स्पेनले १६ वर्षपछि पहिलो पटक पुरुष विश्वकपको नकआउट खेल जित्दै इतिहास रचेको छ। अमेरिकाको लस एन्जलसमा भएको अन्तिम ३२ को खेलमा अस्ट्रियालाई सहजै हराउँदै स्पेन प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो।
खेलको सुरुदेखि नै दबाब बनाएको स्पेनले ३६औं मिनेटमा मिकेल ओयार्जाबालको गोलमार्फत अग्रता लियो। मार्क कुकुरेलाले दिएको सटिक 'लो क्रस'लाई ओयार्जाबालले १२ यार्डको दूरीबाट गोलमा परिणत गरेका थिए।
स्पेनले ६६औं मिनेटमा आफ्नो अग्रता दोब्बर बनायो। धैर्यपूर्ण खेल प्रदर्शन गर्दै अघि बढेको स्पेनका लागि एलेक्स बाएनाको क्रसमा राइट-ब्याक पेड्रो पोरोले हेडमार्फत सानदार गोल गरे।
खेल सकिन एक मिनेट बाँकी रहँदा कुकुरेला र ओयार्जाबालको जोडी पुनः चम्किएपछि स्पेनले ३-० को सुनिश्चित जीत निकाल्यो। रियल मड्रिडका नयाँ लेफ्ट-ब्याक कुकुरेलाले दिएको उत्कृष्ट थ्रु-बललाई ओयार्जाबालले स्लाइड गर्दै जाली चुमाए। यो यस प्रतियोगितामा उनको चौथो गोल हो।
खेलको सुरुवाती आधा घण्टामा संघर्ष गरिरहेको स्पेनका लागि कुकुरेलाले एक गोल गरेका थिए, तर रेफ्रीले त्यसलाई मान्यता दिएनन्। स्पेनका पाउ कुबार्सीले अस्ट्रियाका गोलकिपर अलेक्जेन्डर स्लागरलाई फाउल गरेको भन्दै उक्त गोल रद्द गरिएको थियो।
गोलकिपर स्लागरले पहिलो हाफमै केही उत्कृष्ट बचाउ नगरेको भए स्पेनले अझै धेरै गोल गर्ने थियो। उनले ओयार्जाबालको प्रहारलाई बायाँतर्फ डाइभ हानेर रोकेका थिए भने बाएनाको फ्री-किकलाई क्रसबारको दिशा दिँदै लामिन यामलको शक्तिशाली प्रहारलाई पनि विफल तुल्याएका थिए।
सन् १९५४ पछि पहिलो पटक विश्वकपको नकआउट चरण खेलिरहेको अस्ट्रियाका लागि सब्सिच्युट खेलाडी सासा कालाज्डिचले टाउकोमार्फत गरेको प्रहार पोस्टको माथिबाट बाहिरिएको थियो। त्यसबाहेक अस्ट्रियाले स्पेनलाई खासै चुनौती दिन सकेन। यो जीतसँगै स्पेन मेक्सिकोपछि यस विश्वकपका सुरुवाती चार खेलमा कुनै पनि गोल नखान्ने दोस्रो टोली बनेको छ।
सन् २०१० मा विश्वकप जितेयता स्पेनले नकआउट चरणमा कुनै पनि खेल जित्न सकेको थिएन। २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ मा रुस र २०२२ मा मोरक्कोसँग अन्तिम १६ मा पराजित भएको थियो। तर यस पटक स्पेनले अस्ट्रियाको रक्षापंक्तिलाई धैर्यताका साथ तोड्दै आफ्नो पुराना खराब रेकर्डहरूलाई मेटाएको छ।
१८ वर्षीय लामिन यामलले यस प्रतियोगितामा धेरै गोल वा असिस्ट नगरे पनि आफ्नो खेल कौशलले सबैलाई प्रभावित पारे। खेलको अन्त्यतिर उनले गरेको एउटा गोलको प्रयासलाई अस्ट्रियाका डेभिड अलाबाले गोललाइनबाट बचाएका थिए।
अस्ट्रिया प्रतियोगिताबाट बाहिरिएको छ भने स्पेनले अब अन्तिम १६ मा पोर्चुगल वा क्रोएसियामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।