विश्वकपमा फ्रान्सका प्रतिद्वन्द्वीहरू उसको गोल गर्ने क्षमताबाट मात्र होइन, बरु यो टोलीमा देखिएको अभूतपूर्व एकता र जोसबाट पनि डराउनुपर्ने देखिएको छ। मंगलबार स्वीडेनलाई अन्तिम ३२ को खेलमा ३-० ले पराजित गर्दा फ्रान्सेली टोलीको त्यो एकता मैदानमा प्रष्टै देखियो।
फरवार्ड किलिएन एमबाप्पेले पहिलो गोल गरेपछि उनी सिधै बेन्चमा रहेका प्रशिक्षक डिडिए डेस्च्याम्पसलाई अँगालो हाल्न दौडिए। डेस्च्याम्पस आफ्नी आमाको अन्त्येष्टि सकेर भर्खरै टोलीमा फर्किएका थिए। यो एक निकै भावुक क्षण थियो, जहाँ पूरै टोलीले सामूहिक अँगालो हालेर आफ्नो प्रशिक्षकलाई साथ दिए।
अमेरिकाको न्यु जर्सीको चर्को गर्मीका बीच फ्रान्सले सानदार खेल प्रदर्शन गर्दै फिलाडेल्फियामा हुने पराग्वेसँगको 'लास्ट-१६' भिडन्त पक्का गरेको छ।
यस खेलमा दुई गोल गरेसँगै एमबाप्पेले विश्वकपको नकआउट चरणमा मात्रै १० गोल पुर्याएर नयाँ कीर्तिमान बनाएका छन्। उनी यस विश्वकपको गोल्डेन बुटको दौडमा ६ गोलसहित लिओनल मेसीसँगै शीर्ष स्थानमा छन्। विश्वकप इतिहासमा उनको कुल गोल संख्या १८ पुगेको छ, जुन मेसीको कीर्तिमान (१९ गोल) भन्दा मात्र एक गोल कम हो।
त्यस्तै, युवा खेलाडी माइकल ओलिसेले यस प्रतियोगितामा ५ वटा गोलका लागि पास (असिस्ट) मिलाइदिएर सनसनी मच्चाएका छन्। फ्रान्सेली लेजेन्ड थियरी हेनरीले ओलिसेलाई ‘अर्को ग्रहको खेलाडी’ भन्दै प्रशंसा गरेका छन्।
इंग्ल्याण्डका पूर्व स्ट्राइकर इयान राइटले भने, ‘मैले अहिलेसम्म देखेका विश्वकप टोलीहरूमध्ये फ्रान्स सबैभन्दा बलियो दाबेदार हो।’ त्यस्तै ग्यारी नेभिलले फ्रान्सको अग्रपंक्ति (एमबाप्पे, डेम्बेले, ओलिसे र बारकोला) ले कुनै पनि डिफेन्डरका लागि डरलाग्दो सपना साबित हुने बताए।
सन् १९९८ को विश्वकप विजेता प्याट्रिक भिएराले त यो टोली १९९८ को च्याम्पियन टोली भन्दा पनि उत्कृष्ट हुन सक्ने संकेत गरे। स्वीडेनविरुद्ध फ्रान्सले कुल २५ पटक गोलको प्रयास गरेको थियो, जुन सन् १९९८ यताकै धेरै हो।
फ्रान्सको आगामी बाटो केही सहज देखिएको छ। यदि उसले पराग्वेलाई हरायो भने क्वार्टरफाइनलमा क्यानडा वा मोरक्कोको सामना गर्नेछ। फाइनलसम्मको यात्रामा फ्रान्सले ब्राजिल, अर्जेन्टिना वा इंग्ल्याण्ड जस्ता ठूला टोलीहरूसँग भिड्नुपर्ने छैन।
यद्यपी प्रशिक्षक डेस्च्याम्पस भने अझै संयमित छन्। उनले भने, ‘अहिले नै धेरै उत्साहित नहोऔँ, हामीले अझै धेरै सुधार गर्न बाँकी छ। अहिले हामीले अन्तिम १६ मा पुगेको कुरालाई मात्रै आत्मसाथ गरौँ।’