विश्वकपको टोली घोषणा हुँदा ब्राजिलियन स्टार नेइमार रोएका थिए।
चोटका कारण लामो समय राष्ट्रिय टोलीबाट बाहिर बसेका उनी विश्वकप खेल्ने टोलीमा परेको घोषणा भएपछि प्रेमिकासँगै रोएका थिए।
तर टोली घोषणा भएर मैत्रीपूर्ण खेल सुरु हुनुअघि नै उनी फेरि घाइते भए। प्रशिक्षण क्रममा ३४ वर्षीय नेइमारको दायाँ खुट्टाको मांसपेशीमा चोट लाग्यो।
त्यसपछि उनले मैत्रीपूर्ण खेलमात्रै गुमाएनन्, लामो समयपछि विश्वकपमार्फत राष्ट्रिय टोलीमा पुनरागमन गर्ने सपना पनि पूरा भएन।।
विश्वकपको समूह चरणका सुरूवाती दुई खेल गुमाए। अन्तिम खेलमा स्कटल्याण्ड विरूद्ध ७६ औं मिनेटमा मैदान प्रवेश गरे तर खुलेर खेल्न सकेनन्।
यसले नक आउटमा नेइमार खेल्छन् कि खेल्दैनन् भन्ने चिन्ता उनका समर्थकहरूलाई छ। पूरै अवधि खेल्न सक्नेगरी फिट छन् कि छैनन् भन्ने चासो छ।
विश्वकप टोलीमा अटाएको प्रमाणित खुद नेइमारलाई पनि गर्नु छ।
चेल्सीका जोआओ पेड्रो र टोटनह्यामका रिचार्लिसन जस्ता उत्कृष्ट खेलाडीहरूलाई पन्छाइएर उनलाई टोलीमा राखिएको थियो। मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीको यो निर्णयलाई प्रमाणित गर्ने जिम्मेवारी नेइमारको काँधमा छ।
नक आउटमा नेइमारको उपस्थितिबारे एन्सेलोटीले जबाफ दिएका छन्। उनले नेइमार जापान विरूद्धको खेल खेल्छन् भन्नेमा कुनै शंका नरहेको बताएका छन्। त्यसका लागि शारीरिक रूपमा फिट भएको बताएका छन्।
तर उनी सुरूवाती ११ मा भने पर्ने छैनन्।
एन्सेलोटीले नेइमार पूरा अवधि ९० मिनेट नै खेल्न अझै तयार नभएको बताएका छन्।
'नेइमारले निकै राम्रो प्रगति गरेका छन्। मलाई लाग्छ, गत साताको तुलनामा उनी धेरै सुधारिएका छन्। उनी हामीसँग रहेको अवधिभर पूर्ण रूपमा प्रशिक्षण गर्न नपाउनु दुर्भाग्यपूर्ण रह्यो,' उनले पत्रकार सम्मेलनमा भनेका छन्।
यसपटक उनी १५ मिनेटभन्दा बढी खेल्न सक्ने पनि एन्सेलोटीले बताएका छन् ।
'उनी राम्रो अवस्थामा छन्। तर उनले कति समय खेल्ने भन्ने कुरा खेलको अवस्था र त्यसको विकास क्रममा निर्भर गर्छ,' उनले भनेका छन्।
नेइमार सन् २०२३ को अक्टोबरमा गम्भीर घुँडाको चोट बोकेपछि लामो समय मैदानबाहिर बिताएका थिए।
त्यसपछि पिँडुलाको चोटका कारण उनले यस विश्वकपमा मोरक्को र हाइटीविरुद्धका सुरुआती खेल पनि गुमाएका थिए।
स्कटल्यान्डविरुद्धको खेलमार्फत राष्ट्रिय टोलीमा पुनरागमन गरेका नेइमारलाई अब जापानविरुद्ध पनि खेलको परिस्थितिअनुसार दोस्रो हाफमा मैदानमा उतार्ने सम्भावना बलियो देखिएको छ।