युरोपेली फुटबलको सर्वोच्च निकाय युईएफएले आफ्ना प्रमुख प्रतियोगिताहरूमा विपक्षी खेलाडीसँग मुख छोपेर कुरा गर्ने वा झगडा गर्ने खेलाडीलाई रातो कार्ड नदेखाउने स्पष्ट पारेको छ।
विश्व फुटबलको नियामक निकाय फिफाले विश्वकप जस्ता प्रतियोगितामा यस्तो व्यवहार गर्ने खेलाडीलाई सिधै रातो कार्ड दिने नियम ल्याएको भए पनि युईएफएले भने च्याम्पियन्स लिग, युरोपा लिग र कन्फरेन्स लिगमा यो नियम लागू नगर्ने निर्णय गरेको हो।
गएको फेब्रुअरीमा बेन्फिकाका विंगर जियानलुका प्रेस्टियानीले रियल मड्रिडका भिनिसियस जुनियरसँग कुरा गर्दा जर्सीले मुख छोपेपछि यो विषयले ठूलो रूप लिएको थियो। अनुसन्धान पछि
प्रेस्टियानीले 'होमोफोबिक' (समलिंगी विरोधी) टिप्पणी गरेको पाइएपछि उनलाई ६ खेलको प्रतिबन्ध लगाइएको थियो।
यस्ता दुर्व्यवहार रोक्न फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मुख छोपेर कुरा गर्नेलाई रातो कार्ड दिने नियमको अवधारणा ल्याएका थिए, जसलाई अप्रिलमा नियम बनाउने निकाय 'इफाब' ले अनुमोदन गरेको थियो।
जारी विश्वकपमा यो नियम निकै चर्चामा छ। पाराग्वेका मिगुएल आल्मिरोन र इक्वेडरका पिएरो हिन्कापीले मुख छोपेकै कारण भिएआर रिभ्युमार्फत रातो कार्ड खाएर मैदान बाहिरिनु परेको थियो। यद्यपि, इङ्ल्यान्डका जुड बेलिङ्घमले घानाका जोर्डन आयुसँग मुख छोपेर कुरा गर्दा भने उनलाई रातो कार्ड दिइएन, जसले गर्दा यो नियममा केही अन्योल देखिएको थियो।
युईएफएका अनुसार रेफ्रीहरूले प्रत्येक घटनालाई छुट्टाछुट्टै रूपमा मूल्याङ्कन गर्नुपर्छ। यदि कुनै खेलाडीले खेल भावना विपरीत कुरा लुकाउन खोजेको देखिएमा उसलाई 'पहेँलो कार्ड' दिन सकिने युईएफएले बताएको छ। तर सिधै रातो कार्ड दिँदा खेलाडीलाई निर्दोष साबित हुने मौका नदिई दोषी मानिने जोखिम हुने भन्दै युईएफए यो नियमको विपक्षमा उभिएको हो।
यस्तै युईएफएले कर्नरको गलत निर्णय सच्याउन भिएआर प्रयोग गर्ने विकल्प भने स्वीकार गरेको छ। जारी विश्वकपमा अहिलेसम्म २२ पटक गलत कर्नरलाई 'गोल-किक' मा बदलिएको छ।
रेफ्रीको निर्णयमा विरोध जनाउँदै मैदान बाहिरिने खेलाडीलाई रातो कार्ड दिने फिफाको अर्को नयाँ नियम पनि युईएफएले तत्काल लागू नगर्ने भएको छ।