विश्वकपको इतिहासमा पहिलो पटक ४८ टोली सहभागी भइरहँदा यसपटक नकआउट चरणको समीकरण निकै रोचक बनेको छ।
सन् १९९८ देखि २०२२ सम्म ३२ टोली खेल्दा समूहका शीर्ष दुई टोली मात्र अगाडि बढ्थे। तर, यस वर्षको नयाँ नियम अनुसार १२ वटा समूहका शीर्ष दुई टोलीसँगै तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट ८ टोलीहरू पनि 'राउन्ड अफ ३२' मा प्रवेश गरेका छन्।
समूह चरणका अन्तिम खेलहरू शनिबार राती सकिएसँगै अघिल्लो चरण पुग्ने टोलीहरूको टुङ्गो लागेको हो। यो नयाँ ढाँचाले गर्दा अन्तिम खेलसम्म पनि धेरै टोलीहरूको सम्भावना जीवितै रहेको थियो।
नकआउट चरणमा पुग्न सफल ८ 'उत्कृष्ट तेस्रो' टोलीहरू:
१. डीआर कंगो (समूह के) : ४ अंक र +१ गोल अन्तरसहित कंगो अघिल्लो चरण प्रवेश गर्यो। अब उसले जुलाई १ मा 'एटलान्टा' मा इङ्गल्याण्डको सामना गर्नेछ।
२. स्वीडेन (समूह एफ): अन्तिम खेलमा जापानसँग १-१ को बराबरी खेल्दै ४ अंक जोडेको स्वीडेनले अब असार १६ (जुन ३०) मा फ्रान्ससँग खेल्नेछ।
३. घाना (समूह एल) : ४ अंक बटुलेको घाना तेस्रो स्थानमा रहे पनि अघिल्लो चरण पुग्न सफल भयो। उसको भेट अब कोलम्बियासँग हुनेछ।
४. इक्वेडर (समूह ई): ४ अंकसहित अगाडि बढेको इक्वेडरले अन्तिम खेलमा चार पटकको च्याम्पियन जर्मनीलाई २-१ ले हराएर सबैलाई स्तब्ध पारेको थियो। अब उसले मेक्सिकोको सामना गर्नेछ।
५. बोस्निया र हर्जगोभिना (समूह बी) : ४ अंक जोड्दै अघिल्लो चरण पुगेको यस टोलीले अब आयोजक संयुक्त राज्य अमेरिका
सँग खेल्नेछ।
६. पाराग्वे (समूह डी): ४ अंकसहित अगाडि बढेको पाराग्वेले अब जर्मनीको सामना गर्नेछ।
७. सेनेगल (समूह आई) : इराकलाई ५-० ले हराउँदै ३ अंक र उत्कृष्ट गोल अन्तर (+२) बनाएका कारण सेनेगल नकआउटमा पुग्यो। उसको आगामी खेल बेल्जियमसँग हुनेछ।
८. अल्जेरिया (समूह जे): अस्ट्रियासँग ३-३ को रोमाञ्चक बराबरी खेल्दै ४ अंक जोडेर अल्जेरिया अघिल्लो चरण पुग्यो। अब उसले स्विट्जरल्याण्डसँग खेल्नेछ।
बाहिरिएका तेस्रो स्थानका टोलीहरू
इरान: इरान सबैभन्दा अभागी टोली बन्यो। इजिप्टसँगको खेलमा अन्तिम समयमा गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्री (भार) ले त्यसलाई अफसाइड भन्दै खारेज गरिदियो। यदि अस्ट्रिया र अल्जेरियाको खेल बराबरी नभएको भए इरान अगाडि बढ्ने थियो, तर त्यो खेल ३-३ को बराबरीमा सकिएपछि इरान बाहिरिन पुग्यो।
दक्षिण कोरिया: कप्तान सन ह्युङ-मिनलाई बेन्चमा राखेको दक्षिण कोरिया दक्षिण अफ्रिकासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो। ३ अंक मात्र जोडेको उसको प्रदर्शन निराशाजनक रह्यो।
स्कटल्याण्ड: ३ अंक र -३ को खराब गोल अन्तरका कारण स्कटल्याण्ड घर फर्कियो। टोली बाहिरिएसँगै प्रशिक्षक स्टिभ क्लार्कले पदबाट राजीनामा दिएका छन्।
उरुग्वे: दुई पटकको विश्व विजेता उरुग्वेले यसपटक एउटै खेल पनि जित्न सकेन र केवल २ अंक जोड्दै समूह चरणबाटै बाहिरियो।
यसरी नयाँ नियमले धेरै टोलीलाई अन्तिम समयसम्म आश जगाए पनि इरान र दक्षिण कोरिया जस्ता टोलीका लागि भने यो विश्वकप निकै पीडादायी बन्यो। अब प्रतियोगिता 'नकआउट' चरणमा प्रवेश गरेको छ, जहाँ हार्ने टोली सिधै बाहिरिनेछ।