मेक्सिको सिटीमा मंगलबार विश्वकपको जितको खुसीयाली मनाउने क्रममा १९ वर्षीया युवतीसहित चार जनाको मृत्यु भएको छ।
मेक्सिकोले इक्वेडरलाई पराजित गरेपछि सडकमा उत्रिएको ठुलो भिडमा परेर ४८ वर्षीया महिला र ४४ वर्षीय पुरुषको पनि निसास्सिएर मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। यस्तै, अर्का एक ३० वर्षीय पुरुषको भने छारे रोगका कारण ज्यान गएको सहरका अधिकारीहरूले बताएका छन्।
मेक्सिकोले सन् १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको खुसीयालीमा १० लाखभन्दा बढी मानिसहरू सडकमा ओर्लिएका थिए। सहरको मुख्य केन्द्र 'एन्जेल अफ इन्डिपेन्डेन्स' स्मारक वरपर मानिसहरूको निकै बाक्लो उपस्थिति थियो।
सहरकी मेयर क्लारा ब्रुगाडाले मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै उनीहरूलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन्। घटनापछि सामाजिक सञ्जालमा लेख्दै उनले फुटबल समर्थकहरूलाई ‘सधैँ जिम्मेवार, सतर्क र सहानुभूतिपूर्वक खुसीयाली मनाउन’ आग्रह गरेकी छिन्।
स्वास्थ्य अधिकारीहरूका अनुसार भिडभाडका विभिन्न स्थानमा तीनजना बेहोस अवस्थामा फेला परेका थिए। उनीहरूलाई तत्काल प्राथमिक उपचार र सिपिआर दिएर अस्पताल पुर्याइएको भए पनि चिकित्सकहरूले मृत घोषित गरेका थिए। मृतकका परिवारले उनीहरूको पहिचान गरिसकेका छन्।
मेक्सिकोको यो जितपछि रंगशाला र सहरका विभिन्न भागमा लामो समयसम्म आतसबाजी र उत्सव मनाइएको थियो। अत्यधिक भिड हुने संकेत पाएर मेयर ब्रुगाडाले खेलअघि नै समर्थकहरूलाई स्मारक क्षेत्रमा नजान आग्रह गरेकी थिइन्। मेक्सिको सिटी संसारकै सबैभन्दा धेरै जनघनत्व भएको सहरमध्ये एक हो, जहाँ २ करोडभन्दा बढी मानिस बस्छन्।
यो जितसँगै मेक्सिको विश्वकपको 'राउन्ड अफ १६' मा प्रवेश गरेको छ। अब मेक्सिकोको सामना इंग्ल्याण्डसँग हुनेछ, जसले बुधबार डिआर कंगोलाई २-१ ले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको छ।