विश्वकप फुटबल २०२६ को समूह चरणबाटै बाहिरिएसँगै स्कटल्याण्डका मुख्य प्रशिक्षक स्टिभ क्लार्कले आफ्नो पदबाट राजीनामा दिएका छन्।
शनिबार दिउँसो अन्य खेलहरूको नतिजा सार्वजनिक भएसँगै स्कटल्याण्ड प्रतियोगिताबाट आधिकारिक रूपमा बाहिरिएको थियो। त्यसको लगत्तै ६२ वर्षीय क्लार्कले पद त्याग्ने निर्णय गरे।
उनले गत मे महिनामा मात्रै सन् २०३० को विश्वकपसम्मका लागि आफ्नो सम्झौता नवीकरण गरेका थिए। झण्डै ७ वर्ष स्कटल्याण्डको टोली सम्हालेपछि उनले बिदा लिने निर्णय गरेका हुन्।
समर्थकहरूका नाममा एक भावुक पत्र लेख्दै क्लार्कले भनेका छन्, ‘यो बिदाइको सबैभन्दा भावुक पक्ष मेरा खेलाडीहरू हुन्। उनीहरू बिना सन् २०१९ देखि अहिलेसम्मका कुनै पनि मीठा सम्झनाहरू सम्भव हुने थिएनन्। मलाई साथ दिनुभएकोमा धन्यवाद र मेरो उत्तराधिकारी (नयाँ प्रशिक्षक) लाई शुभकामना।’
स्टिभ क्लार्ककै नेतृत्वमा स्कटल्याण्ड २८ वर्षपछि पहिलो पटक विश्वकपमा छनोट हुन सफल भएको थियो। यसपटकको विश्वकपमा स्कटल्याण्डले पहिलो खेलमा हाइटीलाई १-० ले हराएर सानदार
सुरुवात गरेको थियो। तर, त्यसपछिका खेलहरूमा मोरक्को र ब्राजिलसँग पराजित भएपछि टोली समूह चरणबाटै बाहिरिन पुग्यो।
क्लार्कले स्कटल्याण्डलाई युरोपियन छनोटको समूह विजेता समेत बनाएका थिए। उनलाई 'स्कटिस फुटबल हल अफ फेम' मा समेत समावेश गरिएको छ।