अफ्रिकी राष्ट्र केप भर्डले यसपालिको विश्वकपमा तहल्का मच्चायो।
पहिलोपटक विश्वकपमा सहभागी भएको केप भर्ड शनिबार नक आउट चरणबाट बाहिरिए पनि उसले विश्व फुटबलमा गहिरो छाप छाडेको छ।
साविक विजेता अर्जेन्टिनालाई हम्मे हम्मे पारेर उसले शनिबार बिहान सबैभन्दा ठूलो तहल्का मच्चायो। १११ मिनेटमा आफ्नै खेलाडीले आत्मघाती गोल नगरेको भए नतिजा अझै सनसनीपूर्ण आउन सक्थ्यो, विश्व फुटबलमा नयाँ इतिहास लेखिन सक्थ्यो।
फिफा वरीयतामा ६४औं स्थानमा रहेको केप भर्डले विश्वको दोस्रो नम्बरको टोली अर्जेन्टिनालाई दुई पटक बराबरीमा रोकेर कडा चुनौती दियो।
खेलको २९औं मिनेटमा कप्तान लिओनल मेसीले जादुमयी प्रदर्शन गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए।
तर, विश्वकपको नकआउट चरण खेल्ने सबैभन्दा सानो राष्ट्र केप भर्डले सजिलै हार मानेन।दोस्रो हाफमा डेरोय दुआर्टेले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए, जसले केप भर्डका समर्थकहरूलाई खुसीको आँसुमा डुबायो।
९२औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई २-१ को अग्रता दिलाए।
तर १०३औं मिनेटमा सिड्नी लोप्स काब्रालले विश्वकप इतिहासकै उत्कृष्ट मध्येको एक गोल गर्दै खेल पुनः २-२ को बराबरीमा पुर्याए।
अन्ततः १११औं मिनेटमा भएको आत्मघाती गोल अर्जेन्टिनाका लागि भाग्यशाली साबित भयो। केप भर्डले अन्तिम समयसम्म तेस्रो पटक बराबरी गर्ने प्रयास गरे पनि सफल हुन सकेन।
कम्तिमा पेनाल्टीसम्म पुगेको थियो भने नतिजा अर्जन्टिनाको पक्षमा नआउन सक्ने अनुमान पनि फुटबल प्रेमीहरूले गरेका छन्।
केप भर्डप्रति समर्थकहरूको यति विश्वासका पछाडि समूह चरणमा उसले देखाएको प्रदर्शन कारण हो। उसले साउदी अरब मात्रै होइन, विश्व फुटबलमा प्रभावशाली मानिने युरोपेली च्याम्पियन स्पेन र दुई पटकको विश्वविजेता उरूग्वेसँग बराबरी खेल्यो। केप भर्डकै कारण दुई पटकको विश्वविजेता उरूग्वे समूह चरणबाटै बाहिरयो।
प्रतियोगिता सुरु हुनुअघि सबैको ध्यान लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो, एर्लिङ हालान्ड, एम्बाप्पे र ह्यारी केनजस्ता सुपरस्टारतर्फ थियो।
तर खेल हुँदै जाँदा सबैभन्दा धेरै चर्चा बटुल्ने टोलीमध्ये केप भर्ड पनि एक बन्यो र सो टोलीका गोलकिपर भोजिन्हा संसारभरि लोकप्रिय बने। केप भर्डको सफल यात्रामा सबैभन्दा ठूलो योगदान उनकै थियो।
४० वर्षीय भोजिन्हा हाल कुनै पनि क्लबमा आबद्ध छैनन्। पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेससँगको सम्झौता सकिएपछि उनी स्वतन्त्र खेलाडीका रूपमा विश्वकप खेलेका थिए।
स्पेनविरुद्ध उनले सात तथा अर्जेन्टिनाविरुद्ध आठ उत्कृष्ट बचाउ गर्दै प्रतियोगिताभर कुल १८ बचाउ गरे। यो आँकडा यस विश्वकपमा कुरासाओका एलोय रुम (२०) र पाराग्वेका ओरलान्डो गिल (१९) पछि तेस्रो उत्कृष्ट हो।
स्पेनसँगको खेलपछि आँसु झार्दै राष्ट्रिय झण्डा फहराएको उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
प्रतियोगिताबाट बाहिरिँदै गर्दा केप भर्डका प्रशिक्षक बुबिस्टाले आफ्नो टोलीप्रति गर्व व्यक्त गरे। ‘हामी सानो देश हुन सक्छौँ, तर संसारका उत्कृष्ट टोलीसँग प्रतिस्पर्धा गर्न सक्छौँ भन्ने प्रमाणित गरेका छौँ। हामीले आफ्नो देशका लागि इतिहास बनाएका छौँ। विश्व च्याम्पियनविरुद्ध दुई पटक बराबरीमा फर्किनु अविश्वसनीय उपलब्धि हो,’ खेलपछि पत्रकारहरूसँगको कुराकानीमा उनले भनेका छन्।
टोलीका डिफेन्डर रोबर्टो 'पिको' लोपेसले पनि यस विश्वकपले आफ्नो देशको पहिचान नै बदलिदिएको बताए।
‘यो विश्वकपपछि अब कसैले 'केप भर्ड नक्सामा कहाँ पर्छ?' भनेर सोध्दैन। हामीले विश्व फुटबलको नक्सामा आफ्नो स्थान बनाएका छौँ। हामी सानो राष्ट्र हौँ, तर हाम्रो हृदय ठूलो छ। विश्वास गरियो भने असम्भव पनि सम्भव हुन्छ भन्ने देखायौं,’ उनले बिबिसी स्पोर्टसँग भनेका छन्।
इङ्ल्यान्डका पूर्वडिफेन्डर ग्यारी नेभिलले पनि अर्जेन्टिनाविरूद्ध केप भर्डको प्रदर्शनलाई कुनै पनि सानो टोलीबाट देखेको उत्कृष्ट प्रदर्शनमध्येको एक भने।
उनले केप भर्डका खेलाडीहरूले पनि प्रसिद्ध लिगहरूमा स्थान पाउने विश्वास व्यक्त गरे।
पूर्वइङ्ल्यान्ड स्ट्राइकर इयान राइटले पनि साना राष्ट्रलाई अवसर दिनुपर्नेमा जोड दिए।
‘यही त विश्वकपको सुन्दरता हो। अवसर पाए साना देशहरूले पनि विश्व च्याम्पियनसँग बराबरीको प्रतिस्पर्धा गर्न सक्छन्। फिफाले यस्ता टोलीलाई अझ बढी सहयोग गर्नुपर्छ,’ उनले भने।
केप भर्डको प्रदर्शनबाट विश्वकपमा ४८ टोलीको सहभागिताबारे आलोचना गर्नेहरूको पनि मुख बन्द गरिदिएको छ।