अर्जेन्टिना समूह चरणका तीनै खेलमा विजयी हुँदै नक आउट प्रवेश गरेको छ।
जोर्डन विरूद्ध आइतबार बिहान भएको खेलमा ३-१ गोलको जित निकालेर अर्जेन्टिना अपराजित रहँदै नक आउट प्रवेश गरेको हो।
अन्तिम खेलमा पनि लियोनल मेसीले गोल गरे।
६० मिनेटमा मैदान छिरेका मेसीले ८० मिनेटमा फ्रिकिकबाट सानदार गोल गरेका हुन्।
त्यसअघि १९ मिनेटमा जियोभानीले गोल गर्दै अर्जेन्टिनालाई सुरूवाती अग्रता दिलाएका थिए।
३१ मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाउँदा लाउटारो मार्टिनेजले सदुपयोग गरे।
५५ मिनेटमा जोर्डनका मुसा अल तामरीले एक गोल फर्काएका थिए।
त्यसपछि मेसीले गरेको गोल निर्णायक बन्यो।
मेसीले अघिल्लो दुई खेलमा पाँच गोल गरेका छन्। जोर्डनविरूद्धको गोलसँगै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेको मेसीको गोलसंख्या ६ पुगेको छ।
पराजित भएको जोर्डन भने अंकविहीन हुँदै विश्वकपबाट बाहिरिएको छ।
समूह 'जे' बाट अष्ट्रिया उपविजेता बनेर नक आउट प्रवेश गरेको छ। आइतबार बिहानै भएको रोमान्चक खेलमा ३-३ को नतिजापछि अस्ट्रिया उपविजेता र अल्जेरिया तेस्रो स्थानको उत्कृष्ट सूचीमा रहँदै नक आउट प्रवेश गरेको हो।