहको उपविजेता बनेको पोर्चुगलले भने शुक्रबार, ३ जुलाईमा क्रोएसियासँग खेल्नेछ। पोर्चुगलले कोलम्बियाको तुलनामा तयारीका लागि एक दिन कम समय पाउनेछ।