इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकप २०२६ को नकआउट चरणमा आफ्नो पहिलो ऐतिहासिक जित दर्ता गरेको छ। अन्तिम १६ मा पुगेसँगै इजिप्टले क्वाटरफाइनल प्रवेशका लागि अर्जेन्टिना वा केप भर्डसँग प्रतिस्पर्धा गर्नेछ।
इजिप्टका डिफेन्डर होसाम अब्देलमाजिदले निर्णायक पेनाल्टी प्रहार गरे। अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिंगटनले पेनाल्टी चुकाएपछि इजिप्टले सुटआउट ४-२ ले आफ्नो पक्षमा पार्यो।
डालास स्टेडियममा भएको खेलको १३ औं मिनेटमै इमाम आशुरले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। सन् १९३४ पछि पहिलो पटक नकआउट खेल खेलिरहेको इजिप्टका लागि उनले करिम हाफेजको क्रसमा उत्कृष्ट गोल गरे। यो आशुरको यस प्रतियोगिताको दोस्रो गोल हो। योसँगै इजिप्टले यस पटकको विश्वकपमा कुल ६ गोल गरिसकेको छ, जुन उसको अघिल्ला तीन सहभागिताहरू (१९३४, १९९० र २०१८) को कुल गोल भन्दा बढी हो।
खेलको सुरुवातमै अस्ट्रेलियाका क्रिस्टियन भोल्पाटोको २५ यार्ड टाढाको प्रहार क्रसबारमा ठोकिएको थियो। पहिलो गोल खाएपछि दबाबमा आएको अस्ट्रेलियाका लागि अजिज बेहिचले गोल गर्ने सुनौलो अवसर पाए पनि सदुपयोग गर्न सकेनन्।
दोस्रो हाफको सुरुमै इजिप्टका ओमार मार्मुसले गोल गर्ने स्पष्ट अवसर गुमाए। त्यसको १० मिनेटपछि इजिप्टका डिफेन्डर मोहम्मद हानीले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो। हानी एउटै विश्वकपमा दुईवटा आत्मघाती गोल गर्ने इतिहासकै दोस्रो खेलाडी बनेका छन्।
खेलको अन्तिम समयमा मोहम्मद सलाहको क्रसमा रामी राबियाले गरेको प्रहारलाई अस्ट्रेलियाका गोलकिपर प्याट्रिक बीचले उत्कृष्ट बचाउ गर्दै खेललाई अतिरिक्त समयमा पुर्याएका थिए।
अतिरिक्त समयमा पनि थप गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटमा पुग्यो, जहाँ इजिप्टले बाजी मार्यो।
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएको छ भने इजिप्टले आगामी मंगलबार (७ जुलाई) एटलान्टामा अर्जेन्टिना वा केप भर्डसँग खेल्नेछ।