सेनेगलका मिडफिल्डर पापे गुएले वर्तमान प्रशिक्षक र व्यवस्थापन टोली परिवर्तन नभएसम्मका लागि राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका छन्। उनले केही समयका लागि राष्ट्रिय टोलीबाट 'ब्रेक' लिने बताएका हुन्।
यो निर्णय विश्वकपको 'राउन्ड अफ ३२' मा सेनेगलले बेल्जियमसँग अप्रत्याशित हार बेहोरेपछि आएको हो। प्रशिक्षक पापे थियावको नेतृत्वमा रहेको सेनेगलले खेलको अन्त्यतिर २-० को अग्रता जोगाउन नसक्दा हार बेहोर्नुपरेको थियो।
खेलमा हबिब डियारा र इस्माइला सारको गोलले सेनेगल बलियो अवस्थामा थियो, तर अन्तिम समयमा रोमेलु लुकाकु र युरी टिलेम्यान्सले गोल गरेपछि खेल अतिरिक्त समयमा पुग्यो। अन्ततः १२५औँ मिनेटमा पाएको विवादित पेनाल्टीमार्फत बेल्जियमले सेनेगललाई विश्वकपबाट बाहिर पठायो।
स्पेनिस क्लब भिल्लारियलबाट व्यावसायिक फुटबल खेल्ने २७ वर्षीय गुएले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विश्वकपबाट बाहिरिनु परेको बारेमा म पछि विस्तृत कुरा गर्नेछु... तर आज म यो घोषणा गर्दछु कि जबसम्म यो प्रशिक्षक टोली पदमा रहन्छ, म राष्ट्रिय टोलीबाट विश्राम लिनेछु।’
उनले सेनेगलका लागि ४५ खेल खेल्दै यसै विश्वकपको समूह चरणमा इराक विरुद्ध दुई गोल समेत गरेका थिए। बेल्जियम विरुद्धको खेलमा उनी ६६औँ मिनेटमा मैदानबाट बाहिरिएका थिए।
प्रशिक्षक पापे थियाव यसअघि पनि विवादको केन्द्रमा थिए। सन् २०२५ को 'अफ्रिका कप अफ नेसन्स' को फाइनलमा मोरक्को विरुद्ध पेनाल्टी दिइएपछि उनले आफ्ना खेलाडीहरूलाई मैदान बाहिर निकालेका थिए। सोही घटनाका कारण सेनेगलले जितेको उपाधि पछि फुटबल संघले खोसेर मोरक्कोलाई दिएको थियो।
टोली भित्रको आन्तरिक विवाद र प्रशिक्षकको कार्यशैलीप्रति असन्तुष्ट हुँदै गुएले यस्तो कडा कदम चालेका हुन्। अब सेनेगलको फुटबल प्रशासनले यस विषयमा के निर्णय लिन्छ भन्ने चासोको विषय बनेको छ।