फिफा विश्वकप २०२६ मा मा स्पेनको हरेक खेलअघि समर्थकहरूको जर्सीमा एउटै नाम धेरै देखिन्छ– लामिन यामल। १८ वर्षीय यामल चर्चाको केन्द्रमा रहे पनि मैदानमा भने अर्कै खेलाडी चम्किरहेका छन्, उनी हुन्– मिकेल ओयार्जाबाल।
२९ वर्षीय ओयार्जाबालले अस्ट्रिया विरुद्धको अन्तिम ३२ को खेलमा दुई गोल गर्दै स्पेनलाई ३-० को जित दिलाए। यो जितसँगै स्पेन १६ वर्षपछि पहिलो पटक विश्वकपको नकआउट चरण पार गर्न सफल भएको छ।
फुटबल विश्लेषक गुइलेम बालागका अनुसार ओयार्जाबाल एक 'अदृश्य मान्छे' जस्तै हुन्, जसले धेरै चर्चा नबनाए पनि टोलीलाई आवश्यक परेका बेला सधैं गोल गर्छन्। उनी टोलीका सबैभन्दा बुद्धिमान् खेलाडीमध्ये एक मानिन्छन्।
सन् २०२२ को कतार विश्वकपमा ओयार्जाबाल घुँडाको गम्भीर चोटका कारण खेल्न पाएका थिएनन्। तर चार वर्षपछि उनी आफ्नो जीवनकै उत्कृष्ट लयमा छन्। पछिल्ला १६ खेलमा उनले १७ गोल गरिसकेका छन्, जसमा यसै विश्वकपका ४ गोल सामेल छन्।
लामिन यामलको उत्कृष्ट ड्रिब्लिङ र कौशलले विपक्षी डिफेन्डरहरूलाई आफूतिर आकर्षित गर्छ, जसका कारण ओयार्जाबालले गोल गर्ने खुला ठाउँ पाउँछन्। पूर्व जर्मन खेलाडी थोमस हिट्जलस्परगर भन्छन्, ‘जब यामलले सबैको ध्यान तान्छन्, ओयार्जाबालले त्यसको फाइदा उठाएर गोल गर्छन्।’
ओयार्जाबाल आधुनिक फुटबलमा विरलै पाइने 'वान क्लब म्यान' हुन्, अर्थात् उनले आफ्नो पूरै करियर एउटै क्लब 'रियल सोसिडाड' बाट खेलेका छन्।
उनले सानैमा हक्की खेल्ने गर्थे। हक्की खेल्दा नै आफूमा गोल गर्ने 'गन्ध' थाहा पाउने र अवसरको खोजी गर्ने बानी विकास भएको उनी बताउँछन्।
युरो २०२४ जितेको स्पेन अहिले ३४ खेलदेखि अपराजित छ। यस विश्वकपका सुरुवाती ४ खेलमा उनीहरूले अहिलेसम्म एउटै गोल खाएका छैनन्।
विश्लेषकहरूका अनुसार स्पेनले अझै आफ्नो पूर्ण क्षमता देखाउन बाँकी छ, जुन आगामी चरणका कठिन खेलहरूमा देखिनेछ।